×

विदेश पलायन हुने युवा जनशक्ति रोक्नका लागि (आईटी) क्षेत्र बजेटको सिद्धान्त र प्राथमिकतामा

images

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले विदेश पलायन हुने युवा जनशक्ति रोक्नका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई बजेटको सिद्धान्त र प्राथमिकतामा महत्त्वसाथ समेटेको बताएका छन्। उनले नेपालबाट आगामी पाँच वर्षमा मात्रै पाँच खर्बबराबरको सफ्टवेयर निर्यात गर्न सक्ने अवस्था रहेको उल्लेख गरे।

सिंहदरबारमा बिहीबार बसेको अर्थ समिति बैठकमा अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा मात्रै नेपालबाट ७६ अर्बबराबरको सफ्टवेयर निर्यात भएको र आगामी पाँच वर्षमा पाँच खर्ब रुपैयाँबराबरको सफ्टवेयर निर्यात गर्नसक्ने दाबी गरे।

“नेपालबाट गत आर्थिक वर्ष ७६ अर्ब बराबरको सफ्टवेयर निर्यात भएको छ। अहिले आईटी नयाँ क्षेत्रको रूपमा आएको छ। आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा आईटी क्षेत्रलाई समावेश गरिएको छ”, मन्त्री पुनले भने, “आगामी पाँच वर्षमा हामीले पाँच खर्बबराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्न सक्ने अवस्था छ।”

प्रत्येक वर्ष १० हजारभन्दा बढी नेपाली युवा आईटीमा काम गरिरहेको बताएका पुनले सरकारले युवालाई समेटेर लगानी गर्ने योजना गरेको सुनाए। युवा पलायन रोक्न देशभित्रै रोजगारी सिर्जना गर्ने र विनाअवरोध स्वतन्त्र रूपमा सफ्टवेयर निर्यात गर्न सक्ने भएकाले ०८१–०८२ को बजेटमा आईटी क्षेत्रलाई प्राथमिकतासाथ राखेको पुनको भनाइ छ।

त्यस्तै, अर्थमन्त्री पुनले आगामी महिनादेखि भन्सार चुहावटको आँकडामा सुधार ल्याउने दाबी गरे। अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा गृह र अर्थ मन्त्रालयबीच छलफल गरेर कार्ययोजना बनाएको उल्लेख गर्दै वैशाखदेखि नै भन्सार चुहावटको आँकडामा सुधार हुने बताए। पूर्वअर्थमन्त्रीले प्रतिनिधिसभामा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकता पर्याप्त छलफल गरेर परिमार्जित गरिने अर्थमन्त्री पुनको भनाइ थियो।
समितिबाट आएका सुझावलाई आत्मसात् गर्दै निर्दिष्ट निर्देशन कार्यान्वयनका लागि अर्थमन्त्री पुनले प्रतिबद्धता जनाए ।

बिहीबार ८ चैत २०८० ०५:१३ PM मा प्रकाशित

प्रतिक्रिया