×

घडिपला हेरेर चाडवाड मनाउने कुरा हाम्रो परम्परामा छैन

images

हाम्रो नेवारी समाजलाई एक सूत्रमा बाँधिएको भनेकै हामीले मनाउंदै आएको चाडबाड नै मुख्य प्रमाण हो । हाम्रा पितापूर्खाले नेवारी समाजको लागि चाडबाड र जात्रापर्वको प्रथा बसालेको भनेकै आफना भावि सन्ततिहरु एक जूट भइ समाज बलियो बनाएर दिग्दिगन्तर लान सकोस भनेरै बसालेको हो भन्ने आम विश्वास रहेको हो । यसलाई आदर्श मानेर हाम्रा पूर्वजहरुले यो अवस्था सम्म ल्याएर छोडेको छ । तर आज आएर यही चाडबाडलाई लिएर पनि हामी , हामी बीच पनि फाटो आइ बिभाजित हुनु परेको छ । किनभने दृष्टान्त नै छ केही दशक अघि देखि हरेक चाडबाडहरु तिमीहरुको आज हाम्रो त भोलि मात्र हो भन्ने हुंदै आएको छ । 

यसपाली देखा परेको विचलन
केही दशक अघिसम्म कुनै पनि चाडबाड मनाउंदा काठमाडौं उपत्यका भित्र मात्र होइन बाहिरका नेवारहरुले पनि एकै दिन मनाउने गर्दथे । हुंदाहुंदा अब आएर यसपाली  २०८० सालको गाइजात्रा नै काठमाडौं ललितपुर भक्तपुर तीन शहरमा तीन थरि ढंगले मनाइ दिएको देखेकै हो । यो भनेको नेवारी समाज भित्रै पनि बिभाजन ल्याइ दिएको यो ज्वलन्त उदाहरण हो । 

गाइजात्रा गएको केही दिन पछि गणेश चतुर्थी आयो । यो चाड पनि नेवार समुदायको एउटा महत्वपूर्ण चाड हो  । यो पनि कसैले आज कसैले भोलिपल्ट भन्दै दुई दिन फरकफरक  दिनमा  मनाएको देखियो  । अव केही दिनमा दशैं र तिहार जस्ता महान चाड आउंदै छ । यी महान चाड त हिमाल पहाड तराइ सबै ठाउमा मनाउने भए पनि यस भित्र पनि नेवारहरुको पूजा प्रचलन विशेष खालको छ भन्ने सबैलाई थाहा नै छ । यसमा पनि नेवारसमाज भित्र पनि हाम्रो हिजो तिमीहरुको आज मात्र भन्नु परेको अवस्था आउने भएको छ ।  यो संकेतलाई कुनै हालतमा राम्रो भन्न मिल्ने अवस्था होइन भन्न सकिन्छ । यो तौर तरिकालाई नियाल्दा अब त हरेक चाडबाडहरु दुई दुई दिन मनाउने प्रचलन बस्न जाने निश्चित जस्तो देखियो ।  यसले त विगतमा नेवारसमाजमा एकता कायेम रहेका थिए अब त्यो एकता कायम रहने संभावना क्षीण हुंदैहुंदै अब भयावह स्थितिमा पुगी सकेको छ । नेवारहरुको अस्तित्व आजसम्म जोगिएको भने कै यही नेवारी संस्कृतिको कारणले हो । अब आएर यसमै पनि बिकराल संकट आएको संकेत  देखिएको छ ।

वास्तवमा यो शुभ संकेत पटक्कै मान्न सकिन्न  ।  साथमा हाम्रा संस्कृति संस्कार सबै  उपहासमय बन्दै जाने यो भयावह संकेत हो । हाम्रा पूर्खाहरुको पालामा पनि तिथिमितिको गति आज जस्तो हो उसवेला पनि यही नै थियो । त्यसबेला यस्तो अन्यौल हुन परेन भने आज आएर यस्तो अन्यौल किन भएको बिचार गर्नु परेको छ । त्यसबेला पूर्खाहरुले सावनमान को बाटो देखाएर गएको कारण चाडवाडमा घडिपला समय हेर्नु परेन । आज आएर के बिडम्वना हो हरेक चाडवाडमा समय घडिपलाको सिद्धान्त तेस्र्याइ दिएको छ । यसको मतलव सावनमानको सिद्धान्तलाई मिल्काइ दिएको कारणले हो ।

सावनमानको सिद्धान्त
नेवार समुदायले मनाउने सवै चाडबाड सावनमानमा आधारित  छन् । सावनमानमा एक सूर्योदय देखि अर्को सूर्योदय सम्मको अवधिलाई एक दिन मानिन्छ । दिनमानको सिद्धान्तमा रातको १२ बजे उप्रान्तबाट अर्को रातको १२ बजे सम्म एक दिन मानिन्छ । यी दुइटा फरक फरक सिद्धान्त हुन् । दिनमान मान्ने ठाउमा सावनमानको उपस्थिति हुंदैन र सावनमान मान्ने ठाउमा दिनमानको उपस्थिति हुंदैन । यो कुरा राम्रो बुझ्न जरुरी छ । 
अर्को कुरा दिनमानको सिद्धान्त पनि सबै ठाउंमा आकर्षित हुंदैन र सावनमानको सिद्धान्त पनि सबै ठाउंमा आकर्षित हुंदैन  यिनीहरुका आआफनो क्षेत्र छन् । नेवारहरुले मनाउने सबै चाडबाड सावनमानमा आधारित भएको हुनाले कुनैमा पनि  दिनमान आकर्षित हुंदैन यो पनि स्पष्ट रुपले बुझ्न जरुरी छ । 

नेवारहरुको चाडबाड गथाँमुगको दिन देखि शुरु हुन्छ र सिठी नखः चाडलाई वर्षको अन्तिम  चाड मानिन्छ । गथाँमुगको दिनमा पनि बिहान सबेरै देखि यसको कृयाकलाप शुरु भएर बेलुका राती सम्म चल्छ । त्यस्तै सिठीनखः पनि बिहान देखि  शुरु भएर बेलुका भोज खाएर समाप्त हुन्छ ।  यसमा कति बजे देखि कति बजे सम्म रहन्छ भन्ने कुराको कुनै गुञ्जायसै रहँदैन । यी बीचका सबै चाडबाड बिहान शुरु भएर बेलुका भोज खाइ समापन गर्ने चलन छ । यो यथार्थलाई बिर्सेर नेवार समुदायका मानिसहरु पनि गलत बाटोमा भड्किएर बेलुकी गर्ने काम बिहान यति बजे सम्म मात्र तिथि छ त्यही भएर अघिल्लो दिन गर्नु पर्छ भनी बुजुर्ग बर्गहरुले समेत गलत पथ प्रदर्शन गर्दै आएको देखिएको छ । बास्तवमा समस्या यहीं बाट निम्तिएको हो भन्न सकिन्छ । यो भनेको सावनमानको प्रचलनमा दिनमानको प्रचलन घुसाइ दियो भन्ने प्रष्ट रुपले बुझ्न सकिन्छ । जस्तो हामीलाई गुलियो चीज पनि मीठो लाग्छ र अमिलो पीरो चीज पनि मीठो लाग्छ । तर दूधदहीमा पीरो हालिन्न गुलियो नै हालिन्छ र अचारमा अमिलो पीरो नै हालिन्छ दूध दही हालिन्न । यदि हालियो भने त्यो बेस्वाद बन्छ भने झै सावनमानको चलन दिनमानमा र दिनमानको चलन सावनमानमा घुसाउन ल्याउंदा पनि त्यस्तै बेस्वाद बनेको हो । त्यसकारण नेवार समुदायले चाडबाड मनाउंदा कतिबजे सम्म तिथि छ हेर्ने नै होइन । यो अनर्थ भइ रहेको छ । 
शास्त्र वचनमा पनि भनिएको छ

यां तिथि समनुप्राप्य उदयं याति भास्करः ।
सा तिथिःसकला ज्ञेया स्नान दानादि कर्मसु ।। 

यसको अर्थ
जुन तिथि लिएर  सूर्य उदय हुन्छ त्यही तिथि एक दिन को लागि हुन्छ त्यही दिन वा तिथिमा स्नान दानादि कर्म गर्न हुन्छ ।  यही शास्त्र वचनको आधारमा  सूर्य उदय हुंदा जुन तिथि लिएर उदय भएको हो अर्को सूर्य उदय नहुन्जेल त्यही तिथि मानेर स्नान दानादि कर्म गर्नु हुन्छ भन्ने ग्राह्य बनेको हो । यसलाई हाम्रा पूर्वजहरुले अक्षरशः पालन गरे त्यतिबेला कुनै किसिमको अन्योल भएन । 

किनकि उहिले पनि नेवारहरुले आफनो चाड मनाउंदा बिहान सवेरै देखि घर सुचि निची लिपपोत गरेर घर अगाडि क्षेत्रपाल र नजिकको गणेशस्थानमा पूजा गरी आजको चाड मनाउने अनुमति दिनु होस् भन्दै पूजा गर्ने गरियो । यसमा कुनै प्रकारको दोष बिघ्न बाधाहरु नआउन् र घरमा खुशी उमंग आओस् भनी माग्ने गरिन्छ । गणेश भगवानलाई पहिले पूजा नगरी गरेको कुनै पनि कार्य निरर्थक हुन्छ भन्ने कुरा स्कन्द पुराणमा बताइएको छ । यसरी बिहान सवेरै पूजा गर्दा गणेशसंग अनुमति लिइसकेको भाव अनुसार बेलुका दिनमान अनुसारको घडि नाघेर अर्को तिथि लाग्ने नलाग्ने कुनै दोष हुंदैन भन्ने विश्वास लिइ आएको छ । 

यदि बेलुकाको तिथि हेरेर बेलुकाको कर्म गरियो भने बिहान गणेश पूजा नगरि कन गरेको कर्मको केही अर्थ छैन । त्यही भएर बेलुकाको तिथि हेरेर बिहानै गणेश पूजा गरियो भने तिथि नै नलाग्दै पूजा गरेको पनि कुनै अर्थ हुंदैन । जुनसुकै तिथि  हरेक दिन बिहान सबेरै फेरिन्छ भन्ने ग्यारेण्टी कसले गर्न सक्छ ? कसैले सक्दैन । त्यसैले बिहान सूयोदयले जे तिथि लिएर उदय भएको हो अर्को सूर्योदय नहुन्जेल त्यही तिथि कायेम रहन्छ भन्ने कुरा शास्त्र वचनले दिएको र गणेश भगवान संग अनुमति लिइ सकेको हुंदा कतिबेला तिथि सर्छ त्यसको लिहाज राख्नु परेन । गुंपुन्हि को दिन क्वाटी  पकाएर खान्छ , क्वाटी  खान साइत हेर्नु पर्दैन । नेवारहरुको चाड गथाँमुग  देखि सिठिनखः सम्म कुनै पनि दिनमा घडिपला र साइत हेरिंदैन र हेरेको थियो भन्ने घटना सुनेको पनि छैन । यो भनेको चाडबाड सावनमानको  सिद्धान्त र शास्त्र वचन अनकूल भएको कारणले हो  । 

दुई दिन चाड मनाउने भएको समस्याका कारण
 गणेश चतुर्थी (चथा) चाडमा बिहान गणेश पूजा हुन्छ भने बेलुका चन्द्रमा पूजा हुन्छ । यो कुरा सबैलाई थाहा छ । यसपालीको पंचागमा  असोज २ गते मंगलवार १०ः४९ बजेसम्म मंगलचौथीव्रत भनेर लेखिएको छ । त्यसकारण राती चन्द्रमा पूजा गर्न १०ः४९ उप्रान्त मंगल चौथी  नहुने भनेर रातीको मंगल चौथी लिन असोज १ गते सोमवार नै चथा मनाइ दिए । चथामा चन्द्रमा पूजागर्न भने समय आकर्षित गर्ने मंगल चौथीको लागि गणेश पूजागर्न आकर्षित गर्न नपर्ने गर्दा विधि विपरीत भएको तिर भने ख्यालै गरिएन । ताकि असोज १ गते सोमवार विहान १०ः२३ अघि मंगल चौथी लागेकै छैन । 

 त्यस्तैगरि लक्ष्मीपूजा लाई राती सुखरात्री भनी पूजा गराइने हुनाले आउने कार्तिक २६ गते आाइतवार नरक चतुर्दशीको दिन परेको छ । औंशी त्यस दिन १४ः१४बजे उप्रान्त लाग्ने भनेर बेलुका लक्ष्मी पूजा गराउने भएको छ । गाइपूजा नगरी लक्ष्मीपूजागर्नु हुंदैन भन्नेहरुले त्यस दिन बिहान कुकुरपूजा गरी सकेपछि गाई पूजा गरियो भने औंशी नलाग्दै गाइपूजा गर्नका लागि नत शास्त्र को उपपत्ति छ न कुनै आधार छ । तैपनि   आधार बिना नै जसले जे मन लाग्यो त्यो गरिने वाला देखिने भएको छ । कुनै पनि चाड पर्व बिहानको सूर्योदयले तय गर्ने हो सूर्यास्तलाई हेरेर तय हुने होइन ।  यही कुराको हेक्का नभइ दिंदा हरेक चाडबाड दुई दिन मनाउने जसता विकृतिहरु पैदा हुन थालेको हो । यसको मूल कारण भनेकै चाडबाडमा सावनमान मात्र आकर्षित हुने हो भन्ने कुरालाई उपेक्षा गर्नाले हो ।    

 यसपालीको गाइजात्रा र  चथा(मंगलचौथी) 

पंचांग पात्रो पल्टाएर हेर्ने हो भने  २०८० साल भाद्र १४ गते ऋषितर्पणी,रक्षाबन्धन,जनैपूर्णिमा, गोयात्रा(सापारु) भनेर दिइएको छ  ।  यसमा घडिपला भनेर ७ः४९ सम्म पूर्णिमा त्यस उप्रान्त प्रतिपदा लाग्छ भनिएको हो । यो कुरा सावनमान सिद्धान्त अनुकूल होइन । सावनमान अनुसार ५ः४२ वजे सूर्य उदय लाई लिने हो  । यसको मतलव १५ गते ५ः४३ वजे सूर्य उदय नहुन्जेल पूर्णिमा र त्यस उप्रान्त प्रतिपदा लाग्ने हो । तसर्थ (गाइजात्रा) सापारु यही १५ गतेको दिन हुनु पर्ने ठीक हो । । किनकि हाम्रो पहिचान भनेको सावनमान भएकोले १५ गते हुनु पर्नेमा गाइजात्रा(सापारु) १४ गते नै गराइनु शास्त्रसम्मत थिएन  । यसमा एकथरि नेवारहरुले  १४ गते ठीक भनेर माने भने अर्कोथरि नेवारहरुले  १५ गते ठीक मानी माने । वास्तवमा यसमा कुन पक्ष ठीक भनी रहनु भन्दा हाम्रो पहिचान कुन चाहीं भनेर नबुझेर नै  यस्तो भएको हो । यदि हाम्रो पोशाक दौरा सुरुवाल भनेर बुझ्नेले दौरा सुरुवाल माथि टाइ लगाउने गर्दैन भने झैं हो । अतः हाम्रो पहिचान सावनमान भनेर थाहा हुनेले जानीजानी घडिपला समयको कुरा उठाउने गर्दैन । सावनमान थाहा हुनेले घडिपलाको कुरा ल्याउँदैन । अतः हामीले चाडपर्वमा सूर्योदयलाई मात्र लिए पुग्छ भनी बुझ्नु जरुरी छ  । 

अस्ति गएको मंगल चौथी (चथा नखः) पात्रोमा हेरियोभने असोज २ गते मंगलवार १०ः४९ सम्म मंगल चौथी त्यहाँ उप्रान्त ऋषिपंचमी व्रत भनेर दिइएको छ । यसमा हाम्रो पहिचान सावनमान हो भनेर बुझ्ने जतिले मंगल चौथी (चथा) २ गते मंगलवार भनेर मनाए भने हाम्रो पहिचान के हो नबुझ्नेहरुले १ गते सोमवार नै  मनाइ दिए । 
बेलुकाको मंगल चौथी(चथा)  १ गते सोमवार हो  । यदि यो ठीक हो भनी मान्ने हो भने सोमबारको बिहान  गणेश पूजा किन गरेको भन्ने प्रश्न उठ्छ  । यदि गणेश पूजा  नगरीकन बेलुका चन्द्रमा पूजा गरेको भए । कुनै पनि शुभ कार्य गणेश पूजा नगरिकन गरेको हो भने त्यसको केही औचित्य छैन भनी शास्त्र वचनले भन्छ । यदि बेलुका  चन्द्रमा पूजागर्न बिहान गणेश पूजा पनि गरेको हो भने सोमवार चौथी नलाग्दै गणेश पूजा गरेको पनि निरर्थक सिद्ध भयो भनेर बुझियो । यसरी चथा नै नलाग्दा नै चथा भन्ने हो भने चाडबाडको निश्चित दिन भन्नुको के अर्थ ? यो चाडबाडको उपहास हो । 
 

अव आउंदो स्वन्ति चाड(तिहार) को चिन्ता  

यस वर्ष २०८० को यमपंचक  कार्तिक २५,२६,२७,२८ र २९ गते गरी लहरै दिइएको कुरा पंचांग पात्रोमा दिइएको छ । तर २६ गते कुकुर तिहार नरक चतुर्दशी भनेर पनि दिइएको छ । त्यही दिन बेलुका लक्ष्मीपूजा पनि गराउन लगाउने देखियो । नेवारहरुको सनातन देखिको परम्परामा बिहान गाइपूजा बेलुका लक्ष्मीपूजा गर्ने चलन हो । कुकुर पूजा गरेर लक्ष्मीपूजा गर्ने चलन होइन  । पात्रोमा २६ गते बिहान कुकुरपूजा बेलुका लक्ष्मीपूजा अनि भोलिपल्ट २७ गते गाइपूजा भनेर दिइएको छ । यो भनेको अर्थनबर्थ गोविन्द गाई भने जस्तै हो । 

यमपंचकमा गाइपूजागर्नु , लक्ष्मीपूजागर्नु र अरुबेला गाईपूजा र लक्ष्मीपूजा गर्नुको अर्थ धेरै फरक छ । इच्छा हुनेले गाइलाई दिन दिनै पूजा गर्न सक्छ तर यमपंचक दिनदिनै हुंदैन । इच्छा गर्ने भक्तले दिनदिनै लक्ष्मीपूजा गर्न सक्छ तर यमपंचक दिन दिनै हुंदैन । त्यसैले यमपंचकमा गाइपूजा र लक्ष्मीपूजा गर्नुको विधान पद्धति पृथक छ । अरुबेला गरिने लक्ष्मीपूजा र  यमपंचकको बेला गरिने लक्ष्मीपूजा को तरिका एउटै होइन भन्ने प्राय सवैलाई थाहा छ । फेरि यमपंचकमा पूजा गरिने लक्ष्मी नै बेग्लै छ । यो लक्ष्मी यमराजले यमलोकमा आाफनो ढुकुटीमा पूजागरिने आराध्यदेवी लक्ष्मी हो । उनै लक्ष्मीलाई डाक्न यमराजको सल्लाह अनुसार गाईलाई दूत बनाएर पठाएको स्वरुप गाईलाई पूजा गरिएको हो । गाई मार्फत लक्ष्मीलाई निमन्त्रणा गरिएको स्वरुप गाईलाई पूजा गर्दा रक्षावन्धनको दिन बाँधिएको रक्षा धागो गाइको पुच्छरमा बाँधी दिने चलन भएको हो । गाइले बैतरणी नदी तारिदिने र लक्ष्मीसित सोझै सम्वन्ध राख्ने विश्वास भएकोले गाईलाई पनि लक्ष्मीको रुपमा मान्ने गरिएको हो । 

अरुबेला लक्ष्मीपूजा गर्दा पूजा कोठीमा साधारण सामाग्री राखी पूजा गरिन्छ भने यमपंचकमा पूजा गर्दा घरको बाहिर संघार( पिखालखु) देखि स्वागत सत्कार गरी ढुकुटीमा लगी लक्ष्मीलाई पूजा गरिन्छ । त्यो पुजामा मण्डप लेखी बिमिरा भोगटे आदि त्यही ऋतु समयमा मात्र पाइने फलफूल साक्षी राखी पूजा गरिन्छ । यसरी यमविधान अनुसार पूजागर्नु पर्ने कुरा मान्छेले जे मन लाग्यो जसो मनलाग्यो त्यसो गरिने कुरा बिल्कूल होइन । 
त्यतिमात्र पनि होइन अरुले लक्ष्मीपूजा गर्दा सुखरात्री भन्दै जुनसुकैदिन पूजा गरुन त्यसको अर्थ छैन  ।  विशेष गरी नेवार समाजले चाही नेपालसंवत् अनुसार वर्षको अन्तिम दिन पारेरै लक्ष्मी पूजा गरिन्छ । त्योदिन बेलुका वर्ष भरि खर्चगरेर बचत भएको धन लक्ष्मीलाई चढाएर पूजा गरिन्छ । त्यही भएर वर्षको अन्तिम दिनमै गर्नु परेको हो । यमपंचकको महिमा संग सुखरात्रीको महिमाको कुनै सम्वन्ध छैन ।      
 

निष्कर्ष
बिहानको सूर्योदय समय हाम्रो चाडवाडको मूल तत्व हो । अतः बिहानको सूर्योदयले जेतिथि बोकेर उदय भएको हो दिनभरि कोलागि त्यही तिथि कायम रहन्छ भन्ने कुरा शास्त्र वचनले पनि दिएको कुरो हो । हाम्रो संस्कृति संस्कारमा हाम्रो शास्त्र वचन लागू हुने हो आयातीत संस्कार हावी गराउने होइन । दूर्भाग्यवश अहिले चाडवाडको संस्कारमा घडिपला संमयको अवधारणा तेस्र्याइएको छ । त्यही भएर बाध्य भएर हरेक चाडवाड दुई दिन मनाउने गराइ दिएको छ ।

श्राद्धको परम्परामा समय घडिपला हेरिनु पर्छ किनकि पितृकार्य लाग्दो तिथिमा गरिन्छ भने चाडवाड छोड्दो तिथिमा गरिन्छ यो पनि  धेरैलाई थाहा छ । तापनि श्राद्ध भनेको चाड पर्व होइन । यसो हो भन्दैमा चाडवाडमा पनि श्राद्धमा जस्तै घडिपलाको अवधारणा ल्याएर तेस्र्याइ दिनु भनेको अनर्थ हुनु हो । गुंपन्ही,  सापारु, चथा येंया यी सारा चाडपर्व ,जात्राहरुमा घडिपलाको अवधारणा हावी गराइ प्रभावित पार्नु पारी सकेको छ । अव यमपंचकमा गरिने लक्ष्मीपूजा पनि नेपालसंवत्को वर्षको अन्तिम दिन औंशीमा पार्नु पर्ने नरक चतुर्दशी कै दिनमा  पारी दिने भएको छ । सुखरात्री हाम्रो संस्कार होइन र हाम्रो संस्कार दीपरात्री हो । अतः चाहे स्वन्हुतिथि भनुन् वा तिहार भनु्न् दीपावली गर्दा यमपंचक भरि दीपावली गर्दा पनि आपत्ति छैन र छठ पर्वसम्म नै दीपावली गर्दा पनि कुनै आपत्ति होइन । तर सुखरात्री भन्दै नरक चतुर्दशी कै दिनमा लक्ष्मीपूजा गर्नु वा गराउनु यी सबै संस्कृति संस्कारको बिरुद्ध र नाजायज नै हो । अतः यी  बिकृतिजन्य कुरा हाम्रो परम्परामा छैन ।  

श्यामसुन्दर राजवंशी (संस्कृतिविद्)

  

शुक्रबार​ २६ असोज २०८० ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया