×

निर्वाचनमा गरेका वाचा पूरा नगर्नेलाई जनताले सजाय दिन्छन् : महामन्त्री थापा

images

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगतका निर्वाचनको समयमा गरेका वाचालाई पूरा नगर्नेलाई जनताले भोट नदिएर सजाय दिने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेको ‘चुनावी सभा’लाई सम्बोधन गर्दै उहाँले जनप्रतिनिधिले अघिल्लो निर्वाचनमा गरेका वाचा पूरा ग¥यो कि गरेन भनेर जनताले हेर्ने बेला आएको बताउनुभयो ।

“अघिल्लो स्थानीय तहको निर्वाचनमा गरेका वाचा र प्रतिबद्धता पूरा भयो कि भएन त्यसलाई हेरेर यो निर्वाचनमा जनताले आफ्नो अधिकारको प्रयोग गर्नेछन्”, उहाँले भन्नुभयो । महामन्त्री थापाले विगतको स्थानीय तहको निर्वाचनमा जनताले काठमाडौँको प्रमुखमा एमालेका जनप्रतिनिधिलाई निर्वाचित गरे पनि समृद्ध महानगर निर्माण गर्ने कामलाई अगाडि बढाउन नसकेको गुनासो गर्नुभयो । उहाँले युवालाई सँगसँगै लिएर अगाडि बढे मात्र समृद्ध महानगर निर्माण हुने भन्दै कांग्रेसले काठमाडौँ महानगरको प्रमुख जितेमा युवालाई साथ र सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा विजय पौडेलले संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताउँदै गठबन्धनका उम्मेदवारलाई विजय गराउन सबैलाई आग्रह गर्नुभयो । उहाँले युवाको आशा र भरोसाको केन्द्र काठमाडौँ महानगरलाई बनाउनुपर्ने बताउनुभयो । उहाँले जनतालाई लोकतन्त्रप्रति विश्वास दिलाउन धेरै मेहनत गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले काठमाडौँ महानगरको विकास र समृद्धिका लागि सिर्जना सिंह सक्षम महिला भएको बताउनुभयो । उहाँले निर्दलीय उम्मेदवारलाई जनताको समस्या समाधान गर्न नसक्ने बताउनुभयो ।

कांग्रेसका नेता एवम् पूर्वमन्त्री भीमसेनदास प्रधानले राजनीतिक परिस्थितिको बाध्यात्मक उपज गठबन्धन भएको बताउँदै गठबन्धनको उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने बताउनुभयो । आगामी आउने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा समेत स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहने भएकाले स्थानीय निर्वाचनमा कांग्रेस र गठबन्धनलाई जिताउनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विगतको पाँच वर्षमा काठमाडौँ महानगरभित्रका सम्पदामाथि प्रहार हुन खोजेको भन्दै यसलाई जोगाउन आफूले ठूलो लडाइँ लडेको स्मरण गर्नुभयो । उहाँले हावादारी कुरा गरेर काठमाडौँ महानगर नबन्ने भन्दै महानगर बनाउनका लागि सक्षम व्यक्ति आवश्यक भएको बताउनुभयो । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेकपा सरकारले गुठी विधेयकमार्फत काठमाडौँको धर्म, संस्कृतिमाथि प्रहार गर्न खोजेको भन्दै यसको विरुद्धमा कांग्रेसले आवाज उठाएको स्मरण गर्न सबै मतदाताको ध्यानाकर्षण गर्नुभयो । कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्य, नेपाल महिला सङ्घ काठमाडौँ शाखाकी अध्यक्ष विष्णुदेवी पुडासैनी लगायतले कांग्रेसले महानगरको प्रमुखमा महिलालाई उम्मेदवारी बनाएर सम्पूर्ण महिलालाई सम्मान गरेको बताउनुभयो । 

मङ्गलबार २७ बैशाख २०७९ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया