×

धूमपानविरुद्ध सचेतना अभियान सञ्चालन

images

काठमाडौँ, २५ माघ : धूमपान र सुर्तीसेवनलाई निरुत्साहित गर्न ‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम ‘स्कुल हेल्थ प्रोग्राम’ सञ्चालन गर्ने भएको छ । सोही कार्यक्रमअन्तर्गत फाउन्डेसनले धूमपान र सुर्ती सेवनसम्बन्धी ‘विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको छ । पछिल्ला दिनमा नेपालमा धूमपान र सुर्तीसेवन विद्यालयस्तरबाटै सुरू गर्ने घटना बढेको छ ।

अध्ययनअनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धूमपान सुरू गरेको पाइन्छ । किशोरावस्थामै कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिनुपर्ने स्थिति रहेकाले विद्यार्थीलाई धूमपान र सुर्तीसेवन हानिकारक हो भन्ने कुराको बोध गराउनु अपरिहार्य रहेकाले यो अभियान सञ्चालन गरिएको बताइएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर ‘डा.ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले धूमपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुईहप्ते सचेतनामूलक अभियान ‘धूमपान गर्ने स्वार्थी हुँदैनन्’ सञ्चालन गरिएको बताउनुभयो । विद्यालय, शिक्षक र अभिभावकले आफ्ना बालबालिकालाई यस अभियानमा सहभागी हुन प्रोत्साहित गर्न फाउन्डेसनले आग्रह गरेको छ । पुरस्कार र प्रतियोगिता एउटा माध्यम मात्रै हो विद्यार्थीलाई एक अभियानमा सहभागी गराउँदा उनीहरुले धूमपान तथा सुर्ती सेवनको असरका बारेमा जानकारी पाउने छन् ।

एउटा अवसरको सन्दर्भमा गरिएका क्रियाकलाप अविस्मरणीय पनि हुने भएकाले प्रणय दिवस तथा सरस्वती पूजालाई रोजिएको डा. अनिलको भनाइ छ । अभियानअन्र्तगत धूमपान र सुर्ती सेवनबाट सेवनकर्ता, सेवनकर्ताको परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने गरी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरीजवाफ प्रतियोगिता’ आयोजना गरेको डा. अनिलले जानकारी दिनुभयो । १२ कक्षासम्मका विद्यार्थी सहभागी हुनसक्ने कविता प्रतियोगितामा पाँच छात्राछात्रलाई उत्कृष्ट रचनाकारका रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ । बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् । सहभागीमध्येबाट एक छात्रा र एक छात्रलाई उत्कृष्ट चित्रकारको रुपमा छनोट गरी जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी हुन सक्नेछन् । सहभागीमध्येबाट तीन समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार नगद, प्रमाणपत्र र पदक प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।

बिहीबार २५ माघ २०८० ०३:३६ PM मा प्रकाशित

प्रतिक्रिया