×

शिक्षण सिकाइको अभाव छ : महामन्त्री थापा

images

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको शिक्षा क्षेत्रमा सिकाइको अभाव भएको बताउनुभएको छ । थापाले आज बूढानीलकण्ठ नगरपालिका–८ स्थित भ्याली पब्लिक माध्यमिक विद्यालयको समझदारीपत्रमा हस्ताक्षर समारोहमा विद्यालयको भौतिक तथा अन्य किसिमको सुधार भएको तर शिक्षण सिकाइको अझै पनि कमी रहेको बताउनुभयो ।

महामन्त्री थापाले निजी तथा सरकारी दुवैखाले विद्यालयमा शैक्षिक पद्धतिको विकास गर्नुपर्ने धारणा व्यक्त गर्दै विद्यालयले ठूला भौतिक संरचना निर्माण गरेर मात्र नहुने र नयाँ पुस्तालाई फरक ढङ्गले अध्ययन गराउन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कक्षामा विद्यार्थी छन् तर राम्रो सिकाइ भएको छैन । कक्षाभित्र कसरी सिक्ने भन्ने कुरालाई ध्यान दिनुपर्छ ।” महामन्त्री थापाले भ्याली पब्लिक विद्यालयको सिकाइलाई अझ प्रभावकारी बनाउन विभिन्न संस्थासँग गरेको सहकार्यले विद्यार्थीको पढाइमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बूढानीलकण्ठ प्रमुख मीठाराम अधिकारीले देश परिवर्तन गर्न शिक्षाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीमा परिवर्तनको विचार आउन आवश्यक हुन्छ । सामुदायिक र संस्थागत विद्यालयबीचको द्वन्द्व रहेको छ । यसलाई समाधान गर्न आवश्यक छ ।” भ्याली पब्लिक विद्यालयले काठमाडौँ विश्वविद्यालय, इन्सपायर एजुकेशन फाउन्डेसन, आइएसओ र लाइब्रेरी डेभलपमेन्ट फोरमसँग शैक्षिक सुधार गर्न समझदारी गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले भ्याली पब्लिक विद्यालयले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । 

आइतबार​ १९ भदौ २०७९ ०८:५६ AM मा प्रकाशित

प्रतिक्रिया