×

प्रचण्डको विकल्प खोज्दै कांग्रेस : संस्थापन-इतरपक्षका नेताहरूद्वारा सभापति देउवामाथि दबाब 

images

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेस संस्थापन र इतरपक्षले प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’को विकल्पबारे कुरा उठाएका छन् । गत बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरूले प्रचण्डको विकल्पबारे कुरा उठाएका हुन् । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचार विरोधी अभियानलाई निष्कर्षमा पुर्याउन नसकेको, सरकारी कामकारबाही जनमुखी नभएको लगायतका थुप्रै असन्तुष्टि राख्दै पार्टी केन्द्रीय समितिको बैठकमै विकल्प खोज्नुपर्ने नेताहरूले बताएका छन् ।

बैठकको दोस्रो दिन संस्थापन र इतरपक्षबीच सरकारको विषयलाई लिएर जुहारी चलेको थियो । त्यसयता बसेको बैठकमा पनि सरकारको विरोधका स्वरहरू कम भएको सुनिएको छैनन् । प्रत्यक्ष प्रशारणमार्फत यस्तो दृष्य देख्न सकिन्छ । 

त्यतिमात्रै होइन, कांग्रेसबाट नियुक्ति भएका ९ जना मन्त्रीहरूको पनि विरोध भइरहेको देख्न सकिन्छ । बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतको व्यापक विरोध गरेको देखिन्छ । अर्थतन्त्रमा मन्दी छाएको भन्दै विरोध गरिएको छ । 

अर्थतन्त्रका सूचकहरू ओरालो लागेको भन्दै केन्द्रीय नेताहरूले आक्रोश पोखेका छन् । मुलुकको अर्थतन्त्र धरासायी हुनुमा कांग्रेस नेता तथा अर्थमन्त्री डा.महतले अर्थसम्बन्धी चलायमान नीति निर्माण नगर्नु बताएका छन् । 

कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गर्नुपर्ने बताएका छन् । उनले राप्रपासँग तालमेल नगरीकन अघि बढ्दा पटक–पटक अस्थिरता दोहोरिएको बताउँदै भने– ‘कोशी प्रदेशको सरकार गठन सन्दर्भमा राप्रपासँग तालमेल नगरीकन अघि बढ्दा पटक–पटक अस्थिरता दोहोरिएको छ । ‘कोशी प्रदेशमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक वार्ताअघि बढाएर नयाँ समीकरण निर्माण गर्नुपर्दछ ।’ उनी संस्थापन पक्षका नेता हुन् । 

त्यस्तै अर्का केन्द्रीय सदस्य तथा संस्थापनइतर पक्षका नेता प्राडा गोविन्दराज पोखरेलले सरकारको अर्थनीतिमा सुधार नहुँदा बैंक तथा वित्तीय रकम मौजाद रहेको बताए । 

उनले भने– ‘बैंकमा ५ खर्ब थन्किएको छ । सरकारको चलायमान नीति नबन्दा त्यो पैसा बाहिर आउन सकेन, देशका झन्डै ३५ प्रतिशत सटर बन्द भएका छन् । दसैंको मुखैमा बजारहरू सुनसान छन् । यसबारे सरकार गम्भीर बनेको देखिँदैन ।’

प्राडा पोखरेलले अर्थमन्त्री राष्ट्र बैंकलाई मौद्रिक नीति कडा ल्याएको भनेर गाली गर्नुहुन्छ । सरकारको नीतिका कारण अहिलेको स्थिति निम्तिएको बाहिर चर्चा छ । सरकारको संवेदनशील अंगमा बसेर यसरी अनुत्तरदायी भएर बोल्नु राम्रो नहुने बताए । 

पार्टी केन्द्रीय सदस्य भरत शाहले देशको स्थिति जटिल छ, खराब छ । आधाजस्तो उद्योग बन्द भएका छन् । धेरै मान्छे विदेश पलायन भइरहेका छन् । यस्तो संकटबाट कसरी बाहिर निस्कने ? –उनले प्रश्न गरे ।  

देशको आर्थिक संकट टार्न सरकार परिवर्तन अनिवार्य रहेको शाहको भनाइ छ । उनले सरकारमा अब पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नभए देश नै संकटमा पर्ने बताए । शाह संस्थापन पक्षका नेता हुन् ।

कांग्रेस महामन्त्री गगन थापाले देश संकटमा नभइ कांग्रेसको जिम्मा भएको बताएका छन् । केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै थापाले देश संकटमा नरहेको तर यसको जिम्मा आफूहरूले लिने बताए ।

‘हामीले जति असामन्य भने पनि, देशको स्थित संकटपूर्ण छ भने पनि त्यसो भए देश संकटमुक्त कहिले हुन्छ ? तीनै तहका सरकारमा हामी अनि देश संकटमा छ भन्ने ? देश संकटमा छैन, हाम्रो जिम्मामा छ,’ –उनले भने ।

थापाले संघीयता ठीक ढंगले चलिरहेको छैन, सुधार गरौँ भन्ने कुरा ठीक छ । तर, योचाहिँ अरू कसैले बोकाइदिएको भारी हो भनेर यस्तो भारी हामी बोक्न सक्दैनौँ भनेर उम्किने मिल्दैन, यो नैतिकताको कुरा हो ।

उनले सभापति देउवाको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । गुटबन्दी भयो भन्नेहरूले सभापतिलाई सबैको साझा बन्न सुझाव नदिएकोमा आपत्तिसमेत जनाएका थिए । थापा संस्थापन इतरपक्षका नेता हुन् । 

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरूले सरकारको विकल्प खोज्नुपर्ने धारणा राखेका छन् । उनीहरू सभापति देउवालाई बैठकमा, भेटरै प्रत्यक्ष वा परोक्ष रूपमा सरकारको विकल्प खोज्नुपर्ने दबाब दिँदै छन् । 

तथापि देउवाले हालसम्म सरकार परिवर्तनको कुनै सम्भावना नरहेको र विकल्प सोच्न समेत नसकिने नेताहरूलाई जवाफ दिँदै आएका छन् । उनले पूर्वसहमति बेगर रत्तिभर पछि नहट्ने चट्टानी अडान लिएको कांग्रेस नेताहरू बताउँछन् ।
 

मङ्गलबार ९ असोज २०८० ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया