×

क्राइम रिपोर्ट- एकैदिन १० जनाको मृत्यु, घटनामा संलग्न ६ जना पक्राउ

images

काठमाडौं । देशका विभिन्न स्थानमा एकैदिन १० जनाको मृत्यु भएको छ । घटनामा संलग्न पाँच जना अभियुक्तलाई प्रहरीले पक्राउ पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तीनथानास्थित सडकमा बा.५ ख २१९२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री नैकाप बस्ने गोरखा घर भएका ३२ वर्षीय अमन गुरुङको मृत्यु भएको छ । 

टिप्परको ठक्कबाट गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै पर्सा ठोरी गाउँपालिका–३ ब्रहमानगरस्थित सडकमा प्र.२.०३.००१ त ३९८१ नम्बरको ट्याक्टरको टेलरमा बीआर ०५ एक्यु ६६७६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक जिराभवानी गाउँपालिका–४ बस्ने २० वर्षीय जयकुमार रौनियारको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सल्यानको कपुरकोट गाउँपालिका–३ सेतापैरामा रा.१ च १०२५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेहरूमा चालक दाङ तुलसीपुर उपहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र जिपका साहु सोही ठाउँ बस्ने ५० वर्षीय गणेश बुढा रहेका छन् । 
साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य १ जनाको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित सडकमा ग.१ त ४६१४ नम्बरको ट्याक्टरमा चढी विजुलीको पोलहरू उठाउने क्रममा विद्युतको तारमा छुन गई करेन्ट लागेर एकडाँरा गाउँपालिका–४ बस्ने ३५ वर्षीय अजय साह सोनारको मृत्यु भएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका १ जनाको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ । 

प्रहरीले टयाक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौंको काठमाडौं महानगरपालिका–१९ दमाईटोल बस्ने ५६ वर्षीय राजेन्द्र महर्जन आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका छन् ।  

बाराको पचरौता नगरपालिका–१ पिपरपाती बस्ने ३५ वर्षीय अमरेशकुमार सिंह धारिलो हतियार प्रहार भई मृत्यु भएको अवस्थामा फेला परेका छन् । 

घटना सम्बन्धमा अनुसन्धान तथा सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गोरखाको शहीद लखन गाउँपालिका–७ देउराली बस्ने ३५ वर्षीया अनु श्रेष्ठ आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।  

दोलखाको बैतेश्चर गाउँपालिका–६ घिमिरेटार बस्ने ५८ वर्षीया लक्ष्मी भन्ने छत्रकुमारी घिमिरे सोही गाउँपालिका–२ ढुङ्गाखानी भीरमुनी मृत अवस्थामा फेला परेकी छिन् । 

गत भदौ २५ गेतदेखि हराएकी उनको उक्त स्थानमा शव फेला परेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ चयनधारा बस्ने कृष्ण बोहराको छोरा ३ वर्षीय सज्जन बोहराको सोही ठाउँस्थित रातोमाटो सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री प्युठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौंको काठमाडौं महानगरपालिका–२९ स्थित घट्टेकुलो चोक नजिक बस्ने चन्द्र केशरी बज्राचार्यको घरम कोही नभएको अवस्थामा नगद १ लाख ६० हजार रूपैयाँ, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामानहरू गरी करिब ६ लाख ६६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–३ गठ्ठाघरस्थित अरनीको बस्ती डेरा गरी बस्ने मोरङ घर भएका सबिन निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब १ लाख ७ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

त्यसैगरी भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ दधिकोट नयाँबस्ती बस्ने सानुमाया चित्रकारको कोठाबाट करिब ९ लाख ६५ हजार ७ सय रूपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–८ कमान बस्ने ३० वर्षीया उर्मिला खत्रीलाई अवैध लागूऔषध गाँजा करिब २ केजीसहित प्रहरीले पक्राउ गरेको छ । 

उनले लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजासहित पक्राउ गरेको हो । 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित जुम्ला तातोपानी गाउँपालिका–५ बस्ने २४ वर्षीय प्रविण चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

पर्साको जिराभवानी गाउँपालिका–१ गमहरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३२ केजीसहित ठोरी गाउँपालिका–४ विजयबस्ती बस्ने ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.६१ प ९७०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमा बाँधेर ल्याएको उक्त पदार्थसहित चालक श्रेष्ठलाई पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित प्रतिभा टोलबाट नियन्त्रित लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१४ डेरा गरी बस्ने स्याङजा घर भएका ३१ वर्षीय सन्तोष थापा मगर र सोही ठाउँ बस्ने पाल्पा माछागढी गाउँपालिका सेराई घर भएका ४० वर्षीय केशबहादुर कुमाल रहेका छन् । 

सन्तोषले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा वडाप्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध नुर्फिन १ हजार १ सय ३२ एम्पुल, फेनरागन १ हजार ३ सय ६१ एम्पुल, डाईजेपाम १ हजार २ सय २ एम्पुल, गाँजा ३ सय ग्राम, कोडिन फस्फेट ९० ट्याप्लेट, ६ लाख ३२ हजार २ सय १० नेपाली रूपैयाँ, २ हजार ४ सय ५० भारतीय रूपैयाँ, ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न कम्पनीको मोबाईल ७ थान, घडी ४ थान, क्यामेरा १ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।     

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

सोमबार ८ असोज २०८० ०६:४८ PM मा प्रकाशित

प्रतिक्रिया