×

बंगलादेश नेपालबाट ४० मेगावाट बिजुली जेठदेखि आयात गर्दै

images

काठमाडौं ।  बंगलादेशले आगामी जेठदेखि नेपालमा उत्पादित बिजुलीको ग्राहक बन्ने भएको छ । नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेगरी बंगलादेशले सूचना निकालेको हो । यस निम्ति ढाकाले काठमाडौंसँग प्रस्ताव माग गरेको छ । अब भारतपछि बंगलादेश नेपालको विद्युत किन्ने दोस्रो मुलुक हुनेछ । नेपाल विद्युत प्राधिकरणले २०७८ कात्तिकदेखि नै देशमा खपत हुन नसकेको बिजुली भारतको इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेडको ‘डे अहेड मार्केट’मा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्न थालेको थियो । भारतलाई ८०० मेगावाटसम्म विद्युत बेच्नेगरी नेपालले ढल्केबर सबस्टेशन र प्रसारण स्तरोन्नति गरिरहेको छ ।

बंगलादेशमा पनि बिजलुी बिक्री गर्न नेपाल, भारत र बंगलादेशबीच गत साउन अन्तिम साता त्रिदेशीय सहमति भएको थियो । भारतीय पक्षले आफ्नो भूमि हुँदै नेपालको बिजुली बंगलादेशसम्म पठाउन प्रसारण समस्या भएको बताएको थियो । तर ढाका र काठमाडौंका अधिकारीहरूले ४० मेगावाटसम्म भए पनि व्यापार शुरु गर्ने र त्यस निम्ति सहजीकरण गर्नुपर्ने दबाब दिएपछि दिल्लीका अधिकारीहरू सहमतिमा आएका थिए । नेपालको बिजुली बंगलादेशसम्म पुर्‍याउन भारतको प्रसारणलाइन प्रयोग गर्नुपर्छ । भारत सहमत भएपछि बंगलादेशले नेपालसँग विद्युत निर्यात बिक्री प्रस्ताव मागेको र बर्खा लागेपछि उत्पादन बढेसँगै जेठदेखि नै बिजुली पठाइने ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रदूषक इन्धन अत्यधिक उपभोग गरिरहेको नवऔद्योगिक मुलुक बंगलादेशमाथि नवीकरणीय ऊर्जा खपत बढाउन दबाब परिरहेको छ ।

बुधबार १७ माघ २०८० ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया