×

सेटिङमा भिजिट भिसामार्फत मानव तस्करी

images

काठमाडौं ।  भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको मानव तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रहरीले अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । विमानस्थलमा रहेका अध्यागन कर्मचारी, विमान कर्मचारी तथा विभिन्न कन्सल्टेन्सी सञ्चालकसँगको सेटिङमा भिजिट भिसामार्फत मानव तस्करी भएको पाइएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असोज १७ गतेदेखि विशेष अनुसन्धान अघि बढाएको थियो ।

गिरोहसँगको सेटिङमा भिजिट भिसाको अनुमति दिने अध्यागमनका अधिकृत नरवीर खड्का, नेपाल वायु सेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेलसहित पक्राउ परेका १० जना र फरार रहेका १२ गरी २२ जनाविरुद्ध लिखतसम्बन्धी र सङ्गठित अपराधको कसुरमा हदैसम्मको सजाय मागसहित अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक अङ्कुर जिसीले भिजिट भिसा प्रकरणमा सङ्गठित गिरोहको संलग्नता देखिएकाले सोहीअनुरूप हदैसम्मको कारबाही सिफारिससहित प्रतिवेदन बुझाइएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवेदनमा पक्राउ परेका २२ जना प्रतिवादीमध्ये १२ जना अझै फरार रहेको र तीमध्ये आठ जना विमानस्थलमा खटिएका सरकारी कर्मचारी तथा तीन जना बिचौलिया छन् ।

प्रहरीले अनुसन्धानका क्रममा पक्राउ परेका अध्यागमन अधिकृत खड्‍कासँगको बयानका क्रममा अन्य अधिकृतको समेत मिलेमतो रहेको खुलेको थियो । अनुसन्धान प्रतिवेदनमा विमानस्थलमा कार्यरत अधिकृतले भिजिट भिसामा विदेश पठाउनका लागि प्रतिव्यक्ति ४४ देखि ५५ हजार रुपियाँसम्म लिने गरेको खुलाइएको छ ।

सोमबार १५ माघ २०८० ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया