×

नेपालसंवत्को क्यालेण्डर माथि प्रयोजनको प्रश्न

images

क्यालेण्डरलाई भित्तेपात्रो भनिएतापनि यसको प्रयोजन भित्तामा झुण्ड्याउने प्रयोजन मै मात्र सीमित बिल्कूलै हुनुहुंदैन । यसलाई दैनिक प्रयोग गर्ने प्रयोजन सबभन्दा महत्वपूर्ण पक्ष हो । हामीले एकवर्षको भाका भनेर तोक्यौं भने आज २०८१ सालको वैशाख १३ गतेदेखि अर्को वर्ष २०८२ सालको वैशाख १२ सम्म भनेर दिइरहेका हुन्छौं र व्यवहार पनि यही हो । किनभने त्यस अवधि भित्र ३६५ दिन हुनै पर्छ र भइरहेको पनि हो । 

त्यस्तैगरी नेपालसंवत् ११४४ को विभिन्न संस्थाहरुबाट प्रकाशित क्यालेण्डरहरु अनेकौं देखिएका छन् तर ती सबै क्यालेण्डरहरु केवल भित्तामा झुण्ड्याउनको लागि प्रयोजन सिद्ध हुने बाहेक दैनिक व्यवहारोपयोगी भइरहेको देखिएको छैन । किनभने तिथिबाट तिथि एक वर्ष गर्दा त्यसमा ३५४ दिन सिवाय हुंदैन । त्यहीभएर नेपालसंवत्को क्यालेण्डर भनेर जतिपनि प्रकाशित भएगरे तर जहिले पनि ३५४ दिन कै बनाउँदै आएको देखिन्छ र ती क्यालेण्डरहरु पनि भित्तामा झुण्डिने प्रयोजन बाहेक दोस्रो प्रयोजनमा प्रयोग भइरहेको देखिएको छैन ।

फेरि अर्को बडो आश्चर्य यो पनि देखिएको छ कि नेपालसंवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४४ बाट प्रकाशित क्यालेण्डरमा यो वर्षभरिको दिनगन्ती ३६० देखाइएको छ भने न्हू प्रेष्टिज नेपाःबाट प्रकाशित क्यालेण्डर भनौं वा नेसंतिकोडि पात्रो भनौं अरु जतिपनि नेपालसंवत्को क्यालेण्डरहरु बजारमा छरिएका छन् ती सबैमा ३५४ दिन मात्रै देखाइएका छन् । शुरुशुरुमा न्हूदँ राष्ट्रिय समारोह समितिले पनि ३५४ दिन कै क्यालेण्डर प्रकाशित गर्दै आएको देखिएको हो तर यो वर्ष ३६० दिनको बनेको देख्दा अचम्मित हुन पुगेको छ । यसो देखियो भने तापनि ३५४ दिनको क्यालेण्डर ठीक ३६० दिनको बेठीक भन्न खोजेको पनि होइन र ३६० दिनको ठीक ३५४ को बेठिक भन्न खोजेको पनि बिल्कूलै होइन भ्रममा नपरौं । वास्तवमा यी दुईटै थरिको क्यालेण्डर केवल भित्तामा झुण्ड्याएर भित्ताको शोभा बढाउन बाहेक अर्को उपयोगी सिद्ध भएको देखिएकै छैन भन्दा अन्यथा नहोला । के नेपालसंवत् ११४४ भनेको दुइटै पक्षको लागि एउटै नेपालसंवत् होइन र ? यदि हो भने कसैको लागि ३५४ दिनको वर्ष हुने कसैको लागि ३६० दिनको हुने यो के भएको हो ? प्रश्न यहाँनिर तेर्सिन्छ । 

यो रोगको मुख्य कारण भनेकै संवत्को इतिहास बारे ज्ञान नहुनु नै हो । यस बारेमा राम्रो ज्ञान हासिल गर्न अध्ययन नै गरेको नहुनु नै मुख्य कारण देखिन आएको छ । यही विषयलाई बोध हुन सकोस् भनी यो लेख तयार गर्नु परेको हो ।नेपालसंवत्मा चान्द्र र सौरमास दुबै समावेश छन् तर यसको महसूस नगरेको हुनु ।

हाम्रो संस्कृति संस्कार इतिहास, दैनिक व्यवहार अन्तर्गत (धार्मिक,आर्थिक सामाजिक राजनैतिक, साँँस्कृतिक ) यावत् क्षेत्रमा  नजिक गएर नियाल्यौं भने त्यहाँ ३६५ दिनको वर्षलाई एक वर्ष मानी रहेको वा मान्दै आएकै देख्छौं । त्यहीं भित्र सौरमासलाई मात्रै छुट्याएर हेरियो भने ३६५ प्रष्ट देखिन्छ भने चान्द्रमासलाई मात्र छुट्याएर हेरियो भने ३५४ दिन पनि त्यहीं भित्रै पाउँछौं । मानिसहरुमा भ्रम यो विकसित भएर आएको देखिन्छ कि विक्रमसंवत् ३६५ दिनको हो भने नेपालसंवत् ३५४ दिनको हो । यही कुरा अध्ययन नपुगेको कारणको परिणाम हो ।नेपालसंवत्को बारेमा  दुष्प्रचार गर्दै आएका लेखक तथा इतिहासकारहरुको धारणा यस प्रकार छन् । जस्तै ः

......प्रशासनसम्बन्धी सरकारी काममा विक्रमसंवत्को प्रयोग राणा प्रधानमन्त्री चन्द्रशमशेरले गरेका थिए । सौरमान अनुसार विक्रमसंवत् चलाएमा सरकारी खर्च किफायत गर्ने दृष्टिकोण थियो । त्यसताका प्रचलित चान्द्रमास र तिथिअनुसार कर्मचारीहरुलाई तलव दिइन्थ्यो । यसरी मलमास परेको सालमा १३ महिनाको तलव दिनुपर्ने हुन्थ्यो । यसरी सरकारी काममा विक्रमसंवत्को प्रयोग खर्च कम गर्ने उद्देश्यले गरिएको थियो ।.......... 

यो भनाइ कसको हो ? नाम बताइ रहनु पर्दैन । पाठकहरु आफै खोजीनिती गरुन् ।

.......नेपाल संवत् भन्दा विक्रम संवत् ९३७ वर्ष जेठो छ । विक्रम संवत्को वर्षमा ३६५ दिन हुन्छन् तर नेपाल संवत् र शक सवत्को वर्षमा ३५४ दिन हुन्छन् । यी दुवै संवत् तिथिबाट मात्र चल्छन् तर विक्रम संवत्मा गते र तिथि दुवै चल्छन् । वि.सं १९६१ साल भन्दा अगाडिसम्म विक्रम संवत् शक संवत र नेपाल संवत् सवै तिथिबाट मात्र चल्थे। विक्रम संवत्को वर्षमा ३६५ दिन हुने र नेपाल संवत् र शक संवत्को वर्षमा ३५४ दिन मात्र हुनेहुंदा यी दुइटा संवत् चलनचल्तीमा अव्यावहारिक भएका हुन् ।........

यो भनाइ पनि कसको हो ? नाम बताइ रहनु पर्दैन । पाठकहरु आफै खोजीनिती गरुन् ।

साँच्चै भन्नु पर्दा यो भनाइ सूझबूझ नभएका लेखकहरुले गर्दै आएको नेपालसंवत्को दुष्प्रचार मात्र हो । तर, के गर्नु अधिकाँश मानिसहरु यी दुष्प्रचारलाई दुष्प्रचार हो भनेर नबुझीकनै त्यसैलाई पत्याई त्यसको पछि लाग्दै आए, यही त खेद जनक छ   । त्यही भएर नेपालसंवत् यस्ता बिडम्वनाको चङ्गूलमा ल्याएर फसाई दिएको छ भन्नु कुनै अनर्थ होइन । त्यसकारण अल्पज्ञानं भयावह भन्ने उखान नै छ ,त्यही चरितार्थ भइरहेको हो , अहिलेसम्म पनि । 
जसले यस्ता दुष्प्रचार गर्दै आए उनीहरुलाई थाहा छैन कि विक्रमसंवत्मा ३६५ दिन कहिले देखि दखापरेको र नेपालसंवत्मा ३५४ मात्र कहिले देखि देखापरेको हो ? ती दुष्प्रचारकहरु स्वयंलाई  थाहा छैन । यदि विक्रमसंवत्मा ३६५ दिन छ भने नेपालसंवत्मा पनि ३६५ दिन नै छ । यदि नेपालसंवत्मा ३५४ दिन मात्र छ भने विक्रमसंवत्मा पनि ३५४ दिन मात्रै हुने हुन्छ ।  दुष्प्रचारकले अध्ययन नै नगरीकन जथाभावी प्रचार गरेको कुरा खेदजनक र दूर्भाग्यपूर्ण भन्न सकिन्छ । 

नेपालसंवत् भनेको लिच्छविकालमा चलेको  संवत्को निरन्तरता हो यो बेग्लै संवत् होइनन् भन्ने कुरा प्रमाणित नै भइसकेको कुरा हो । लिच्छविकाल कै अभिलेखहरु नजिक बाट नियालेर हेरियो भने वैशाख जेठ असार बाह्रै महिनाको उल्लेख त्यही बेला उल्लेख छन् । त्योबेला विक्रमसंवत्को विउ  पनि नेपाल भित्र हुलेको थिएन । त्योबेला वैशाख जेठ असारको उल्लेख हुनु भनेको त्यहीबेला संक्रान्तीको उपस्थिति भएकोले हो , संक्रान्तीको उपस्थिति बिना ती महिनाको नाम उच्चारण सम्भव भएको होइन भन्ने यति सामान्य ज्ञान पनि ती इतिहासकार भनाउँदाहरुसित नहुनु भनेको बिडम्वना बाहेक अरु भन्न सकिन्न 

 ती इतिहासकार भनाउँदाहरुले संक्रान्तीको उल्लेख कहाँ छ खोइखोइ भन्दै बूझ पचाएर कुरा गरेको पनि देखिएको छ । उनीहरुले कुनै नाबालकले आफनो आमा बाबुको नाम भन्न सकेन भन्दैमा त्यस बालकको आमाबावु  छैन त्यो बिना आमाबुवा पनि जन्मेको भने जस्तैको कुरा मात्र हो । अल्पज्ञानं महा भयावह त्यत्तिकै पूर्वजहरुले भनेका होइनन् ।  
त्यसकारण लिच्छविकालदेखि नै संक्रान्तीको उपस्थिति नेपालमा भइरहेको हुनु , मध्यकाल मा आएर कतिपय अभिलेखहरुमा राशिको नामबाट संक्रान्तीको उल्लेख आइरहेको हुनु त्यतिबेला पनि तिथिको मात्र उल्लेख हुनु संक्रान्तिको उपस्थिति भएतापनि गतेको उल्लेख नेपालसंवत्मा उल्लेख देखिएन भन्ने मात्र हो संक्रान्ती उपस्थित हुनासाथ त्यहाँ गते छ भनेर स्वतः बुझिने कुरा हो । अतः नेपालसंवत्मा गते छैन भन्नु नाबालकले आमावावुको नाम भन्न नसकेकोले उ आमावावु बिना जन्मेको भनी अर्थलगाउनु जस्तै हुनेभयो भनी रहनु पर्दैन । नेपालसंवत्को प्रचलन भइरहेको बेलामा सूर्य ग्रहण चन्द्र ग्रहणको पनि उल्लेख आइरहेको अभिलेख प्रमाणहरु यथेष्ट मात्रामा छन् । त्यसको केही कुनै अध्ययन नै नगरी नेपालसंवत् ३५४ दिनको चान्द्रवर्ष हो भनी एकतमासले मान्दै आइरहेको हुनु अज्ञानताको पराकाष्ठा मात्र हो भन्न सकिन्छ । 

केही अभिलेखहरुको उदाहरणहरु यसरी नियाल्न सकिन्छ जस्तैः—        
(क) अधिमास उल्लेख भएका केही लिच्छविकालका अभिलेखहरु
१. विष्णुपादुका फेदीको मानदेवकोअभिलेख
संवत् ३९८ प्रथमाषाढ शुक्लदिव १२
२.भक्तपुर इनाय टोलको अंशुवर्मा पालाकोअभिलेख
संवत् ३१ द्वितीय पौष शुक्ल अष्टम्याम्
३.पाटन सुनधाराको अंशुुवर्माको पालाको अभिलेख
संवत् ३४ प्रथमपौष शुक्ल द्वितीययायाम्
४. गोकर्ण बालुवागाउँको अंशुवर्माको अभिलेख
संवत् ५३६ द्वितीय पौष शुक्ल पञ्चम्याम्

लिच्छविकालका  कतिपय अभिलेखहरुमा प्रथमाषाढ र द्वितीयाषाढ भनेर उल्लेख आईरहेको देखिनु त्यस्तै प्रथम पौष र द्वितीयपौष भनेर उल्लेख आइरहेको देखिनुले स्पष्ट यो बुझिन्छ कि लिच्छविकालमा अधिमासको प्रचलन स्पष्ट उपस्थित छ । अधिमास भनेको  के हो ? भन्ने त सर्बविदित नै छ कि दुईवटा संक्रान्तीको बीचमा एउटा चान्द्रमास परे पछि अधिमास देखापर्ने हो ।  यसलाई अर्को शव्दमा भन्नु पर्दा कुनै चान्द्रमासले संक्रान्तीलाई छोएन भने त्यो चान्द्रमासलाई अधिमास भनिन्छ ।

यसरी दुईवटा संक्रान्तीको बीचमा एक चान्द्रमास भन्नासाथ कुरा स्पष्ट छ किनकि हलेदो भन्नासाथ कोट्याई रहनुपर्दैन । इतिहासकार भनौं वा पात्रो क्यालेण्डर बनाउनेहरु नै भनौं यति सामान्य कुरा पनि नबुझेका व्यक्तिहरुले बनाएको क्यालेण्डरको कुनै सार्थक ठहरिएको होला त ? वास्तवमा सार्थक हुने त कल्पना पनि गर्न सकिन्न । 

(ख) अधिमास उल्लेख भएका केही मध्यकालका अभिलेखहरु
१. पाटन गचाननीको अभिलेख
ने.सं १३२ प्रथमाषाढ शुकल दिवा त्रयोदश्यां
२.नवग्रहदशाविचार नामक ग्रन्थ(वीरपुस्तकालय चतुर्थ लगतनं २७)
ने.सं ४७३ द्विराषाढ कृष्ण तृतीया
३.चान्द्र व्याकरण नामक पुस्तक( वीरपुस्तकालय पेतेक ६३ मा प्रकाशित)
ने.सं २७६ प्रथमपौष कृष्ण दिवा चतुथ्र्यां
४.भ.पु दत्तात्रय मन्दिर अगाडि विष्णुमूर्तिको पादपीठ अभिलेख
ने.सं ५८२ द्वितीयपौष मास पूर्णिमास्यां 

मध्यकालका  अभिलेखहरुमा प्रथमाषाढ र द्विराषाढ भनेर उल्लेख आएको त्यस्तै प्रथम पौष र द्वितीयपौष भनेर उल्लेख आइरहेको देखिनुले स्पष्ट यो बुझिन्छ कि मध्यकालमा पनि अधिमासको प्रचलन स्पष्ट उपस्थित छ । अधिमास भनेकै दुईवटा संक्रान्तीको बीचमा एउटा चान्द्रमास परे पछि  देखापर्ने हो अथवा कुनै चान्द्रमासले संक्रान्तीलाई छोएको भएन भने त्यो चान्द्रमासलाई अधिमास भनिन्छ । 
यहाँ दुईवटा संक्रान्तीको बीचमा एकवटा चान्द्रमास पर्दा त्यो चान्द्रमासमा संक्रान्ती छैन भने त्यो अधिमास कहलिन्छ भन्ने विषयलाई आकर्षित गर्न खोजिएको हो । 

अहिले पनि अधिमासको प्रचलनहरु देखीरहेकै हो । लिच्छविकाल र पूर्व मध्यकालमा आषाढ र पौषमा मात्र अधिमासमान्ने चलन थियो भने कालान्तरमा आएर जुन महिनामा अधिमास प¥यो त्यही महिनामा अधिमास मान्ने चलन विकास हुँदै आएको हो  । जसरी अहिले अधिमास पर्न चान्द्रवर्षको चान्द्रमास र सौरवर्षको दुई संक्रान्ती युक्त सौरमास बिना संभव छैन उहिले पनि त्यही पद्धति बमोजिम हुने हुन्थ्यो । यति सामान्य ज्ञान पनि नभएको व्यक्तिहरुले क्यालेण्डर बनाउँदै आएको कारणले गर्दा नेपालसंवत् चान्द्रमासको वर्ष हो यसमा ३५४ दिनमात्र हुन्छ भन्दै आएका हुन् । यसले नेपालमा इतिहासकार र पञ्चाङ्गकारहरु स्वयं कति नालायक रहेछन् भन्ने कुरा स्वतः सिद्ध  भइरहेका छन् ।     

 (ग)संक्रान्ती उल्लेख भएका केही अभिलेखहरु
१. कीर्तिपुर बाघभैरवको अभिलेख
सम्वत् ७८२ पोषमासे कृष्णपक्षे चतुथ्र्यायां तिथौं.........थ्वकुन्हु महासंक्रान्ति महापव्र्वदिने (मध्यकालका अभिलेख,पृष्ठ ५६७ )
२. चोभारको अभिलेख
नेस.सं ७८२ चैत्र शुक्ल दशमी बुधबार.........संक्रान्ति पिछे सेवा(मध्यकालका अभिलेख पृष्ठ १२५)
३.चापागाउँ वज्रवाराही देवलको अभिलेख
सम्वत् ८१९ पौषमासे शुकल पक्ष अष्टम्यान्तिथौ..........मकरसंक्रको पव्र्वणि दातृ(मध्यकालका अभिलेखपृष्ठ ३१७)
४. कीर्तिपुर खासीवजार शिव मन्दिरको अभिलेख 
सम्वत् ७८१ कार्तिकमासे कृष्णपक्षे षष्ठम्या.......पूर्णमाशी संक्रान्ति स्वरपोर यात( मध्यकालका अभिलेख पृष्ठ ५०३,५०४)

मध्यकालमा नेपालसंवत्को व्यवहार भइरहेको बेलामा संक्रान्तीको उल्लेख धेरै ठाउँमा आइरहेको देखिनु भनेको त्यतिबेला बाह्रैवटा संक्रान्ती थियो बाह्रैवटा मसान्त थियो भन्ने प्रष्टै बुझिन्छ । यति सामान्य कुरा नबुझेका इतिहासकार र पञ्चाङ्गकारलाई योग्य भन्न मिल्दैन । त्यस्ता अयोग्य इतिहासकारहरुले नेपालसंवत्मा ३५४ दिन मात्र हुन्छ भन्दै आइरहनु र त्यसैलाई पत्याएर ३५४ दिनको पात्रो बनाएर मख्ख पर्दै आउनेहरुलाई के संज्ञा दिने हो रु स्वयं जानून् । यस्तो अनर्गल कुरा गरेर भ्रम फैलाइ नेपालसंवत्को दुष्प्रचार गर्दै आइरहेको कुरा अविलम्व रोकिनु पर्छ ।  
(घ) विक्रमसंवत् पनि नेपालसंवत् जस्तै गते बिना तिथिमामात्रै व्यवहार भएका केही अभिलेखहरु

१। ललितपुर सुनधाराको अभिलेख

....श्रीकलिगतवर्ष ४५०५ श्रीविक्रमराजवर्ष १४६१ श्रीशकराजवर्ष १३२६श्रीमन्तः नेपालिकः। श्रेयोऽस्तु।। संवत् ५२४ चैत्रकृष्ण अष्टम्यायां ..(पूर्वमध्यकालका अभिलेख पृष्ठ२०७). 

२. भक्तपुर मालती चोकको अभिलेख
नेपालसंवत् ८१८ कलिगत ४७९९ श्रीविक्रम १७९९ श्रीशक१६२० फाल्गुणमासे शुक्लपक्षे नवम्यांतिथौ...( अभिलेखसंग्रह चौथो भाग, पृष्ठ १०)
३. भक्तपुर डोलेश्वरको अभिलेख
कलिगताव्दः ४८०८ शकाव्द १६२९,विक्रमाब्द १७६४ नेपालसवत् ८२८ माघवदि ९।।.( अभिलेखसंग्रह चौथो भाग, पृष्ठ १३) 
४. भक्तपुर बोडेको अभिलेख
संम्वत ८८९ माग्र्गशिल शुदि ४ ।। श्रीसाके १६९१ विक्रमाब्द १८२६ कलि ४८७०।। ( अभिलेखसंग्रह एघारौं भाग, पृष्ठ १७)

गते भनेको विक्रमसंवत्को, तिथि भनेको नेपालसंवत् र शकसंवत्को भन्दै आउने इतिहास कार र पञ्चाङ्गकार वास्तवमा उनीहरु केवल जोकर जस्तै मात्र हुन् । जोकरहरुको भूमिका के ? त भन्दा उनीहरु बेलाबेलामा हँसाउनको लागि प्रकट हुने हो । यहाँ पनि इतिहास र पञ्चाङ्ग भनेको के हो नै बुझेका छैन उनैले विक्रमसंवत्मा गते छ नेपालसंवत्मा तिथिमात्र छ त्यही भएर नेपालसंवत् अव्यावहारिक भएको भनी उपबुज्रुक कुरागर्दै आएका छन् यो हँस्यौली कुरा सिवाय अरु होइन । नेपालसंवत् विक्रमसंवत् कलिगत संवत् र शकसंवत् दिइएका अभिलेखहरुमा  तिथि मात्र दिइएका छन् यदि गते विक्रमसंवत्को भएदेखी  त्यहाँ गते दिइएको एउटा उदाहरण अभिलेखमा देखाउन सकिएका छैनन् । नेपालसंवत्को क्यालेण्डर बनाउँदै आएकाहरु पनि नेपालसंवत्को अधिकार तिथिमा मात्र छ गतेमा छैन ठान्दै आएका छन् । यो नै सबभन्दा दूर्भाग्यपूर्ण हो । 

(ङ) चन्द्र तथा सूर्य ग्रहणको उल्लेख भएका नेपालसंवत्का अभिलेखहरु
१. पाटन दरवारभण्डारखालको अभिलेख
सम्वत् ७८० आश्विणी शुक्ल पूर्णमाासी ....सोमबार थ्व कुन्हु चन्द्रग्रास चूडामनी  पर्वदिनस(मध्यकालका अभिलेख पृष्ठ ११५)

२.फर्पिङस्थित भगिरथ भैयाको अभिलेख
सम्वत् ८०३ माघशुक्लपूर्णमास्यान्तिथौ....बृहस्पतिवासरे.......चन्द्रग्रास महापव्र्वणि(मध्यकालकाअभिलेखपृष्ठ २३६)
३. पाटन  कुम्भेश्वर आलुको गणेश पाटीको अभिलेख
सम्वत् ८१३ आश्विन शुकल द्वादशी........शनैश्चरवासरे.....श्रीसूय्र्यग्रास पव्र्वदिनस(मध्यकालका अभिलेख पृष्ठ २८४)
४. पाटन यकछें दगुवहालको अभिलेख
सम्वत् ८८५ फाल्गुण शुक्ल पूर्णमासि श्री चन्द्रग्रास पर्व दिने( मध्यकालका अभिलेख पृष्ठ ४६५)

चन्द्रग्रहण कसरी लाग्छ र सूर्यग्रहण कसरी लाग्छ त्यसको सामान्य ज्ञान पनि नभएकाहरुले इतिहास लेख्ने र पञ्चाङ्ग पात्रो क्यालेण्डर बनाउने भएपछि बिडम्वना निम्तिने बाहेक अरु के होला ? चन्द्र ग्रहण भनेको पूर्णिमाकोदिनमा सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आएर बस्यो भने पृथ्वीको छायाँ चन्द्रमामा पर्ने हो र औंसीको दिनमा सूर्य र पृथ्वीको बीचमा चन्द्रमाले आएर छेक्न आयो भने सूर्य ग्रहण हुने हो । यो त थाहा हुनु पर्ने हो । तब सूर्य र चन्द्रमाकोगति गणना नगरी ग्रहणको हिसाव नै बन्दैन भनेर थाहा हुनु पर्ने हो । यो कुरा थाहा नहुनेहरुले मात्र नेपालसंवत् चान्द्रमासको हो भनेर जिकिर गर्छ अरुले गर्दैन । जब चान्द्रमासको मात्रै हिसाव हुने भई दिएको भए नेपालसंवत् मात्र व्यवहार भइरहेको बेलामा ग्रहणको कुरा कसरी आयो ? त्यत्ति सामान्य ज्ञान पनि नबुझ्नु भनेको दूर्भाग्य सिवाय अरु के? हुन सक्ला ।

माथि उल्लेख गरेका केही अभिलेखहरुका उदाहरणहरु भनेको  दुईचारवटा मात्रै सीमित चाहिँ होइनन् । यस्ता उदाहरणहरु खोतल्दै जाने हो भने अनगिन्तीमात्रामा भेटिन्छन् । त्यसरी अनगिन्ती छन् भन्दैमा सबै उल्लेख गरिरहनुपर्ने जरुरी पनि होइन प्रमाण भनेको एउटा पनि प्रयाप्त काफी मानिन्छन् ।

निष्कर्ष
नेपालसंवत्लाई सरसर्र्ति सिंहावलोकन गरेर हेर्ने होभने सदियौं वर्ष देखि एउटाअमूक समूहको थिचोमिचोमा पर्दै आएकोमा अहिले अलिकति खुकुलो महसूस हुनथालेको मात्र देखिन्छ । पहिले त नेपालसंवत्को कुरै गर्न हुँदैनथ्यो प्रशासनले धरपकड पनि उत्तिकै गर्ने, नेपालसंवत्लाई राष्ट्रियमान्यता चाहियो भन्ने कुरा के उठेको थियो ? दुस्साहस ग¥यो भन्दै नेपालसंवत्लाई राष्ट्रिय मान्यता दिन अनौचित्य भन्दै प्रतिकारमा उत्रने स्वनाम धन्य इतिहासकारले त्यतिवेला सक्दो खेदो नै खने । वास्तवमा अहिले को कति पानीमा छ भन्ने छर्लड्ड हुन थालेकै छ । किनभने जस्लाई त ३९० दिनको वर्ष संसांर मै कतै छैन भन्ने थाहा छैन । उनीहरुले अनेकौं टिकदम बाजी खेलेर ३९० दिन भएको वर्ष गर्दै देखावा हिसाव गरेर दुनियाँ झुक्याउँदै आए । उनीहरुलाई नै हो,  वास्तवमा नेपालसंवत् सबभन्दा अप्रीय विषय लाग्दै आएको  ।

 नेपालसंवत्को सत्यतथ्य कुरा वास्तवमा यो है भनेर राख्यौं भने उनीहरुलाई निक्कै पोल्न थाल्छ र उनीहरु कै पूच्छर भएर लाग्नेहरु समेत आगो उकेल्न खोज्दै आएको पनि देखेकै हो । ती मध्ये केहीले नेपालसंवत् भनेको नेवारसंवत नै हो है भन्दै उचाल्न खोजेको पनि देखिएकै हो । नेपालसंवत् नेवारको मात्र संवत् होइन सकल नेपालीको साझा संवत् हो भनेर प्रमाणका साथ लेखेको लेखलाई नाक खुम्च्याई चियापान समारोहमा नेवारहरु मात्रै छन् अरु छैनन् त भन्दै खिस्सी उडाउन पनि छोडेको देखिएको छैन ।
साँच्चै यसो पछाडि फर्केर हेर्ने हो भने ती अमूक समूह अहिले पनि छद्मभेषमा त्यत्तिकै सक्रीय भएर अगाडिबाट राम्रो भनेर फुर्काउने तर पछाडिबाट नेपालसंवत्लाई अझैपनि  विवादास्पद  बनाइराख्ने त्यही ध्याउन्नामा लाग्दै आएका छन् । त्यही भएर ३५४ दिनको क्यालेण्डर बनाउने बाहेक अर्को सोच अगाडि आउन दिइरहेकै पनि छैन । यसबाटै प्रष्ट हुन्छ अझै पनि कति वर्षसम्म ३५४ दिनकै क्यालेण्डर मात्र निकाल्न दिन्छन् र अर्को निकाल्न थाल्योकि बखेडा नै खडा नगर्ला भन्न सकिन्न । मान्छे मर्दा तिथिबाट तिथि गर्दा एकवर्षमा ३५४ दिन मात्र हुने भएकोले अर्को दुइहप्ता पछि थप श्राद्ध गरे पछि ३६५ पूरा गर्ने चलन छ त्योपनि ख्याल गर्नु पर्दछ । जेहोस् एक वर्ष पूराको हिसाव ३६५ दिन नै हो अरु होइन भनी नबुझेकाहरु ३५४ को धारमा बहकिरहेको छ । हेर्दै जाऔं कहिले सम्म नेपालसंवत्को क्यालेण्डर भित्तामा झुण्डिन मात्र उपयोगी भइरहने हो । थाहा छैन ।   










 

शुक्रबार​ १४ बैशाख २०८१ ०३:२१ PM मा प्रकाशित

प्रतिक्रिया