×

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

images

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । ‘भाउ’को टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको छ । टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको छ । तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई टिजरमा देखाउन खोजिएको छ । पोष्टरमा प्रयोग गरिएको र टिजरमा एउटा सिनमा शहरमा भएको ठुलो अपार्टमेन्ट अगाडिको दृश्यले हुँदाखाने र हुनेखाने बिचको खाडललाई भाउले देखाउन खोजेको स्पष्ट हुन्छ ।

काठमाडौं र भक्तपुरमा छायांकन भएको लघुचलचित्रमा कवाडीवालाको भुमिका कलाकार सुवास गजुरेलले निर्वाह गरेका छन् । अन्य कलाकारहरुमा सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभिनय गरेका छन् । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् । अंग्रेजी सब्टाईटल सहित मैथिली र नेपाली भाषा प्रयोग भएको फिल्ममा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गरेका छन् । प्रोडक्सन म्यानेजमेन्ट नरेन भट्टराईले गरेका हुन् । सम्पादन गणेश बिसी र कलरिङ राकेश दाहालले गरेका छन् ।

चलचित्रसम्बन्धी विभिन्न विधामा पढाई सञ्चालन भईरहेको कान्तिपुर फिल्म एकेडेमीले नै कान्तिपुर सिनेमाज प्लेटफर्म सञ्चालन गरेको हो । नेपाल र विश्वभर छरिएर रहेका चलचित्रप्रेमी दर्शकहरुको लागि र राम्रा चलचित्रहरु निर्माण गर्नेहरुका लागि कान्तिपुर सिनेमाज राम्रो प्लेटफर्म भएको कान्तिपुरका फाउण्डर तथा सिईओ प्रकाश पुरी बताउँछन् 

सोमबार २४ बैशाख २०८१ ०६:३८ PM मा प्रकाशित

प्रतिक्रिया