×

देउवाको कार्यशैलीप्रति इतर समूहको आक्रोश- ‘संस्थापनसँग भेटवार्ता र संवाद अन्त्यको चेतावनी’ 

images

काठमाडौं । नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशन २०७८ मंसिरमा भएको थियो । उक्त महाधिवेशनमा सभापतिका प्रत्यासी शेबहादुर देउवा, डा.शेखर कोइरालालगायत अन्य पार्टीका शीर्ष नेताहरू पनि थिए । 

महाधिवेशनमा सभापति चयनका लागि भएको निर्वाचनमा अन्ततः सभापतिका प्रत्यासी प्रकाशमान श्रेष्ठ, कृष्णप्रसाद सिटौलाले देउवालाई समर्थन गरे र उनै सभापतिमा निर्वाचित भए । तर, अर्का बलिया प्रत्यासी शेखर कोइरालाले भने पराजय भोग्नुपर्यो । 

पराजयको सिकार भएका शेखर आजभोलि पार्टी सुदृढीकरण र संगठन विस्तारमा लाग्नुको साटो गुटमा सक्रिय देखिन्छन् । पार्टी महामन्त्री गगनकुमार थापालाई साथमा लिएर सभापति देउवाको कमजोर कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन् । 

देउवा र शेखर महाधिवेशनमा जित–हारको तुस साँधेर अगाडि बढेको देखिन्छ । महाधिवेशन पश्चात् कांग्रेस इतरसमूह तयार पारेरै शेखर–गगनले आफू मातहतका नेताहरूको छुट्टै भेला तथा बैठकको आयोजना गर्दै आएका छन् । 

भर्खरै तीनदिन अगाडि संस्थापन इतर समूहले छुट्टै बैठकको आयोजना गर्यो । उक्त बैठकमा देउवाको कार्यशैलीप्रति शेखर–गगन समूहका नेताहरू आक्रोशित भए । त्यसको भोलिपल्ट शेखरले सभापति देउवा निवास धुम्बाराही पुगेरै भेट गरे । 

देउवा भेट्न पुगेका उनको साथमा उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि थिए । भेटका क्रममा शेखरले १४औँ महाधिवेशन पश्चात् देउवाको कार्यशैलीमा कुनै परिवर्तन नआएको भन्दै आक्रोश पोखेका थिए । 

झन्डै आधा घण्टाको भेटमा शेखरले पार्टीको आन्तरिक तथा सांगठानिक संरचना, देशको आर्थिक र कूटनीतिक अवस्था गतिशिल हुन नसकेको कुरा राखेका थिए । देशका हरेक सूचकहरू गतिहीन अवस्थमा पुगेको, जनताले सरकार हुनुको कुनै आभाष नै नगरेको जस्ता विषय देउवालाई स्मरण गराएको भेटमा सहभागी एक नेताले ईसञ्चारपाटीलाई बताए ।

देशको अवस्था नाजुक बनिरहँदा जनताबाट ९० सिट पाएको कांग्रेस रमिते बन्नै नहुने शेखरको भनाइ उद्धृत गर्दै ती नेताले भने । त्यतिमात्रै नभएर, शेखरले कांग्रेस भ्रातृ संघ, संगठन लथालिंग भएको, संगठनको नेतृत्व चयनमा पार्टीको विधान र मापदण्ड पालना नगरेको प्रसंगसमेत उप्काएका थिए । यसअघि पनि उनले पार्टीमा यो प्रसंग उठाउँदै आएका थिए । 

पार्टीको विधान र मापदण्डविपरीत भ्रातृ संगठनहरू थलाथिलिङ हुन पुगेका छन् । स्वयं पार्टी नै विधानविपरीत अगाडि बढिरहेको छ । यदि यहीँ गतिमा पार्टीलाई अगाडि बढाएर लिने हो भने सभापतिसँग मिलेर जान नसकिने चेतावनी दिएको इतर समूहका नेताहरू बताउँछन् । 

सभापतिसँगको भेटमा उनले कोशी सरकारको अस्थिरताबारे पनि प्रश्न गरेका थिए । कोशी प्रदेशमा सत्ता फेरबदलको खेल उपयुक्त नभएको भन्दै यसमा कांग्रेस मौन बस्नु जायज नहुने तर्क गरेका थिए । कोशीकै कारण कांग्रेसमाथि गम्भीर प्रश्न उठेको समेत बताएको स्रोत बताउँछ । 

त्यस्तै शेखरले संघीय संसद्‍को संसदीय समितिको नेतृत्व चयन हुनुपूर्व पार्टीमा कुनै पनि छलफल नै नभएको उनले गुनासो गरे । यस्तो सार्वजनिक पदमा सांसदहरूको नियुक्तिबारे पार्टीमा छलफल भएको भए राम्रो हुने बताएका थिए । 

एमालेसँग सत्ता गठबन्धन तोडेर कांग्रेससँग माओवादी केन्द्रले सत्ता साझेदार गरेयता देउवाले आफ्नो पक्षका अधिकांश सांसदलाई बिजनेस दिन नमानेको बताए । सरकारमा मन्त्रीहरू सिफारिस गर्दा दुवै पक्षबीच छलफल हुनुपर्ने बताए । 

तर, देउवाले पार्टीलाई एकलौटी ढंगले चलाउन खोजेको भन्दै आपत्ति जनाए । यसका साथै, कांग्रेसबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गएका मन्त्रीहरूबारे देउवाले छलफल र समीक्षा गर्नै नमानेको आरोप लगाए । 

हाम्रो पार्टीबाट मन्त्री बनेकाहरूको कामकारबाहीबारे हामी गम्भीर बनेका छैनौँ । उनीहरूको कामको समीक्षा गर्नु जरुरी छ । भएका गल्ती कमजोरीलाई सुधार गर्न हामीले सल्लाह सुझाव पनि दिन सक्नुपर्छ । तर, पार्टीबाट यस्तो नभएको भन्दै देउवासँग शेखर निकै आक्रोशित बने । 

भेटमा शेखरले अब देउवा नसच्चिए सँगै सहकार्य गरेर अगाडि बढ्न नसकिने बताएका छन् । यदि सभापतिको कदम यस्तै हो भने अलग–अलग बाटोमा अघि बढ्नु उचित हुने चेतावनी समेत दिएका छन् । 

शेखरले यसरी पार्टीमा अघि बढ्न नसकिने भन्दै या त तपाईं यस्ता कुरा सच्याएर अघि बढ्नुस् । नभए तपाईं आफ्नो ढंगले अघि बढ्नुस् । म आफ्नो तरिकाले अघि बढ्छु । अबदेखि तपाईंसँग कुनै किसिमको संवाद र भेटघाटका लागि म आउँदिन । म आफ्नो ढंगले अघि बढ्छु ।

शेखरलाई देउवाले सान्त्वना दिएका छन् । उनले भेटका क्रममा पार्टीलाई मिलाएर लैजानुपर्छ । ‘यसरी आक्रोशमा आउनु उपयुक्त हुँदैन । उप्रान्त हाम्रा समस्याको समाधान हामीले नै मिलेर गर्ने हो । त्यसका लागि तपाईं हामी एकजुट हुनुको विकल्प छैन,’ –देउवाले भने । 
 

बिहीबार ४ असोज २०८० ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया