×

अब कानुन बनाएर रेशमलाई फाँसी दिए हुन्छ- नागरिक उन्मुक्ति पार्टी

images

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको छ । सो पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको छ । पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो ।

‘अब सरकारसँग हाम्रा माग मात्रै २ वटा माग छन्। पहिलो, सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ। सरकारले लाल आयोग प्रतिवेदन सार्वजनिक गरिनु पर्छ’, उनले भने, ‘दोस्रो, यदि रेशमलाल चौधरी लगायत राजबन्दी हत्यारा हुन् भने फाँसी दिने ऐन बनाएर रेशमलाई फाँसी दिए हुन्छ। यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन। हामी आन्दोलन गर्न विवश हुन्छौँ।’ 

‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं । जेठ ३ ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ’, वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्तिमार्फत भनेका छन् ।

२०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । पार्टीले सर्वोच्च अदालतको निर्णयको विरोधमा आन्दोलन गर्ने घोषणा गरे पनि जेलमा रहेका चौधरीले भने एक विज्ञप्ति जारी गरी अदालतको निर्णय स्वीकार गरेका छन् ।  

बुधबार ३ जेठ २०८० ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया