×

राष्ट्रियहितलाई सर्बोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउँछः अध्यक्ष ओली

images

काठमाडौँ, २८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई सर्बोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो । 

नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँग आज भएको छलफलमा अध्यक्ष ओलीले निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको  चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिनुभयो । 

त्यसअवसरमा उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजजीकरण गरिदिन अध्यक्ष ओलीलाई आग्रह गरेको पनि उहाँले बताउनुभयो । अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै त्यसलाई उकास्नेगरी सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजीकरणका लागि आग्रह गरिएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । 

अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्म गिरावट आएकाले शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्नेबारे छलफल गरिएको उहाँले बताउनुभयो । वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान एवम् निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अग्रवालको भनाइ छ । “विगतमा लिएका सङ्कुचित नीतिका कारण अर्थतन्त्र शिथिल अवस्थामा पुगेको छ, व्यापार असहजीकरण, शेयर बजारको सङ्कुचन, घरजग्गा कारोबारमा सुस्ततालगायत कारणले आर्थिक गतिविधी खुम्चिएको छ, सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउन आवश्यक छ । यसै विषयमा एमाले अध्यक्षसँग कुरा भएको हो”, अध्यक्ष अग्रवालले भन्नुभयो ।  

अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि पनि अविलम्व पहल गर्न अध्यक्ष ओलीसमक्ष आग्रह गरिएको बताउनुभयो । “सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरु पीडित भएका छन्, सहकारी क्षेत्रको समस्या अविलम्व समाधान हुनुपर्दछ”, उहाँले भन्नुभयो ।


अध्यक्ष अग्रवाल नेतृत्वको टोलीमा निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलगायत पदाधिकारीको सहभागीता रहेको थियो ।

शुक्रबार​ २८ बैशाख २०८१ ०९:४१ PM मा प्रकाशित

प्रतिक्रिया