×

नक्कली भुटानी शरणार्थी प्रकरण- आजदेखि अभियुक्त पक्षको बहस सुरु हुँदै

images

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु हुने भएको छ ।इजलासले निर्धारण गरेको समयअनुसार सरकारी वकिलले तीन दिनको बहस सकाएका छन् भने अभियुक्त पक्षका वकिलका लागि ६ दिनको समय दिइएको छ ।

अभियुक्त पक्षको बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एशोसियसनका बहालवाला अध्यक्ष तथा पूर्वअध्यक्षहरूले बहसका लागि नाम टिपाएका छन् । जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिइनेछ ।

गत आइतबारदेखि जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्ति भएकाले उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क राखेका छन् ।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन भने १२ जना अझै फरार छन् ।

बुधबार २४ जेठ २०८० ०८:५२ AM मा प्रकाशित

प्रतिक्रिया