×

क्विटोस्थित दूतावासमा प्रहरी आक्रमणपछि मेक्सिकोले इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्यो

images


क्विटो (इक्वेडर)- भ्रष्टाचारको आरोपमा दोषी ठहर भएपछि राजनीतिक शरण मागेका इक्वेडरका पूर्वउपराष्ट्रपतिलाई गिरफ्तार गर्न प्रहरी मेक्सिकाली दूतावासमा प्रवेश गरेपछि मेक्सिकोका राष्ट्रपतिले तुरुन्तै इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने कदम चाल्नुभएको छ । 

    डिसेम्बरदेखि मेक्सिकाली दूतावासमा बस्दै आउनुभएका जर्ज ग्लासलाई गिरफ्तार गर्नका लागि इक्वेडरको प्रहरी राजधानी क्विटोस्थित दूतावासमा प्रवेश गरेपछि राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्रेडोरले शुक्रबार साँझ इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गर्नुभयो । 

    घुसखोरी र भ्रष्टाचारको आरोपमा दोषी ठहराइएका ग्लास सम्भवतः इक्वेडरमा सर्वाधिक वाञ्छित व्यक्ति हुनुहुन्छ र इक्वेडरका अधिकारीहरूले अहिले पनि उहाँविरुद्ध थप आरोपहरूको अनुसन्धान गरिरहेका छन् । इक्वेडरको राजधानीमा मेक्सिकाली कूटनीतिक मुख्यालयबाहिर ढोका फोरेर ग्लासलाई लिन प्रहरी मुख्य आँगनमा प्रवेश गरेको थियो । 

    “यो सम्भव छैन, यस्तो हुन सक्तैन, यो पागलपन हो”, क्विटोमा मेक्सिकाली कन्सुलर खण्डका प्रमुख रोबर्टो क्यान्सेकोले दूतावास बाहिर उभिएर स्थानीय प्रेसलाई भन्नुभयो, “उनीहरूले ग्लासलाई मार्न सक्छन् भनेर म अत्यन्त चिन्तित छु, यस्तो गर्ने कुनै आधार छैन, यो सम्पूर्णरूपमा मानकभन्दा बाहिर छ ।”

    आफ्नो फैसलाको बचाउ गर्दै इक्वेडरका राष्ट्रपतिले एक विज्ञप्तिमा भन्नुभयो, “इक्वेडर एक सार्वभौम राष्ट्र हो र हामी कुनै पनि अपराधीलाई स्वतन्त्र रहन अनुमति दिने छैनौँ ।”

    मेक्सिकाली राष्ट्रपति लोपेज ओब्रेडोरले ग्लासको हिरासतलाई ‘तानाशाही कार्य’ र ‘अन्तर्राष्ट्रिय कानून र मेक्सिकोको सार्वभौमिकताको घोर उल्लङ्घन’ भन्दै जवाफ फर्काउनुभयो । 

    मेक्सिकोको विदेश सम्बन्ध सचिव एलिसिया बार्सेनाले सामाजिक सञ्जाल एक्समा प्रहरी दूतावास प्रवेश गर्ने क्रममा धेरै कूटनीतिज्ञलाई चोट लागेको भन्दै यसले कूटनीतिक सम्बन्धमा भियना महासन्धिको उल्लङ्घन गरेको बताउनुभयो । 

    भियना महासन्धिअन्तर्गत कूटनीतिक परिसरहरू ‘अभेद्य’ मानिन्छन् र स्थानीय कानून प्रवर्तन एजेन्सीलाई राजदूतको अनुमतिबिना कूटनीतिक परिसरमा प्रवेश गर्ने अनुमति छैन । विकिलिक्सका संस्थापक जुलियन असान्जे सात वर्षसम्म लन्डनस्थित इक्वेडरको दूतावासभित्र बस्नुभएको छ । त्यसैले बेलायती प्रहरी उहाँलाई पक्राउ गर्न दूतावासभित्र प्रवेश गर्न सकेन । 

    बार्सेनाले मेक्सिकोले अन्तर्राष्ट्रिय कानून उल्लङ्घनका लागि इक्वेडरको जिम्मेबारीलाई निन्दा गर्न मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने जानकारी दिनुभयो । उहाँले मेक्सिकाली कूटनीतिज्ञहरू इक्वेडर सरकारबाट उनीहरूको घर फिर्तीका लागि आवश्यक ग्यारेन्टी प्राप्त गर्न पर्खिरहेको बताउनुभयो । 

    इक्वेडरको विदेश मन्त्रालय र गृह मन्त्रालयले यसबारेमा तत्काल कुनै जवाफ दिएका छैनन् । क्विटोमा मेक्सिकाली दूतावास शुक्रबार राति प्रहरीको सुरक्षामा रह्यो । 

    एक दिनअघि मेक्सिकोका राष्ट्रपतिले इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआ निर्वाचित भएको गत वर्षको निर्वाचनलाई इक्वेडरले ‘धेरै दुर्भाग्यपूर्ण’ ठानेको बताएपछि दुई मुलुकबीच तनाव बढेको थियो । जवाफमा इक्वेडर सरकारले मेक्सिकाली राजदूतलाई अवाञ्छित व्यक्ति घोषणा गरेको छ । 

आइतबार​ २५ चैत २०८० ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया