×

रेशम चौधरीको आम माफी मुद्दामा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

images

काठमाडौं । टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ ।

उनलाई सरकारले गणतन्त्र दिवसको दिन आम माफी दिएको थियो । चौधरीको आम माफीविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गरेकी थिईन् ।

कडायतको रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सरकारसँग लिखित जवाफ मागेको हो ।

रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ताहरु इन्द्रप्रसाद अर्याल, त्रिलोकबहादुर चन्द, बद्रीप्रसाद भुषाल, ज्ञानेन्द्रराज आरण, लक्ष्मी रेग्मी, हरिप्रसाद पंगेनी, रामचन्द्र पौडेल, लोकेन्द्र सिंह धामी र हरिबाबु श्रेष्ठले बहस गरेका थिए ।

‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सोसमेत साथै राखी म्याद सूचना प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षी नं. १, २, ३, ४ र ५ ले महान्यायाधिवक्ताको कार्यालय मार्फत तथा विपक्षी नं. ६ ले आफैं वा आफ्नो कानूनबमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूलाई म्याद सूचना पठाई म्यादभित्र लिखित जबाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू,’– आदेशमा भनिएको छ ।

मङ्गलबार २३ जेठ २०८० ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया