×

स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापन अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

images

धुलिखेल (काभ्रेपलाञ्चोक), १४ मङ्सिर : धुलिखेल अस्पतालको आयोजनामा स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो सम्मेलन हुने भएको छ । विपद्का बेला हुने जोखिमको पूर्वतयारीमा अस्पतालले के–कसरी काम गर्ने र व्यवस्थापकीय तयारी कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तरअस्पतालबीच सञ्चार समन्वय गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको आज धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका आकस्मिक विभागका डा सम्झना बस्नेतले जानकारी दिनुभयो । शुक्रबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा चिकितसक र स्वास्थ्यकर्मी गरी भारतका दश जना र नेपालभित्रका ५० शय्याभन्दा माथिका अस्पतालबाट गरी करिब एक सय ३० देखि एक सय ४० जनाको सहभागिता रहनेछ । प्राकृतिक र मानवनिर्मित प्रकोपबाट हुने विपद्का बेलामा हुने घटनामा परेकाको उचित उपचार गर्न, गर्नुपर्ने पूर्वतयारीका विषयमा उद्धार र उपचारका लागि कुन अस्तापलमा को र कस्तो खालको विशेषज्ञ तयारी अवस्थामा छन् भन्ने विषयमा सञ्चार र समन्वय गर्नका लागि सम्मेलनले ठूलो भूमिका खेल्ने डा बस्नेतले बताउनुभयो । विपद्का बेलामा प्रभावकारी सञ्चार र समन्वय नहुँदा मानिसको ज्यान जाने भएकाले त्यससम्बन्धी सम्मेलनले अनुभव आदान–प्रदानदेखि नयाँ सीप सिक्न सम्मेलनले भूमिका खेल्ने उहाँले बताउनुभयो । धुलिखेल अस्पतालका मिडिया तथा सञ्चार प्रमुख डा सुमनराज ताम्राकारले सम्मेलनमा विपद्को क्षेत्रमा काम गर्ने अमेरिका, भारत, अस्ट्रेलिया र मलेसियाका विज्ञबाट प्रशिक्षण दिने बताउनुभयो ।

बिहीबार १४ मंसिर २०८० ०५:१६ PM मा प्रकाशित

प्रतिक्रिया