×

पार्टीभित्रै विद्रोह गर्ने बेला आएको छ- महामन्त्री थापा

images

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार  चावहिलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन चुनाव जित्नका लागि मात्र भएको उल्लेख गर्दै अघिल्लो निर्वाचनदेखि आउँदो निर्वाचनसम्म पार्टी गोलचक्करमा मात्रै चलेकाले अब पार्टीभित्र संघर्ष गर्ने बेला आएको बताए।

उनले भने, ‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको छ । नत्र त पार्टी मात्र सत्ताको हतियार हुनेभयो ।’

पार्टीमा अहिले चर्को असन्तुष्टि रहेको भन्दै उनले भने, ‘सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ । यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको छ । यसको लागि युवाहरुको उपस्थितिले तागत बढाएको छ । युवाहरुलाई निराश बनाउँदिन ।’ ।

साथै उनले भने उनले सरकार मात्र निर्वाचन लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको बताए। उनले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर बिरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगु नियन्त्रण र न्युनिकरणका लागि पहल हुन नसकेको बताए।

महामन्त्री थापाले डेंगुका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्युनिकरण गर्ने अभियान शुरु गर्नुपर्ने बताए।

शुक्रबार​ १४ असोज २०७९ १२:५९ PM मा प्रकाशित

प्रतिक्रिया