×

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि, सरकारमा आउन प्रधानमन्त्रीको आग्रह

images

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।  प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लामिछाने आईतबार विहान बालुवाटार पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले चितवन २ को उपनिर्वाचनमा विजयी भएका लामिछानेलाई बधाई दिएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाएका लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भएका थिए ।  यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा रवि फराकिलो मतसहित विजयी भएका थिए। मंगलबार सार्वजनिक अन्तिम परिणामअनुसार लामिछाने ५४ हजार १७५ मतसहित विजयी भएका हुन्। 

निर्वाचित भएसँगै उनले सरकारमा सहभागी हुनुको औचित्य र आवश्यकता नरहेको प्रतिक्रिया दिदै आएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई पनि सरकारमा सहभागी गराउने पक्षमा छन् । तर सो पार्टीले सरकारमा जाने नजानेबारे कुनै निर्णय गरिसकेको छैन । सो पार्टीले सरकारमा सहभागीताबारे निर्णय गर्न सोमबार बैठक बोलाएको छ ।

शुक्रबार सांसद पदको शपथ ग्रहणलगत्तै लामिछानेले सरकारलाई दिएको समर्थनको विषयमा संसदीय दल र केन्द्रीय समितिको बैठकमा गम्भीर समीक्षा गर्ने बताएका थिए ।

उनले सरकारको न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले भन्दै गम्भीर आपत्तिसमेत जनाउँदै आएका छन् । रास्वपाले भोली नै संसदीय दलको बैठकसमेत बोलाइएको छ । दिउँसो ३ बजे बस्ने उक्त बैठकमा छलफल गरेर लामिछाने फेरि संसदीय दलको नेता बन्ने तयारीमा छन् ।

आइतबार​ १७ बैशाख २०८० ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया