×

आयवृद्धिमा सघाउन एकल महिलालाई बाख्रा वितरण

images

तुलसीपुर (दाङ), १८ वैशाखः  तुलसीपुर उपमहानगरपालिका–१२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । बाख्रापालन गरी आम्दानी वृद्धिका लागि एकल महिला छनोट गरी वितरण गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो ।

“हामीले अतिगरिब एकल महिलाको आम्दानी वृद्धिका लागि बाख्रा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “ती बाख्राबाट आय आर्जनमा सघाउ पुग्ने हाम्रो विश्वास छ ।” हाललाई वडाभित्रका १० जना एकल महिलालाई बोयरलगायत उन्नत जातका बाख्रा वितरण गरिएको छ ।

उपमहानगरपालिकाले प्रदान गरेका बाख्रा डो¥याउदै बुधनी चौधरीले भन्नुभयो, “यसले हामीलाई  आम्दानीमा टेवा पुर्याउने छ ।” एकल महिलाको आम्दानीको अन्य स्रोत नभएकाले प्राप्त सहयोगबाट आफ्नो जीवन यापनमा मद्दत पुग्नेमा आफू विश्वस्त रहेको अर्की एकल महिला लक्ष्मी घर्तीले बताउनुभयो । “हाम्रो आम्दानीको स्रोत केही छैन”, उहाँले भन्नुभयो , “ वडाको सहयोगबाट हामी खुसी छौँ ।”

वडाले लाभग्राही नियमित अनुगमन गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । आर्थिक समृद्धिको आधार व्यवसाय भएकाले अहिले वितरण गरेका बाख्राबाट आम्दानी गरेको देख्ने आफूहरूको चाहना भएको अध्यक्ष चौधरीले बताउनुभयो । आफूहरू सधैँ किसानका पक्षमा रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।  
–––

मङ्गलबार १८ बैशाख २०८१ १०:३५ AM मा प्रकाशित

प्रतिक्रिया