×

कुहिएको चामल बिक्री

images

सिमकोट (हुम्ला), १२ असोज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो । 
   
नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको बताउनुभयो । एक घरधुरीलाई चार बोराका दरले बिक्री गरिएको थियो । उहाँले त्यसमा दुई बोरा चामल कुहिएको भेटिएको बताउनुभयो । उहाँले आफ्नो मात्र नभई अधिकांश खाद्यान्न पाएका घरपरिवारको कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको बताउनुभयो । 
    
पच्चीस किलोको बोरा चामलको मूल्य रु दुई हजार तीन सय ७५ मा किनेको र घरमा चामलको बोरा खोल्दा कुहिएको पाइएको स्थानीय जङ्ग लामाले बताउनुभयो । “पैसा तिरिसकेका छौँ, चामल कुहिएर डल्ला परेको भेटिएको छ”, उहाँले भन्नुभयो ।
    
करिब ५० घरधुरीका नागरिकले चामल बिक्री गरिएकामा अधिकांश बोरा कुहिएको भेटिएको स्थानीयको गुनासो छ । मुचुगाउँमा लिमिटेडले बिक्री गरेको चामल कुहिएर खान नमिल्ने भएपछि बोरा खोलेर घाममा सुकाउने गरिएको छ । घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्ने खालको रहेको छ । 
   
हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा चौरमा पालले छोपेर राख्ने क्रममा पानी पर्दा भिजेका कारण कुहिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो । काठमाडौँ–केरुङ हुँदै तिब्बती मार्गबाट हिल्सा नाकाबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी भएको थियो । त्यसमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि छुट्याइएको थियो । 
    
यस्तै तीन हजार क्विन्टल खाद्यान्न सिमकोट शाखामा आएको उहाँले बताउनुभयो । उहाँले कुहिएको खाद्यान्न फिर्ता गरेर राम्रो चामल दिने व्यवस्था गरिने बताउनुभयो । खाद्यान्न कुहिएको भए पैसा फिर्ता दिने पनि उहाँले बताउनुभयो । सो कुहिएको खाद्यान्न भने राम्रोसँग राख्न उहाँले आग्रह गर्नुभयो ।

शुक्रबार​ १२ असोज २०८० ०१:५८ PM मा प्रकाशित

प्रतिक्रिया