×

खेलाडी छनोट प्रक्रिया अघि बढाउन प्राविधिक कर्मचारीको अभाव

images

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि विभिन्न प्रदेशमा प्राविधिक कर्मचारीको अभाव रहेको बताइएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय तथा स्थानीय समन्वय, सहजीकरण तथा छलफल बैठकमा विभिन्न प्रदेशका प्रतिनिधिले खेलाडी छनोट प्रक्रिया अघि बढाउन प्राविधिक कर्मचारीको अभाव रहेको बताउनुभएको हो । 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सातै प्रदेशमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भएको प्राविधिक र अनुभवी जनशक्तिको आवश्यकता हेरी परिचालन गर्ने बताउनुभयो ।

राखेपमा रहेका प्रशिक्षकले नभयाए प्रदेशले आ–आफनो तरिकाले राखेपबाहेकका प्रशिक्षकलाई ‘हायर’ गरी प्रतियोगिताको तयारी गर्न मन्त्री गहतराजले सातै प्रदेशलाई आग्रह गर्नुभयो । उहाँले नवौँ खेलकुदको लागि पर्याप्त समय भएको बताउँदै प्रदेशका मन्त्रालयले समन्वय गरेर प्रतियोगिताको तयारी गर्नुपर्ने बताउनुभयो । त्यस्तै प्रदेश–१ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश–१ मा जनशक्ति अभाव रहेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राखेपका प्राविधिक कर्मचारीलाई प्रदेशमा काजको रुपमा पठाएर सहयोग गरिदिन आग्रह गर्नुभयो । 

वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नौ वटा खेलको छनोट प्रक्रिया सकिसकेको बताउदै प्रदेशबाट ३६ खेलमा नै खेलाडीलाई सहभागी गराउने योजना रहेको बताउनुभयो । 

मधेश प्रदेशका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले प्रदेश–१ मा जनशक्तिको अभावसँगै अनुभवको कमीका कारणले गर्दा पूर्णरुपमा प्रतियोगिताको तयारी गर्न नसकेको बताउनुभयो । उहाँले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रु एक करोड २५ लाख बजेट छुट्याएको भन्दै युवा तथा खेलकुद मन्त्रलालयले खेलसम्बन्धी जानकार व्यक्तिलाई प्रदेशमा पठाइदिन आग्रह गर्नुभयो । 

राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघको नियमानुसार सञ्चालन गरिने भन्दै खेलगत, खेलाडी र प्रशिक्षकको नाम दर्ता आगामी भदौ १५ गतेभित्र गरिसक्नुपर्ने बताउनुभयो । उहाँका अनुसार खेलगत खेलाडी प्रशिक्षक पोशाकको साइज पनि भदौ १५ गतेभित्र दर्ता गराइसक्नुपर्नेछ । 

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने तालिका रहेको छ । उक्त प्रतियोगितामा विभिन्न ११ टोलीको सहभागिता रहनेछ भने ३६ खेल समावेश गरिने निर्णय भएको छ । 

शुक्रबार​ १३ साउन २०७९ ०९:३७ PM मा प्रकाशित

प्रतिक्रिया