×

निर्वाचन विशेष- ऋण लिन आफ्नै नाममा जग्गा हुनुपर्ने नियमले उद्यम गर्न चाहने युवा हतोत्साही

images

गाउँका अरु युवा झैं काम र दामको खोजीमा रामपुरका युवा भुपिन्द्र श्रेष्ठ विदेश हानिनुभयो र झण्डै १३ वर्ष पराइ भूमिमा बिताउनुभयो । वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहनुभएका उहाँ यतिबेला भने छुट्टिमा गाउँमा हुनुहुन्छ ।
उहाँलाई विदेशी भूमिमा काम गर्ने रहर त छैन तर,   देशमै बसेर गर्ने उद्यम पनि उहाँलाई सुझेको छैन । घरव्यवहार चलाउन र छोराछोरीको पठनपाठनका लागि खर्च जुटाउन उहाँ विदेशिन बाध्य हुनुहुन्छ । एक दशकभन्दा बढीे परदेशको अनुभव बटुल्नुभएका उहाँलाई आफ्नै परिवारसँग बसेर स्वदेशमै व्यवसाय गर्ने धोको छ । 

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु घरदैलो गर्न थालेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका आधारभूत आवश्यकता जोहो गर्ने योजनाका साथसाथै उनीहरुले युवा, ज्येष्ठ नागरिक, बालबालिका र महिलाका लागि पनि विभिन्न कल्याणकारी र आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन् । देश र समाजका लागि सेवा गर्ने भावना भएर पनि  काम गर्ने वातावरण नहुँदा युवा जमात विदेशिन परिरहेको छ । अब जनताबाट चुनिएर जाने जनप्रतिनिधिले युवा जमातका लागि उद्यमशीलता प्रवद्र्धन कार्यक्रममार्फत गाउँमै स्वरोजगारको ढोका खोलिदिनुपर्ने श्रेष्ठ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “निर्वाचनका बेला मत माग्ने निहुँमा आकर्षक योजना लिएर उम्मेदवारहरु घर घरमा आउँछन्,  जितेर गएपछि बिर्सन्छन् । कमसेकम खाडीमा जान बाध्य हामीजस्ता युवालाई गाउँमै बस्ने वातावरण बनाइदिए विदेशिन पर्ने थिएनन् नि ।”  
 वैदेशिक रोजगारका लागि राहदानी बनाउने युवाको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । उहाँले थप्नुहुन्छ – “चुनावै पिच्छे नेताले युवालाई गाउँमै रोजगारी दिन्छौं भनेर भाषण दिन्छन्, सत्तामा पुगेपछि बोले अनुसार काम गरेको पाइँदैन । रोजगारीका लागि विदेश जानै पर्ने अवस्था छ । गाउँमै रोजगारीका यथेष्ट अवसर भइदिए विदेशिने छैनन् । स्थानीय सरकारले अब युवामुखी कार्यक्रमलाई पहिलो प्राथमिकता दिनुपर्नेछ ।”

गएको पाँच वर्षको अवधिमा स्थानीय सरकारले सोचे अनुसार युवाका लागि काम गर्न नसकेको असन्तुष्टि यहाँका युवामा छ । केही गर्छु भन्ने जोश भएका युवालाई व्यापार वा व्यवसाय गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिए विदेश पलायन हुने स्थिति नआउने उहाँको भनाइ छ । अब चुनिएर आउने नेताले जनमतको कदर गर्दै राहदानी बनाउन लामबद्ध युवालाई खाडीमा जानबाट रोक्न गाउँमै रोजगारको आधार खडा गरिदिनुपर्नेमा युवा जमातको जोड छ ।

विकास निर्माणका काममा पारदर्शिता कायम गर्न चुस्त अनुगमन र निरन्तर खबरदारी हुनुपर्ने उनीहरु बताउँछन् । विगतमा व्यावसायिक दक्षता र संभावनालाई हेरेर भन्दा व्यक्ति हेरेर सहयोग गर्ने प्रवृत्ति स्थानीय तहमा हाबी भएको स्थानीय युवा कमल पाण्डेय गुनासो गर्नुहुन्छ । विदेशबाट फर्केर गाउँमै केही गरौँ भन्ने अठोट बोकेर केही युवाले पछिल्लो समय गाउँमै विभिन्न उद्योग, व्यापार र व्यवसाय सञ्चालनमा ल्याएका छन् ।  । ती युवालाई व्यवसाय वर्गीकरणका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिनुपर्ने पाण्डेयको माग छ । 

रामपुर नगरपालिकाले कृषि र पशुपालनका साथै अन्य उद्यम र पेशा व्यवसायमा आबद्ध युवालाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने आम धारणा छ । “व्यवसाय गर्छु भन्नेका लागि स्थानीय सरकारले सहुलियत रुपमा लगानी गरिदिनुप¥यो, सबैले एकै खालको व्यवसाय गरेर मात्रै पनि हँुदैन, ठाउँ र युवाको रुची अनुसारको व्यवसाय गर्ने युवालाई लगानीमा केही सहुलियत भइदिए  गाउँमै युवाले उद्यम गर्नेछन्,” उहाँले भन्नुभयो । स्थानीय सरकारले ल्याएका युवा लक्ष्यित कार्यक्रममा पहुँचवालाकै बोलवाला बढी हुने गरेको गुनासो सुन्न पाइन्छ ।  कतिपय पालिकाले ल्याएको युवा स्वरोजगार कार्यक्रममा ऋणका लागि अनिवार्य धितो राख्नुपर्ने व्यवस्थाले युवालाई हतोत्साही बनाएको छ । 

जग्गाधनी प्रमाणपत्र धितो राखेर मात्रै सहुलियतमा ऋण पाउने व्यवस्थाले यसप्रति युवाको आकर्षण घटेको बताउनुहुन्छ, मेघराज न्यौपाने । उहाँ पनि करिव तीन वर्ष विदेश बसेर स्वदेश फर्कनुभएको हो । अहिले जग्गा भाडामा लिएर तरकारी खेती गरिरहनुभएको छ  उहाँ भन्नुहुन्छ – “रामपुर नगरपालिकाले ल्याएको युवा स्वरोजगार कार्यक्रम अत्यन्तै राम्रो छ तर, सो कार्यक्रममा सहभागी हुन जग्गाधनी प्रमाणपत्र आफ्नो नाममा चाहिंदो रहेछ । आफ्नो नाममा केही छैन, यसले अप्ठ्यारो पारेको छ । जग्गा नभएकाहरु पनि यो कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था अब चुनिएर आउने जनप्रतिनिधिले गर्नुपर्छ ।”  

गाउँघरमा उपलब्ध स्रोत र साधनको सही उपयोग हुन सकिरहेको छैन । स्थानीय स्रोत र साधन उपयोग गरी उद्योग चलाउन चाहने युवालाई सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिनुपर्छ । ऋण प्रक्रिया झण्झटपूर्ण हुनुहुन्न ।       गाउँघरका युवालाई उद्यमशील र स्वावलम्बी बनाउने योजनाको खाँचो रहेको युवा ओमप्रकाश रेग्मी बताउनुहुन्छ ।

एक अनौपचारिक अध्ययन अनुसार नेपालमा वर्षेनी छ देखि सात लाख युवा विदेश जान्छन् । आफ्नो देशमा राम्रो काम नपाएर अथवा मेहनत अनुसार पारिश्रमिक नभएर युवा वैदेशिक रोजगारतर्फ आकर्षित हुँदै गएका छन । वैदेशिक रोजगारीमा गएपनि कतिपय युवा सन्तुष्ट छैनन्, परिवारसँगै बसेर स्वदेशमै केही गर्न पाए हुन्थ्यो भन्ने आकांक्षा राख्छन् ।

शुक्रबार​ १६ बैशाख २०७९ ०३:०६ PM मा प्रकाशित

प्रतिक्रिया