×

नयाँ सरकार गठनबारे शीर्ष नेताबीच छलफल

images

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख तीन दल वीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच सोमबार बालुवाटारमा छलफल भएको छ ।

गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा एकल बहुमत नआएको अवस्थामा कसरी अघि बढने भन्ने बारेमा पहिलो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबी भेटवार्ता भएको हो।

समानुपातिकतर्फको निर्वाचनको परिणामपछि मात्रै सरकार बनाउनका लागि पुग्ने सांसद संख्याका बारेमा निर्क्याेल हुने भएपछि सत्तारुढ गठबन्धनले आवाश्यक संख्याका लागि अन्य दलसँग सहकार्य गर्न सक्नेछन्। छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । ‘गठबन्धनका दलहरुको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको छ,’ परियारले भने ।

प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई दिन अघि पनि भेटेका थिए । गठबन्धन दलले मात्रै नभएर नेकपा एमालेले पनि आफ्नो नेतृत्वको सरकार गठन गर्नेबारे छलफल थालिसकेको छ। यसैबीच, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर आफूलाई प्रधानमन्त्री बन्न सहयोगका लागि आग्रह गरिसकेका छन् । गठबन्धन दलबाट प्रधानमन्त्री देउवासहित नेता पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला, गगन थापाले मुख्य रूपमा दाबी प्रस्तुत गरेका छन् ।

सोमबार १२ मंसिर २०७९ ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया