×

इतिहासका मूलधार साँच्चै कता तिर 

images

 हालै यही २०८० को बज्र पव्लिकेशन इन्क प्रा.लि बाट प्रकाशन भएको मास्केवंश नामक पुस्तक सार्वजनिक भइसकेको कुरा सर्वविदितै होला भन्ने ठान्दछु । यस पुस्तकका लेखक संतोषमान मास्के निश्चय पनि बधाईका पात्र हुनुहुन्छ । उहाँले यो पुस्तक लेख्दै गर्दा बाङ्गेमुढा थायमदु स्थित ११ कवलको लामो मास्केफल्चामा रहेको शिलापत्र पढी सहयोग गर्नु प¥यो भनी मलाई अनुरोध गर्नु भयो । उहाँको यो अनुरोध स्वीकारी मैले पढी दिएको हो । उहाँले आफनो पुस्तकमा प्राक्कथन लेख्दा मलाई आभार प्रकट पनि गर्नु भएको छ ।(फोटो नं १ र २ ) 

यसरी उहाँले आभार प्रकट गरेको कुरा संशोधन मण्डलका खम्वा बनी संस्था धान्दै आएको विद्वान व्यक्तित्व डा. महेशराज पन्तलाई पटक्कै मन परेन  । तव उहाँको आफ्नो मन्तव्यमा म र म आवद्ध रहेको पुरातत्व विभाग प्रति समेत लक्ष्य गरी आगो उकेली यसरी लेख्नु भएको छ । त्यो आगो यस प्रकार छ 


        नेपालमा इतिहासका आकर अर्थात् आजभोलिको भाषामा स्रोतबाट इतिहास लेख्न सक्ने पुरुषसम्पद     
          अर्थात् आजभोलिको भाषामा जनशक्ति दूर्लभ छ । आजभोलि हामीकहाँ चलेको मूल धारअनुसारको 
          इतिहासको शिक्षा पाउनेको हातबाट त्यस्ता सामग्रीले न्याय पाएको देखिंदै देखिंदैन भनी भन्दा बढी 
          बोलेको ठहरोइन ।यसको एउटा दृष्टान्त यही पुस्तकमा गाभिएको, पुरातत्व विभागका लिपि विशेषज्ञले पढी 
          उल्था गरेको खिउँलँ मास्के फल्चामा रहेको शिलापत्र हो । 

तव वास्तविक इतिहासको मूल धार भनेको के हो र संशोधन मण्डलले आजसम्म अवलम्वन गर्दै आएको इतिहासको मूल धार भनेको के हो ? यो मुद्दा चुनौति  बनेर उपस्थित हुन आएको कुरा यहाँ ध्यानाकर्षण को विषय बनेको छ ।

वास्तविक इतिहास त्यो हो जुन साक्षी प्रमाणको वैशाखी टेके बिना एक कदम पनि अघि सर्न सक्दैन । एउटा साधारण से साधारण उदाहरण अगाडि राखेर हामी छलफल गर्दा नेपालसंवत्को पात्रोलाई नै अगाडि राखेर हेरौं । नेपालसंवत् शुरु भए देखि हालसम्म पनि अमान्तमानको सिद्धान्त माथि टेकेर आएको तथ्य सर्वविदित नै छ ।  यसमा महीना  शुक्लपक्षको प्रतिपदाबाट शुरु भएर औंसीमा टुंगिने हुनाले यो अमान्तमान कहलिएको हो । जहाँसम्म लाग्छ यसमा कसैको कुनै विमति नै छैन । त्यसो हो भने यस कथनमा पनि कुनै विवाद हुनु नपर्ने नै हो जस्तो लाग्छ । जस्तो


मल्लकालमा नेपाल उपत्यकामा अमान्तमानको प्रचलन हुंदा मल्लकालमा तिथि—मितिको गणना अमान्तमान अनुसार र  शाहकालमा पूर्णान्तमानको प्रचलन हुंदा त्यस ताकाको गणना चाहीं पूर्णान्तमान अनुसार  हुन्छ । 

मल्लकालमा नेपाल उपत्यकामा नेपालसंवत् कै प्रचलन भएको र शाहकालमा विक्रमसंवत चले पनि नेपालसंवत् अमान्तमान नै हो र अहिले सम्म पनि अमान्तमान नै छ । यसमा पनि कुनै विवाद छ जस्तो लाग्दैन । मध्यकालका कतिपय अभिलेखहरुमा नेपालसंवत्को अलावा अरु संवत्हरु पनि उल्लेख गरिएका उदाहरणहरु थुप्रै पाइन्छन् । ती मध्ये केही उदाहरण यस प्रकार छन् 

भक्तपुर गुठी कार्यालय संगै उत्तरमा थथु लायकु स्थित ढुंगेधाराको अभिलेख

श्री नेपालसंवत् ७९८ श्रीशकराज १६००कलिगत ४७७९ विक्रमादित्य १७३५ आषाढमासे शुक्लपक्षे,दशम्यानितथौ,स्वाति नक्षत्रे, सिद्धियोगे तैतिलकरणे बुधवासरे

भक्तपुर मालतीचोको अभिलेख

नेपालसंवत् ८१८ कलिगत ४७९९ श्रीविक्रम १७९९ श्रीशक १६२० फाल्गुनमासे शुक्लपक्षे नवम्यांतिथौ, मृगशिरनक्षत्रे, विस्कम्भयोगे,यथाकरणमुहूर्तके, बुधवासरे
भक्तपुर आगम मन्दिरको सुवर्णद्वारको तोरणको अभिलेख

नेपालसम्वत् ८०५ ।। शक१६०६ विक्रम १७४१ कलि४७८५ मार्गशिरकृष्ण नवम्यां, चित्रानक्षत्रेसुकम्र्मयोगे, यथाकरणमुहूर्ते शनैश्चरवासरे

भक्तपुर मूलचोक सुवर्णढोकाको दायावायाको सुवर्णपत्रहरु
कलिगताव्द ४८०७ विक्रमाव्द१७६३ शाकाव्द १६२८नेपालसम्वत् ८२६ ज्येष्ठमासे  कृष्णपक्ष चतुर्थी पर पंचमी तिथि शतभिषनक्षत्र आयुष्मानयोग बुधवार
 

भक्तपुर मूलचोक उत्तरलङको सुवर्णपत्र
कलिगतवर्ष ४८३३विक्रमाव्दे १७७९शकराजवर्ष१६४४ नपालसंवत् ८४२ श्रावणमासे कृष्णपक्ष सप्तम्यां पराष्टम्यांतिथौ रोहिणिनक्षत्रे हर्षनयोगे यथाकरणमुहूर्ते बुधवासरे

यसमा उल्लेख भएका चारै थरिको संवत् अमान्तमान मै दिइएका छन् । यसको मतलव विक्रमसंवत् स्वयं पनि अमान्तमान सिद्धान्त माथि नै उभेको देख्न सक्तछौं । 

आजकालको पात्रो हेरियो भने अमान्तमानको शुक्लपक्ष र पूर्णिमान्तमानको शुक्लपक्ष भने एउटै हुने तर अमान्तमानको ज्येष्ठकृष्ण पक्ष भनेको पूर्णिमान्तमानको वैशाखकृष्ण, अमान्तमानको मार्गशिर कृष्ण भनेको पूर्णिमान्तको कार्तिककृष्ण र अमान्तमानको श्रावणकृष्ण भनेको पूर्णिमान्तको आषाढकृष्ण हुन्छ । माथिका अभिलेखमा यस्तो किसिमको छैन । यसमा पनि कुनै विवाद छ जस्तो लाग्दैन ।

यहाँ वास्तविक इतिहासको दृष्टि र संशोधन मण्डलको दृष्टिले हेरियो भने पनि त्यतिवेला कलिगत शक र नेपालसंवत् मात्र  होइन विक्रमसंवत्समेत पनि अमान्तमान थियो भन्ने प्रष्ट छ । यसमा संशोधन मण्डलले फरक मत जाहेर गरेको पनि अहिलेसम्म देखिएको छैन ।

यी माथिका अभिलेख उदाहरणमा वास्तविक इतिहासको मूलधार र संशोधनमण्डलको मूलधारमा  कहाँ केमा विकर्षणहरु छन् भन्ने कुरा अरु पनि यस्ता अभिलेखहरु जसमा नेपालसंवत् बाहेक अरु संवत् पनि दिइएका समेत राखेर छुट्टै लेख तयार गर्नु पर्ने आवश्यकता छ । त्यसबारे पछि लेखिने छ ।

संशोधन मण्डलको मूलधारले दिएको भनाइ
मल्लकालमा नेपाल उपत्यकामा अमान्तमानको प्रचलन हुंदा मल्लकालमा तिथि—मितिको गणना अमान्तमान अनुसार यहाँ दिइएका छन् तथा शाहकालमा पूर्णान्तमानको प्रचलन हुंदा त्यस ताकाको गणना चाहीं पूर्णान्तमान अनुसार दिइएका छन् ।

(इतिहास संशोधनको प्रमाण प्रमेय पृष्ठ ३१२ र ऐतिहासिक पत्र संग्रह दोस्रो भाग पृष्ठ ११२ )
वास्तविक इतिहासले मल्लकालमा नेपाल उपत्यकामा नेपालसंवत्को व्यवहार भए त्यो नेपालसंवत् मल्लकालमा पनि अमान्तमान थिए र हालसम्म पनि अमान्तमान नै छन् । यसमा कहिल्यै विचलन आएको छैन । 

विक्रमसंवत् चाही मल्लकालमा प्रकट भएको देख्दा अमान्तमान नै थिए भने वि.सं १९६० पछि विक्रमसंवत् राष्ट्रिय संवत् घोषणा भए देखि यता मात्र पूर्णिमान्त को जग माथि उभेर आाएको देखिन्छ । त्यसकारण शाहकालमा पूर्णान्तमानको प्रचलन हुंदा त्यस ताकाको गणना चाहीं पूर्णान्तमान अनुसार दिइएका छन् भन्ने कुरा वास्तविक इतिहासले सकारेको छैन । 

संशोधन मण्डलको मूलधारले दिएको भनाइ

चान्द्र महीना अमान्त र पूर्णान्तमानका हिसावले दुइ थरी मानिएका छन् ।शुक्ल पक्षको प्रतिपददेखि आरम्भ गरी औंसीसम्मको महीनालाई अमान्तमानको भन्दछन् ।कृष्णपक्षको प्रतिपददेखि आरम्भ गरी पूर्णिमा सम्मको महीनालाई पूर्णान्तमानको भन्दछन् । शुक्लपक्षमा दुवै मानबाट एउटै महीना बोलिन्छ ।कृष्णपक्षमा भने अमान्तमानले बोलिएको महीनालाई पूर्णान्तमानले बोल्दा त्यसभन्दा पछि आउने महीनाको नाम पर्छ । नेपाल खाल्डोमा मल्लकालका लेखहरुमा अमान्तमान लेख्ने चलन देखिन्छ । 

                                                                                                                                                                                                         (संशोधन मण्डलको मुखपत्र पूर्णिमा अंक १०३ को पृष्ठ ५)

यसमा पनि वास्तविक मूलधारले मल्लकालमा कलिगत, विक्रम, शक र नेपालसंवत् सवै अमान्तमान नै मानेको सकार्छ । केवल विक्रमसंवत् एउटा चाही चन्द्रसमसेरको पालामा आएर गतेबाट चल्ने गरी सौरमान अपनाए पछि अमान्तमान छोडेर पूर्णिमान्त गरेको सकार्छ । त्यसकारण मल्लकाल होस् या शाहकाल नेपालमा अमान्तमान कै प्रचलन धेरै छ । अपवादको रुपमा विक्रमसंवत् एउटा वि.सं १९६१ देखि पूर्णिमान्त अनुसार गणना गर्ने गरिएको हो । यो कुरा संशोधन मण्डलको मूलधार सित विकर्षण हुने कुरा हो ।

पूर्णिमा अंंकहरु  पल्टाउंदै हेर्दै जाने हो भने त्यसरी विकर्षण हुने कुरा अनगिन्ती आउछन् । जस्तै गोपालराजवंशावलीको३१ र २४,२५ पत्रमा उल्लेख आएको तिथिमितिहरु १) ने.सं २१९ वैशाखकृष्ण पञ्चम्या उत्राषाढनक्षत्र २)ने.सं २६७ प्रथमाषाढकृष्णपञ्चम्यां पूर्व भद्रनक्षत्रे शुक्रदिने ३)ने.सं २७५ चैत्रकृष्ण पञ्चम्यां बृहस्पति दिने ४) ने.सं २७९ भाद्रकृष्णाष्टम्यां आदित्यदिने  छन् । यी मितिहरु न त शाहकालका हुन् न त गणना भन्ने कुरा चटक देखाउने विधा नै हुन् । 

किनभने पूर्णिमा अंकहरुमा यी मितिको गणना गर्दा पूर्णिमान्तमानबाट गरिएका छन् ।  त्यस्तै गरी  भक्तपुर नारायण चोकको अभिलेखमा ५) ने.सं २८३ ज्येष्ठ कृष्ण अष्टमी सोमवासरे । वीर पुस्तकालयको अष्टसहस्रिका प्रज्ञापारमिता मा दिइएको ६) नेसं २८४ माघ शुक्ल अष्टमी आदित्यदिने । चाँगुनारायणको शिलालेख मा ७) ने.सं २९६ ज्यष्ठकृष्ण अष्टमी भक्तपुर महाकालीको शिलालेखमा८) ने.सं७८१ फाल्गुनकृष्ण अमावास्यायान्तिथौ बुधवार ऐतिहासिक घटनावली पृष्ठ ३ मा९) ने.सं ७८७ आषाढ कृष्ण प्रतिपदा उत्रराषाढ बुधवार  ऐतिहासिक घटनावली पृष्ठ ५ मा१०)  ने.सं ७९२ ज्येष्ठ कृष्ण प्रतिपदा शनिवार ।दिइएका छन् । एवं प्रकारले यी मितिहरु कुनैपनि शाहकालका होइनन् तर बार गणना गर्दा बार नआए पछि  पूर्णिमान्तबाट आयो भनिएको छ । इतिहासमा चटक विद्या लागू हुंदैन । गणनाको विधा भनेको जसरी भए पनि बार आयो भन्ने संग मात्र सरोकार राख्दैन र तिथिमिति गणना भनेको चटक विद्या पनि होइन । 

सिद्धान्त अनुसार मध्यकालमा नेपालसंवत्को व्यवहार भएको र नेपालसंवत् शुरुभए देखि अहिले सम्म अमान्तमान नै छन् । त्यसैले तत्कालीन मितिको अमान्तमान बाट गणना गरेको हुनु पर्छ । सिद्धान्त भनेको संशोधन मण्डलको इच्छा मुताविक जता मोड्यो त्यतातिरै मोडिने कुरा पनि होइन । यदि इतिहास संशोधन मण्डलले आफ्नो नाम इतिहास चटक मण्डल भनेर राखेको  भए सार्थक ठहरिन्थ्यो होला । किनकि चटकले जे देखाउन चाहेको हो त्यही देखाइ दिन्छ । त्यतिवेला सवैले वाह क्या जादु भन्दै तारिफ पनि गर्ला । तर इतिहास भनेको त्यो फाँटबाट निक्कै फरक र टाढाको विषय हो ।  

यसबाट यो देखियो कि  अमान्तमानबाट बार नआउने बित्तिक्कै संशोधन मण्डलले पूर्णिमान्तबाट आयो गणना मिल्यो भनिएका रहेछन् भनेर बुझियो । इतिहासको वास्तविक धारले पूर्णिमान्त मानको चलन शाहकालमा मात्र आएको पनि  भन्ने फेरि सवै मल्लकालका मितिहरु पूर्णिमान्तमा मिल्यो भन्ने कुरालाई किमार्थ जायज मान्न सकिन्न ।

मुख्य समस्या
पूर्णिमा अंक १ वर्ष १ २०२१ वैशाखमा
 नेसं ४३४ विसं १३७१ वैशाखकृष्ण पूर्णिमान्तले ज्येष्ठकृष्ण  भनेर दिइएको । नेसं ४३८ विसं १३७४ फाल्गुनकृष्ण पूर्णिमान्तले चैत्रकृष्ण भनेर दिइएको । नेसं ७९३ विसं१७२९ मार्गकृष्ण पूर्णिमान्तले पौषकृष्ण भनेर दिइएको । नेसं ७९४ विसं१७३० माघकृष्ण पूर्णिमान्तले फाल्गुनकृष्ण भनेर दिइएको ।

पूर्णिमा अंक २ वर्ष १ २०२१ श्रावणमा 
नेसं ८१५ विसं१७५१ मार्गकृष्ण पूर्णिमान्तले पौषकृष्ण भनेर दिइएको ।

पूर्णिमा अंक ३ वर्ष १ २०२१ कार्तिकमा
 नेसं २१९ विसं११५६ वैशाखकृष्ण पूर्णिमान्तले ज्येष्ठकृष्ण भनेर दिइएको । नेसं २६७ विसं१२०३ माघकृष्ण पूर्णिमान्तले फाल्गुनकृष्ण भनेर दिइएको । नेसं २६७ विसं१२०४ आषाढकृष्ण पूर्णिमान्तले श्रावणकृष्ण भनेर दिइएको ।नेसं २६८ विसं १२०४ पौषशुक्ल गर्दा नमिले पछि मार्ग शुक्लको गणना गरियो भनी दिइएको  । नेसं २७५ विसं १२२१ चैत्रकृष्ण पूर्णिमान्तले वैशाख कृष्ण भनेर दिइएको नेसं २७९विसं १२१६ भाद्रकृष्ण पूर्णान्तमानले आश्विनकृष्ण भनेर दिइएको नेसं २८३विसं १२२०ज्येष्ठ कृष्ण  पूर्णान्तमानले आषाढकृष्ण भनेर दिइएको । नेसं २८४ विसं १२२० माघशुक्ल बाट गणना नमिले पछि फाल्गुन शुक्ल गर्दा मिल्यो भनिएको ।नेसं २८६ विसं १२२२ फाल्गुनकृष्ण पूर्णान्तमानले चैत्रकृष्ण भनिएको । नेसं २९६ विसं १२३३ ज्येष्ठकृष्ण पूर्णान्तमानले आषाढकृष्ण भनिएको ।

पूर्णिमा अंक ५ वर्ष २ २०२२ वैशाखमा
 विसं १८०३ पृथ्वीनारायण शाहले नालदूम जितेको आश्विनकृष्ण अमान्तमानले भाद्रकृष्ण भनेर दिइएको छ । यो चाही  शाह राजाको पालाको भएतापनि अमान्तमान नै प्रयोग गरिनुको अर्थ संयोगले अंध्यारो ठाउमा गोली हान्दा ठ्याक्कै ठाउंमा लागेकोले मात्र हो । नत्र शाहकालमा पूर्णिमान्त लागु हुन्थ्यो भनेर दावी गरिन्थ्यो होला । 
 

कारण 
पूर्णिमा अंक १ देखि ५ सम्मको मात्र अध्ययन गरिएको हो । समय र परिस्थितिले साथ दियो भने बाँकी अंकहरुको पनि यस्तै गरी वास्तविक इतिहासको मूलधार बाट संशोधन मण्डल कसरी बाहिरिएको छ भनेर देखाउंदै गइने छ । यी उद्धरणहरुमा समस्या पनि प्रकटित छ भने त्यसको कारण पनि प्रकटित छन् ।  यसमा विभिन्न महिनाका मितिहरु उदाहरणको रुपमा लिइएका छन् । नेपालसंवत् कार्तिकबाट शुरु हुने भएकोले नेपालसंवत् ४३४ भनेको कार्तिक देखि असोज सम्म नै ४३४ नै रहने कुरा सर्वविदित नै छ । विक्रमसंवत् वैशाख देखि शुरु हुने भएकोले नेपालसंवत् ४३४को कार्तिकमा विक्रमसंवत् एउटा हुन्छ भने वैशाखमा अर्को हुन्छ । यो पनि थाहा भएकै कुरा हो । 

संशोधन मण्डलको मूल धारले नेपालसंवत्मा कार्तिक देखि चैत्र सम्मको मिति भए ९३६ जोड्ने र वैशाख देखि असोज सम्मको भए ९३७ जोड्ने भन्छ । माथि उल्लेख भएको उद्धरणमा नेसं ४३४ वैशाखकृष्णमा ९३७ जोडेर वि.सं १३७१ भनेर दिइएको र पूर्णिमान्तले ज्येष्ठ कृष्ण  भनेर समेत दिइएको छ । 

अर्को नेसं २६८ पौषशुक्ल दिइएको छ तर पौष शुक्ल गरेर गणना  गर्दा नमिले पछि त्यसलाई मार्ग शुक्ल मानेर गणना गर्दा मिल्यो भनिएको छ । माथि उल्लेख भएको उद्धरणमा  नेसं २६८ पौषशुक्लमा ९३६ जोडेर वि.सं १२०४ भनेर दिइएको छ । संशोधन मण्डलको मूल धार शुक्लपक्ष अमान्तमान र पूर्णिमान्तमानको एउटै हुन्छ पनि  भनिएको छ भने यसमा पौषगर्दा बार मिलेन भनेर मार्ग गरिएको छ । यसलाई पाठकहरुले विशेष ध्यान दिने छ ।

वास्तविक इतिहासको धारले संशोधन मण्डलको यो मूल धारलाई कदापि स्वीकार गर्दैन । किनभने मध्यकालमा अमान्तमान चलेको पनि भन्ने कथंकदाचित त्यहाँ बार मिल्न आएन भने पूर्णिमान्त गर्ने ,अर्को शुक्लपक्ष अमान्त र पूर्णिमान्त दुवैको एउटै  हुन्छ पनि भन्ने बार मिल्न आएन भने पौषलाई नै मार्ग महिना पनि गर्ने यो कुरा सद्दे दिमाग भएकालाई पच्दैन । अर्को नेपालसंवत् शुरु भएकै वि.सं ९३६ कार्तिकमा भएकोले नेपालसंवत् १ भनेको विसं ९३६ कार्तिक देखि वि.सं ९३७ असोज सम्म रहन्छ भनेपछि  नेपालसंवत् र विक्रमसंवत् बीचको अन्तर भनेको त्यतिवेला ९३५ र ९३६ हुनुपर्नेमा विश्वास गर्छ ।

त्यसकारण वास्तविक इतिहासको धार र संशोधन मण्डलको मूल धार बीच विकर्षण छ भन्ने कुरा प्रष्ट देखिन्छ । एकातिर नेपालसंवत् १ भनेको विसं ९३६ को कार्तिक देखि विसं ९३७ को असोज सम्म रहन्छ पनि भन्ने पूर्णिमा अंक पल्टाएर हेर्ने हो भने त्यहाँ सारा तिथिमितिहरुमा भटाभट ९३६ र ९३७ जोडेर विक्रमसंवत् मा सटही गरेको मात्र देखिन्छ । यो कुरा वास्तविक इतिहासको धारले स्वीकार गरिरहेकै छैन ।

 त्यसो भए अहिले नेपालसंवत् र विक्रमसंवत् बीचको वर्ष अन्तर हेर्ने हो भने ९३६ र ९३७ नै फरक देखिन्छ त किन?  भन्ने पनि सवाल उठाउला । यो चाही वास्तवमा सटिक प्रश्न हुनेछ । वास्तवमा यस बारेमा संशोधन मण्डलले चाहीं कहिल्यै पनि साचेकै छैन । अतः अध्ययन अनुसन्धान धेरै परको कुरा हो । यो कुराको सटिक जवाफ हनूमानढोका दरवार संग्रहालयको २०७८ सालको स्मारिकामा ढोकाटोल पोचाहितिको अप्रकाशित अभिलेख शीर्षकको लेख पृष्ठ३२ — ३५ मा दिइसकेको छु । दूर्भाग्यवश उक्त स्मारिकाको प्रधान सम्पादक नै महेशराज पन्त भएको कारणले यो कुरालाई उपेक्षा गर्दै प्रकारान्तरले यो कुरा संशोधन मण्डलले अनुमोदन गरेको छैन भनेर टिप्पणीमा जनाइ दिए । यसबाट के प्रष्ट हुन्छ भने वास्तविक इतिहासको धार संग संशोधन मण्डल कहिले पनि नारिन चाहँदैन । त्यसैले संशोधन मण्डललाई वास्तविक इतिहासको धारसंग मतलव छैन र अहिले सम्म पनि मतलव राखेको पनि देखिंदैन ।


निष्कर्षः 
कतिपय अभिलेखहरुमा कलिगत , विक्रम, शक र नेपालसंवत् समेत चारवटा संवत् मिति दिइएको उदाहरण प्रशस्त पाइन्छन् । ती मध्ये केही नमूना माथि उल्लेख गरिसकेको पनि छ । त्यसमा नेपालसंवत् संग ८०२ वर्ष अन्तर देखिएका नमुना पनि देख्न सकिन्छ । त्यसरी नेपालसंवत्संग ८०२ वर्षको अन्तर देखिएको संवत् लिच्छविसंवत् हो । यही लिच्छविसंवत्लाई कालान्तरमा मानिसहरुले अज्ञानवस  शाके र शकसंवत् नामाकरण गरि दिए । त्यसरी नामाकरण गरिदिने बित्तिक्कै त्यो शकसंवत् ठहरेको भन्न मिल्दैन । किनकि शकसंवत् र नेपालसंवत् बीच हरहमेशा वर्ष अन्तर ८०० र ८०१ मात्र हुने हो । यो कुरा संशोधन मण्डलका धारले कहिल्यै पनि महसूस गर्दै गरेनन् । अझ उल्टो संसारमा कतै उल्लेख नभएको भनी हठ गर्दछन् । नेपाल मै अनगिन्ती मात्रामा अभिलेखहरुमा ८०२ वर्षको अन्तर देखापरिरहेका छन् । यसरी संसारमा कतै उल्लेख नभएको भन्नु कहाँसम्मको निर्लज्जता होला । इतिहासलाई के गर्दा न्याय हुन्छ के गर्दा हुंदैन भन्ने कुरा स्वतन्त्र विवेकशील पाठक ले निक्र्यौल गर्ने कुरा हो  । किनभने इतिहासको लागि त्यसता पाठक नै न्यायाधीस हो किनकि उनीहरुले वास्तविक इतिहासको धार कुन हो र संशोधन मण्डलले समातेको मूल धार  कुन हो भन्ने सहजै बुझ्न सक्छ । 

अभिलेख पढ्दा संशोधनमण्डलको पदचिन्ह अपनाएर सारा गलत मान्यतालाई पनि सही भनेर पछ्याएको देखिएन भन्दैमा त्यस्तो कोप भाजनको शिकार हुनु पर्ने थिएन । तथापि जुन किसिमले पुरातत्व विभाग र म माथि आगो वमन गरेको ग¥यै गरिरहनु भएको छ  । कुन दिन आफूले उकेलेको आगोको लप्काले आफ्नै संस्था संशोधन मण्डललाई नै डढाउला । बेलैमा विचार पुगोस् ।

सहयोग लिएका पुस्तक तथा जर्नलहरु 
१ .मास्के, सन्तोषमान( वि.सं २०८० ), मास्केवंश, बज्र पब्लिकेशन ईन्क प्रा.लि, काठमाडौं ।
२. वज्राचार्य,धनवज्र (वि.सं २०१९)इतिहास संशोधनको प्रमाण प्रमेय (पहिलो भाग), काठमाडौं ।
३. रामजी तेवारी, (वि.सं २०२१ ) ऐतिहासिक पत्र संग्रह (दोस्रोभाग), नेपाल साँस्कृतिक परिषद,काठमाडौं ।
४ संशोधन मण्डलको मुखपत्र पूर्णिमा अंक १ देखि ५ र अंक १०३ काठमाडौं ।
५. हनुमानढोका स्मारिका २०७८ , हनूमान ढोका दरवार संग्रहालय विकास समिति, काठमाडौं । 


.


 

शुक्रबार​ १२ साउन २०८० ०६:४५ PM मा प्रकाशित

प्रतिक्रिया