×

वायु प्रदूषणले बालबालिका तथा महिलामा स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

images

काठमाडौं, १५ वैशाख: पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ । 

सेभ द चिल्ड्रेनले गरेको एक अध्ययनअनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखापरेका छन् । जसले बालबालिकाको वृत्तिविकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयुसमेत खस्किने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । 

सेभ द चिल्ड्रेनका सञ्चार तथा मिडिया निर्देशक आयुष जोशीले नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लाहरूमध्ये काठमाडौँ र सप्तरीमा यो अध्ययन गरिएको बताउनुभयो । अध्ययनले वायु प्रदूषणको प्रभावलाई स्वास्थ्यसँग मात्र जोडेर हेर्नुभन्दा पनि बालबालिकाको समग्रहित र विकासलाई विश्लेषण गरेर बुझ्नुपर्ने आवश्यकता औँल्याएको पनि उहाँले बताउनुभयो ।  “वायु प्रदूषणका कारण विद्यालय बन्दहुँदा र बाहिर हिँड्डुल गर्न कठिनाइ हुँदा शिक्षाको अवसर गुम्नसक्ने र परिवारको जिवीकोपार्जनमा समेत असर पर्नसक्ने चिन्ता व्यक्त गरेको पायौँ । साथै प्रदूषणले बालबालिका, महिला तथा न्यूनप्रतिनिधित्व भएका समूहको जीवनलाई नै गम्भीर असर गर्ने देखिन्छ”, उहाँले भन्नुभयो । 

    उहाँले विद्यमान विकास अवधारणाले वायु प्रदूषणका हानीकारक प्रभावबारे ख्याल नगर्ने पाइएकाले विकासमा महिला, बालबालिका, तथा न्यूनप्रतिनिधित्व भएका समूहका जीवनका भोगाइलाई समेत ध्यानदिन जरूरी रहेको उहाँको भनाइ थियो । 

    प्रतिवेदनले बालबालिकाका समग्रहितको लागि मजबुत नीतिगत व्यवस्थाको आवश्यकता आँैलाएको छ भने त्यस्ता नीतिबारे जनस्तरमा सचेतना फैलाउन र पर्यावरणीय समस्याहरुको सम्बोधन गर्नुपर्नेमा जोडदिएको छ ।

शनिबार १५ बैशाख २०८१ ०८:३१ PM मा प्रकाशित

प्रतिक्रिया