×

जनतामा नयाँ आशा र भरोसा बढेकाे छ- प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने गरी सेवामा सुधार गर्ने निर्णय  गरेको छ । साथै नवनिर्वाचित प्रधानमन्त्री ‘प्रचण्ड’ ले जनतामा  आशा र भरोसा बढेको देखिएको बताएका छन् । उनले आफूहरुको अगाडि थुप्रै जटिलता र चुनौतीहरु भए पनि गएको निर्वाचनको परिणमअनुसार मन्त्रिपरिषदले समेटेको बताए ।

‘हाम्रो अगाडि, देशको अगाडि पक्कै पनि चुनौतीहरु, जटिलताहरु छन् । तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा जस्तो परिणाम देखिएको छ त्यसलाई यो मन्त्रिपरिषदले समेटेको छ । र एउटा आशा जगाएको छ । हामीले भर्खरै पहिलो बैठक सक्यौं ।’, प्रधानमन्त्री प्रचण्डले थपे, ‘सबैभन्दा पहिलो कुरा त नेपालको अर्थतन्त्रको स्थितिलाई सुधार्ने, सुशासनतर्फ गम्भीर भएर अघि बढ्ने कुरा, सार्वजनिक सेवा प्रवाहमा जनताले सास्ती पाउने कुरामा ध्यान दिएर त्यसका समाधानका निम्ति केन्द्रीत भएर अघि बढ्ने संकल्प गरेका छौं ।’

स्वतन्त्रतापूर्वक कार्य गर्न सक्छु भन्ने लागेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘केही गरौं भन्नेहरुकै टिम बनेको छ, त्यसकारण मलाई सहज लागेको छ ।’ उनले जनताले पाइरहेको सास्तीलाई कम गर्ने बारेमा पनि निर्णय भएको बताए। 

राहदानी विभाग, यातायात विभाग लगायत लामो लाइन हुने ठाउँहरूमा जनताले सास्ती भोग्न नपर्ने गरी नियन्त्रण र व्यवस्थापन गरिने उनले बताए।

'जनताले ठाउँठाउँमा पाइरहेका सास्ती र दु:खहरूलाई कम गराउनेबारे; जस्तो राहदानी, लाइसेन्स सम्बन्धी विषयमा लामालामा लाइन र पीडा देखिएका छन्। त्यस विषयमा केन्द्रित भएर समयभित्रै नियन्त्रण गर्ने र प्रधावकारी ढंगले सेवा दिनेबारे निर्णय गरेका छौं,' उनले भने।

 

सोमबार ११ पुस २०७९ ०९:०४ PM मा प्रकाशित

प्रतिक्रिया