×

अधिकारका क्षेत्रमा नेपालको प्रगति उल्लेखनीयः सत्यार्थी

images

    काठमाडौँ, १४ वैशाख: नोबल शान्ति पुरस्कार विजेता एवं भारतका सामाजिक अभियन्ता कैलाश सत्यार्थीले नेपालमा राजनीतिक परिवर्तनपछि अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभएको छ ।

    उहाँले संविधानमा अधिकारहरुलाई लिपिबद्ध गरिएपछि त्यसअनुसार जनताका अपेक्षाको सम्बोधन गर्नुपर्नेमा पनि जोड दिनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुन दुई दिनका लागि नेपाल आउनुएका सत्यार्थीले दीक्षान्त समारोहमा सम्बोधनका साथै नेपालका मानवअधिकारवादी गौरी प्रधानलगायतसँग भेटवार्ता गर्नुभएको थियो । 

    सम्बोधनका क्रममा सत्यार्थीले बाल तथा महिला अधिकार, बालश्रम अन्त्य, जोखिममा रहेका बालबालिकाको संरक्षण, निकृष्ट बालश्रमको अन्त्यका विषयमा मार्गदर्शक मन्तव्य दिनुभएको थियो । 

    अगुवा मानवअधिकारकर्मी सत्यार्थीले आफू नेपालको विसं २०४६ को जनआन्दोलनका समयमा भारतस्थित नेपाली राजदूतावासमा भएको प्रदर्शनमा ऐक्यबद्धता जनाएको स्मरण पनि गर्नुभएको थियो ।

    राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य प्रधानले सत्यार्थीसँग लामो समयदेखि सम्पर्कमा रही विश्वव्यापी मञ्चहरुमा सामाजिक रुपान्तरण र बालअधिकारका क्षेत्रमा काम गरेका नाताले उहाँका सन्देशहरु नेपालीका लागि सामयिक हुने बताउनुभयो । 

    सत्यार्थीले नेपालका जनताका अपेक्षाहरु अझै व्यवस्थितरुपमा सम्बोधन हुनुपर्ने र जनतालाई निराश तुल्याउन नहुने सुझाव दिनुभएको जानकारी दिनुभयो । सत्यार्थी बिहीबार स्वदेश फर्कनुभएको थियो ।

शुक्रबार​ १४ बैशाख २०८१ ०९:३२ PM मा प्रकाशित

प्रतिक्रिया