×

चलाखीको राजनीति अस्थायी -- प्रदेश मन्त्री लेखी

images


सप्तरी, १३ फागुन  ः मधेस प्रदेशका कानून न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखीले षडयन्त्र र चलाखीले गरिने राजनीति अस्थायी हुने बताउनु भएको छ ।

राजविराजमा आज आयोजित अनेमसंघको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश मन्त्री लेखीले चलाखीले नभई समाजलाई मार्गदर्शन गर्ने र बदल्ने हिसाबको राजनीतिक गर्नुपर्ने बताउनु भयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहनु भएका लेखीले दलहरू र नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति आमजनतामा विश्वास हराउँदै गएको बताउनु भयो । मुलुकलाई बिर्सेर आफ्नो मात्र लाभ हेर्नेहरूको देखासिखी एमालेले नगर्ने भन्नुहुँदै उहाँले एमाले सहमति तोड्ने, प्रतिबद्धता बिर्सिने, दलबदल गर्ने, केही प्राप्तिका लागि मरिहत्ते गर्ने र बाँडीचुँडी खाने पार्टी नभएको बताउनु भयो ।

संविधान सभाबाट बनेको संविधानले व्यवस्था गरेका उपलब्धीहरूको पक्षमा एमाले प्रतिवद्ध रहेको भन्नु हुँदै संविधान सभा सदस्य एवम् एमाले सप्तरीका अध्यक्ष ताराकान्त चौधरीले जनप्रतिनिधि, नेता र कार्यकर्ताहरूबीच समन्वय र समझदारी बढाएर समस्याहरू समाधान गर्दै लगिने बताउनु भयो ।
पार्टीका पुराना किसान नेता राजाराम यादवले शिक्षित र सक्षम युवा पुस्तालाई पार्टीमा जोड्नुपर्ने र नेतृत्वमा स्थापित गर्नुपर्ने तथा पार्टी नेता कार्यकर्तालाई बैचारिक खुराक दिइरहनु पर्नेतर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिर, सचिव देवनाथ यादव, जनसंगठन समन्वय संयन्त्र प्रमुख दुर्गानन्द ठाकुर, अनेमसंघकी केन्द्रीय सदस्य पार्वती राउतले ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पुर्याउने भएकाले सबैको सक्रिय सहभागितामा जोड दिनुभयो ।

 

आइतबार​ १४ फागुन २०७९ ११:१६ AM मा प्रकाशित

प्रतिक्रिया