×

सहिद परिवारकी शर्मा अब राष्ट्रियसभामा

images

गण्डकी: राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार बनेपछि पार्टीले न्याय गरेको बताउनुभएकी मनरुपा शर्माले अन्ततः राष्ट्रियसभाको यात्रा तय गर्न सफल हुनुभएको छ । बिहीबार भएको मतदानबाट महिलातर्फ सत्ता साझेदार दलका साझा उम्मेदवार उहाँले तीन हजार छ सय ६० मतभार प्राप्त गरी विजयी बन्नुभयो । 

    नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा कहिले प्रत्यक्ष त कहिले समानुपातिकतर्फ उम्मेदवार बन्दा पनि निर्वाचित हुन नसक्नुभएकी शर्मा यसपालि भने सङ्घीय संसद्को उपल्लो सदन राष्ट्रियसभामा पुग्न सफल हुनुभयो । 

विसं २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित पर्वतको कुश्मा नगरपालिका–१० की उहाँ त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परेपनि सांसद बन्न सक्नुभएको थिएन ।
 
माओवादी केन्द्रले विसं २०७० को दोस्रो संविधानसभा चुनाव, विसं २०७४ र विसं २०७९ को प्रदेशसभा चुनावमा शर्मालाई समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । संसद् प्रवेश गर्ने उहाँको १६ वर्ष अघिदेखिको सपना अहिलेको राष्ट्रियसभा निर्वाचनमा आएर बल्ल पूरा भएको छ । 

गत वर्षको चुनावमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चलेपनि पार्टीले अर्के जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो । यसअघि पटक–पटकको प्रयासका बावजुत संसदीय यात्रा तय गर्न नसकेपनि उहाँ निराश भने हुनुभएको थिएन । पार्टी र सङ्गठनको जिम्मेवारीमा सँधै सक्रिय रहँदै आएको शर्माले बताउनुभयो ।

विसं २०६० देखि पार्टी र सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल माओवादी केन्द्र पर्वतको जिल्ला संयोजक रहनुभएकी शर्मा सहिद परिवारको सदस्य हुनुहुन्छ । “आज म धेरै नै खुसी छ, जिल्ला तहका नेता, कार्यकर्ता पनि उत्साहित हुनुहुन्छ, पार्टी र आन्दोलनमा गरेको योगदानको कदर भएको महसुस भएको छ”, उहाँले भन्नुभयो, “अब राष्ट्रियसभा सदस्यका रुपमा कानुन निर्माणदेखि देश र जनताको हितका काममा क्रियाशील रहन्छु ।”

यसअघि कुनै राजकीय पदमा निर्वाचित नहुँदा पनि सँधै जनताको बीचमा बसेर सामाजिक सेवा र राजनीतिमा खटिएको उहाँले स्मरण गर्नुभयो । शर्माले एक त महिला अर्कातिर सहिद परिवारको सदस्यका हिसाबले राष्ट्रियसभामा प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो । 

“हिजो जनयुद्धका कठिन र सङ्घर्षपूर्ण दिनमा जसरी समाज रुपान्तरणको अभियानमा लागियो, अब त्यस्तै उर्जाका साथ नयाँ भूमिकामा आफूलाई उभ्याउने प्रण गरेकी छु”, उहाँले भन्नुभयो । शर्माका पति विजय सुवेदी ‘विकास’को जनयुद्धका क्रममा विसं २०६१ मङ्सिर १७ गते राज्य पक्षका सुरक्षाकर्मीबाट हत्या भएको थियो । 

सुवेदी तत्कालीन नेकपा माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील हुनुहुन्थ्यो । विजयसहित अन्य माओवादी कार्यकर्ताको स्याङ्जामा सामूहिक हत्या गरिएको शर्माले बताउनुभयो । ४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा आउनुभएको हो । उहाँ २०७४ अघि नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटिको सदस्यसमेत हुनुभएको थियो । 

गण्डकीमा तीन सिटका लागि भएको निर्वाचनमा शर्मासँगै सत्ता गठबन्धनबाटै अन्यमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गता/अल्पसङ्ख्यकतर्फ काँग्रेसकै पदमबहादुर परियार विजयी हुनुभएको हो । श्रेष्ठले तीन हजार आठ सय आठ र परियारले तीन हजार सात सय ७४ मतभार प्राप्त गर्नुभएको थियो । 

शुक्रबार​ १२ माघ २०८० ११:०९ AM मा प्रकाशित

प्रतिक्रिया