×

देउवा र प्रचण्ड बीच भइरहेको ‘वान टु वान’ वार्तामा थपिए माधव नेपाल

images

काठमाडौं । नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनमा सहमति जुट्न पेचिलो भइरहेका बेला अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।  यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भइरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दुई नेताबीच भइरहेको ‘वान टु वान’ वार्ताको क्रममा अध्यक्ष नेपाल प्रवेश गरेका हुन । तीन नेताबीच छलफलका आधारमा सहमति जुटाउन प्रयास हुने बताइएको छ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार साँझ ५ बजे सकिँदैछ । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी अध्यक्ष प्रचण्ड सहमतिका लागि थप प्रयास गर्न बालुवाटार पुगेका छन्।  

गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ । यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन ।

आइतबार​ १० पुस २०७९ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया