×

शैलुङमा सापस कविता यात्रा सम्पन्न , कालापानीमा स्रष्टा घरको शिलान्यास 

images

साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो । 

शैलुङ् सांस्कृतिक आन्तरिक पर्यटनको लागि कविता यात्रा उद्देश्य सहित २०८० पुस ४ देखि ६ गतेसम्म संघले दोलखाको पर्यटकीय केन्द्र शैलुङ् मा आयोजना गरेको ‘तीनदिने कविता यात्रा– २०८०’ पुस ६ गते शुक्रबार शैलुङ्, भैसेस्थित शारदा मा. वि. मा सम्पन्न भएको  छ । 

काठमाडौबाट गएका स्रष्टा र कलाकारहरूलाई पहिलो दिन चरिकोटमा नेपाल उद्योग वाणिज्य संघ, दोलखा र भानु- विद्यापती साहित्य प्रतिष्ठान, दोलखाले चरिकोटमा स्वागत गरेको थियो । 

सोही दिन जेष्ठ नागरिक सेवा भवन, चरणावती धाममा स्रष्टाहरूलाई विशेष स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जेष्ठ नागरिक सेवा भवन, चरणावतीका अध्यक्ष गुणबहादुर बुढाथोकी लगायतले मन्तव्य राख्नु भएको थियो । 

दोस्रो दिनको बिहान समाजसेवी एवं गीतकार शोभित उप्रेतीको पहरीखर्क, भैंसेस्थित घरमा स्वागत एवं चियापानको आयोजना गरिएको थियो भने सोही दिन शैलुङ् गाउँपालिका वडा ८ ले गाउँपालिका भवनमा विशेष स्वागत सम्मानको कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा गाउँपालिका अध्यक्ष धनबहादुर तामाङ, वरिष्ठ कलाकर मदनदास श्रेष्ठ, सापसका अध्यक्ष राधेश्याम लेकाली सहितले मन्तव्य राख्नु भएको थियो । यसअगि स्रष्टाहरूले चरणावती धामका विभिन्न धार्मिक एवं पर्यटकीय स्थानको अवलोकन गरेका थिए । 

दोस्रो दिन नै कविता यात्राका सहभागी स्रष्टाहरूले ५३४ मिटर उचाई रहेको शैलुङ्को थुम्कामा काव्य वाचन गरेका थिए । काव्य वाचन गर्ने कविहरूमा क्रमशः  कवि नरेन्द्रबहादुर श्रेष्ठ, रामप्रसाद पन्त, प्रा. डा. गोविन्दमान सिंह कार्की, सुभाषचन्द्र पौडेल भीमफेदीया, विनोद नेपाल, नन्दु उप्रेती, डा. बुनु दाहाल, नीता श्रेष्ठ, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, नरहरि प्रेमी र सापसका अध्यक्ष राधेश्याम लेकाली लगायतले आआफ्नो रचना वाचन गर्नु भएको थियो । 

सबै कविले देशको बारे लेखिएका कविता वाचन गर्नु भएको थियो । सोही दिन कलाकार रन्जना थपलियाले सोही स्थानमा नृत्य प्रस्तुत गर्नु भएको थियो ।  दोस्रो दिन स्रष्टाहरू कालापानीमा बास बसेका थिए । 

तेस्रो दिन साहित्यिक पत्रकार संघको विशेष प्रस्तावमा कालापानीमा समाजसेवी शोभित उप्रेतीले उपलब्ध गराउनु भएको ५ आना जग्गामा "स्रष्टा घर" निर्माणको लागि शिलान्यासको कार्यक्रम सम्पन  भएको थियो । सो शिलान्यासको विधिवत्  कार्य वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र अध्यक्ष राधेश्याम लेकालीले गर्नु भएको थियो भने कवि मुरारि सिग्देलले विधि पूरा गराउनु भएको थियो । सो अवसरमा वडा अध्यक्ष धनबहादुर तामाङ, निवर्तमान वडा अध्यक्ष भरतप्रसाद दुलाल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, एस. एस. फाउन्डेसन, दोलखाका संयोजक नवराज खड्का राजाबाबु, समाजसेवी रुद्र थपलियालगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो । 

सोही दिन स्रष्टाहरुलाई शैलुङ् गाउँपालिका वडा ८ ले भैंसेमा पन्चेबाजाले स्वागत गर्दै बजार परिक्रमा गराएको थियो । सो अवसरमा अतिथिहरूलाई शारदा मा. वि. का विद्यार्थीहरूले ताली बजाएर, नमस्कार अभिवादन गरेर स्रष्टाहरूको स्वागत गरेको थियो । 

कविता यात्राको अन्तिम दिन र अन्तिम कार्यक्रमको रुपमा शारदा मा. वि. को प्राङ्गणमा विशेष काव्य वाचन र सांस्कृतिक कार्यक्रमको आयोजना भएको थियो । 

शैलुङ् गाउँपालिका ८ का वडा अध्यक्ष धनबहादुर तामाङको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले शैलुङ्को महत्वबारे र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यात्राको उद्देश्य  र महत्वबारे आआफ्नो मन्तव्य राख्नु भएको थियो । 

सो अवसरमा शारदा मा. वि.मा अध्ययनरत विद्यार्थीहरू क्रमशः सुजित काफ्ले, सविना भण्डारी, मनिषा कार्की, रेखा अधिकारी र सविना थापा तथा शिक्षक शिव बुढाथोकीले शैलुङको बारे आआफ्नो कविता वाचन गर्नु भएको थियो । 

यसैगरी राजधानीबाट जानु भएका कविहरू क्रमशः कवि मुरारि सिग्देल, नरेन्द्रबहादुर श्रेष्ठ, प्रा. डा. गोविन्दमान सिंह कार्की, सुभाषचन्द्र पौडेल भीमफेदीया, विनोद नेपाल, नन्दु उप्रेती, डा. बुनु दाहाल, नीता श्रेष्ठ, प्रद्युम्न जोशी, श्रीबाबु कार्की, रुद्र अधिकारी, नरहरि प्रेमी, रितु कंडेल, राधेश्याम लेकाली लगायतले आआफ्नो कविता वाचन गर्नु भएको 
थियो । 

कार्यक्रमको दोस्रो सत्रमा प्रसिद्ध गायकहरू नवीन पौडेल, रितु कडेल र नरहरि प्रेमीले दमदार गीतहरू गाउनु भएको थियो भने नृत्यकार रन्जना थपलियाले बेजोड नृत्य प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा वाचन गरिएका कविताहरूले सामाजिक रुपान्तरण, देशको वर्तमान अवस्था, विकृति र विसंगति तथा वर्तमान राजनीतिक दुराअवस्थाबारे व्यङ्ग्य गरेका थिए भने गायकहरूले गाएका गीतहरुमा देशमा व्याप्त भ्रष्टाचार विरुद्ध सामाजिक जागरणका गीतहरु गाउनु भएको थियो । गायन भइरहँदा उपस्थित विद्यार्थी, शिक्षक र स्थानीयबासीहरूले स्वतस्फूर्त सामूहिक  नृत्य गर्नु भएको थियो ।

सोमबार ९ पुस २०८० ०६:४६ AM मा प्रकाशित

प्रतिक्रिया