×

गृहमन्त्रीको अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार- केपी शर्मा ओली

images

 काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा अरुलाई दोष लगाएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ उम्किन खाजेको आरोप लगाएका छन् । साथै  ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागेका छन् । सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन भनेर प्रश्नसमेत गरे । कम्बोडियाबाट सोमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै काँक्रा आफू खाएर बियाँ अरूका गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन् ।

‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन? विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन? यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइनः,’ उनले प्रश्न गर्दै भने, ‘अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री अनि कोटको गालामा र टारको गालामा गएर क्राँक्राको बियाँ, अर्काकै गालामा, मुखैको छेऊमा लगेर टास्ने?।’

गृहमन्त्रीको क्रियाकलाप अत्यन्तै गैरजिम्मेवार रहेको बताउँदै नेता ओलीले गृहमन्त्रीले केहि दिनअघि ‘कोट’ र ‘टार’को जहाँ भए पनि दोषी कसैलाई नछाड्नेबारे दिएको अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार भएको बताए ।  उनले आफूले बोल्दा गैर जिम्मेवार ढंगले बोल्न नहुनेतर्फ पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने, ‘म उहाँलाई सचेत गराउन चाहन्छु । गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ । बत्तमीज हुनु एउटा कुरा हो । तर यो त हद भयो । गैर जिम्मेवार भयो, अनैतिक भयो । जथाभाबी बोल्ने गृहमन्त्री भएर जथाभाबी बोल्न गृहमन्त्रीलाई छुट छ ? अर्को कोही उनको जबाफदेहिताको कुरा उठायो भने मुद्दा हाल्न जाने ? गृहमन्त्रीविरुद्ध मुद्दा हाल्ने की नहाल्ने ?’

सुरुमै पत्रिकाहरूलाई फोटो छाप्न लगाएर गम्भीर विषयलाई डाइभर्ट गरी कता मोड्न खोजेको भन्दै उनले प्रश्न पनि गरेका छन् ।

उनले भने, ‘चेम्बरको अधिवेशनमा खिचिएको व्यापारीसँगको फोटो गैर जिम्मेवार ढंगले छाप्यो । चेम्बरमा व्यापारी नभएर को किसान हुन्छ त ? त्यो फोटो छाप्छ । अत्यन्तै गैर जिम्मेवार ढंगले । यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोज्छ । ध्यान कता मोड्न खोजेको ? के छोप्न खोजेको ? आकाशमा चिल देखाएर यता के लुकाउन खोज्दै छ ? के छोप्न खोजिँदै छ ? गृहमन्त्री र नयाँ पत्रिकाहरूलाई सोध्न खोज्छु ।’

कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि त्यहाँ पुगेका ओली सोमबार राति स्वदेश फर्किएका हुन् । कम्बोडियाको सातौँ राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षण गर्न ओली यही साउन २ गते कम्बोडिया गएका थिए।

ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका दर्जनबढी नेताहरु विमानस्थलको विशिष्ठ कक्ष सम्मै पुगेका थिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले हाल एक जना यात्रुको बिदाइ वा स्वागतमा तीन जना मात्रै जान पाइने नियम लगाएको छ ।

विमानस्थलको टर्मिनल भवनबाहिर अत्यधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिको निर्णय भन्दै सुरक्षाकर्मीहरुले सर्वसाधारणहरुलाई विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटबाटै फर्काईरहेका छन् ।

विमानस्थलस्थित पास एकाईले माथीको आदेश भन्दै आफ्ना आफन्त र चिनजानका मान्छेलाई अध्यागन पार गर्न पाउँने ए, बी क्याटगोरीको पास दिदै आएका छन । तर, सर्वसाधारणले भने अन्तर्राष्ट्रियतर्फको हवाई टिकट चेकजाँच काउन्टरसम्म जान पास नपाएको गुनासो गरेका छन् ।

गत मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको करिब एक क्विन्टल सुन बुधबार भन्सार जाँच पास भएर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको पर्सिपल्ट अर्थात् गत शुक्रबार उपप्रधानमन्त्री श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको अनुगमन गर्न गएका थिए ।

त्यहाँ एक पत्रकारले भ्रष्टाचारको जालो उच्च राजनीतिक तहसम्म फैलिएको भन्दै गृहमन्त्रीको सम्भावित कदमबारे जिज्ञासा राखेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र कुनै टारको वा कुनै कोटको भए पनि नछाड्ने प्रतिक्रिया दिएका थिए ।

कम्बोडिया भ्रमणबाट फर्किएपछि ओलीले गृहमन्त्री श्रेष्ठको यही अभिव्यक्तिलाई लिएर निशाना साधेका छन् । उनले मन्त्री श्रेष्ठको त्यो अभिव्यक्ति ‘अनैतिक’ र ‘गैरजिम्मेवार’ भएको बताए ।

मङ्गलबार ९ साउन २०८० १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया