×

उद्धार गरिएका श्रमिकसँग श्रममन्त्री श्रेष्ठको छलफल

images

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकसँग आवासगृहमा पुगेर उहाँहरुले भोगेका समस्याबारे जानकारी लिनुभएको छ ।
 
काठमाडौँको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवासगृहमा पुगेर मन्त्री श्रेष्ठले आज श्रमिकसँग विदेशी भूमिमा भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गर्नुभएको हो । उहाँले विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई संरक्षण गरी स्वदेश फर्काउने विषयलाई आफूले उच्च प्राथमिकता दिएको बताउनुभयो । नेपाली श्रमिकको न्यायमा पहुँच तथा क्षतिपूर्ति सुनिश्चित गर्न रोजगारदाता, सरकारी निकाय, श्रमिक र म्यानपावर कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने उहाँको भनाइ थियो । 
 
 मलेसियामा लामो समय गैरकानुनीरुपमा बसेका, तलब भुक्तानी नपाएका, रोजगारीबाट निष्काशन गरिएका र जेलमा रहेका १० श्रमिकको उद्धार गरी नेपाल ल्याइएको थियो । मन्त्री श्रेष्ठले विदेशमा नेपाली श्रमिकले भोगेको समस्या समाधानका लागि सम्बन्धित देशको सरकारसँग कुरा गर्ने बताउनुभयो । उहाँले उद्धार गरिएका श्रमिकलाई नेपालमै स्वरोजगार बन्न र विदेश जानै परे सीप सिकेर तथा सबै प्रक्रिया बुझेर जान आग्रह गर्नुभयो । रोजगारदाता कम्पनी, कामदार पठाउने म्यानपावर कम्पनी तथा कामदार आफ्नै कारणले पनि विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।

आइतबार​ ११ बैशाख २०७९ ०९:५७ PM मा प्रकाशित

प्रतिक्रिया