×

यो गठबन्धनले लोकतन्त्र, संविधानको रक्षा गरेको छ- प्रचण्ड

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले नेतृत्वको गठबन्धनको उद्देश्य भनेको अहिलेको परिवर्तन उल्टाउने रहेको टिप्पणी गरेका छन् ।

उनले भने,‘एमालेको नेतृत्वमा बनेको गठबनधनको उद्देश्य भनेको गणतन्त्र उल्टाउने हो । उनीहरुको राजतन्त्रलाई पुनःस्थापना गर्ने उद्देश्य राखेकाहरुको गठबन्धन छ ।’ उनले जनताले परिवर्तन उल्टाउन खोज्नेहरुलाई सजाय दिने पनि बताए ।

आज (आइतबार) सत्ता गठबन्धनको सुर्खेतमा आयोजित संयुक्त भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले मंसिर ४ गतेको निर्वाचनलाई पनि परिवर्तन चाहने र नचाहनेहरुबीचको अन्तिम लडाईको रुपमा चित्रण गरेका छन् । उनले पाँच दलीय गठबन्धन लोकतन्त्र, संविधान र गणतन्त्र जोगाउन बनेको दाबी गरे ।

साथै प्रचण्ड ले विस्तृत शान्ति सम्झौताको मूल मर्म त देशमा शान्ति ल्याउनकै लागि भएको दाबी गरेका छन् । भेलालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम घडीमा देशको जिम्मेवारी आफूलाई सम्हाल्न भनेको दोहोर्‍याए ।

उनले भने, ‘विस्तृत शान्ति सम्झौताको मूल मर्म त देशमा शान्ति ल्याउने नै थियो । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लानेतर्फ उत्प्रेरित थियो । त्यो जनताको जित थियो । एउटाले हारेको अर्कोले जितेको रूपमा होइन । त्यसलाई सबै नेपालीले जितेको र १२ बुँदे समझदारीका सबै सहयात्रीहरूले जितेको रूपमा हामीले बुझेका थियौँ ।’

अहिलेसम्मको उपलब्धि रक्षा गर्नका लागि सबै एकजुट हुनुपर्ने प्रचण्डले भने । उनले भने, ‘गिरिजाप्रसाद कोइराला जो विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता पनि हुनुहुन्थ्यो । जीवनको अन्तिम घडीतिर उहाँले मलाई एक्लै बोलाएर अब यो देशको जिम्मेवार तपाईंले गर्नुपर्छ भन्नुभएको थियो । त्यो त्यतिबेलै सार्वजनिक भएको कुरा हो । उहाँले त्यो किन मलाई भन्नुभयो भन्नेकुरा सबैले हेक्का राख्नुपर्छ ।’

साथै उनले प्रतिगमन विरुद्धको विद्रोह कर्णालीबाट सुरु भएको भन्दै कर्णाली प्रदेशसभामा सदस्यहरुले खेलेको भूमिकालाई गठबन्धनले नभुल्ने बताए । साथै प्रचण्डले गठबन्धनलाई कसैले पनि हल्का रुपमा नलिन आग्रह गरे । ‘यो गठबन्धनले लोकतन्त्र, संविधानको रक्षा गरेको छ,’ उनले भने, ‘विगतदेखिनै कांग्रेस–माओवादीबीच विभिन्न साझेदारी हुँदै आन्दोलन गरिएको र सफल भएका पनि छन् ।’

आइतबार​ ६ कात्तिक २०७९ ०८:०० PM मा प्रकाशित

प्रतिक्रिया