×

केही दिनभित्रै समाजवादी मोर्चा गठन गरेर नेकपा बनाउने अभियान सुरु गर्छौ - प्रचण्ड

images

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरेर नेकपा बनाउने अभियान सुरु हुने बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एसले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठीमा बोल्दै उनले कम्युनिष्ट पार्टीहरूबीच ध्रुवीकरणमा जोड दिए । 

‘केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने छ र त्यो मोर्चाले नेकपातिर फर्कन सबैलाई अपिल गर्नेछ’, प्रचण्डले भने, ‘नेकपा केही नेताको सनकले दुर्घटना भएपनि त्यो एकतालाई पुर्नजिवित गर्न चाहान्छौ ।’

प्रधानमन्त्री समेत रहेका प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर फेरि पनि कम्युनिस्ट आन्दोलनलाई सही विचार र नीतिका आधारमा एकताबद्ध गर्ने कुरा जारी राख्नुपर्ने त्यसतर्फ काम भइरहेको समेत बताए ।

‘रुपान्तरण नयाँ आधारमा नयाँ एकता । अहिले पनि एकताकै पक्षमा धु्रविकरणकै पक्षमा छौ’, प्रचण्डले भने, ‘हामी नेकपातिर नै फर्कनुपर्छ । कम्युनिस्ट पार्टी र नेतृत्वलाई चाबी भन्ने गरिन्छ । हो पनि । नेतृत्वले नै गलत विचार अंगिकार गर्यो भने ठुलो क्षति हुन्छ । त्यो अन्तर्राष्ट्रिय र आफ्नै आँखा अगाडी पनि देख्यौ ।’

प्रचण्डले २०७४ मा आफूले नै  एकताको प्रस्ताव गरेको भन्दै राष्ट्रिय स्वाधीनता र एकता तथा जनजीविकाका साथै गणतन्त्र सुदृढ गर्न पनि कम्युनिस्टहरू एकता हुन जरुरी रहेको बताए ।

‘आज म फेरि यो अवसरमा सबै कमरेड मित्र तथा कम्युनिस्टहरुलाई अहिले पनि देशको राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताका लागि एकता जरुरी छ । आउनुस् बसौ, समीक्षा गरौँ र एकताको पहल सुरु गरौँ त्यसले मात्र हामी कम्युनिस्ट आन्दोलनप्रतिको इमानदारिता हुन्छ’, प्रचण्डले भने, ‘केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने छ र त्यो मोर्चाले नेकपातिर फर्कन सबैलाई अपिल गर्नेछ ।’ 

उनले यसअघिको नेकपा केही नेताको सनकले दुर्घटना भएपनि त्यो एकतालाई पुर्नजिवित गर्नुपर्ने बताए । उनले भने, ‘जो कम्युनिष्ट पार्टीको एकता वा जनवादी केन्द्रियताको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तको विरुद्ध छन् उनीहरू एकताको पक्षमा छैनन् । तर, हामीहरू अहिले पनि एकताकै पक्षमा छौं ।’

राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने प्रचण्डले बताए ।

उनले भने, ‘अहिले माधव कमरेड र हामीहरूसहित थुप्रै नेताहरूसँग जे छलफल भइरहेको छ । हामी भनिरहेका छौं नेकपातिरै फर्किनुपर्छ । कम्युनिष्ट पार्टीमा नेतृत्वलाई कि (चाबी) भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अंगीकार गर्‍यो भने ठूलो क्षति हुन्छ ।

आइतबार​ १० बैशाख २०८० ०३:४८ PM मा प्रकाशित

प्रतिक्रिया