×

प्रस्तर कलामा बौद्धकालीन सगरहवाको इतिहास

images


लुम्बिनी, ९ माघ :  कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्विकस्थल सगरहवामा पुस २३ गतेदेखि सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सम्पन्न भएको छ । 

    राष्ट्रियस्तरमा ख्यातिप्राप्त १५ मूर्तिकार र १५ सहयोगी मूर्तिकारले सगरहवासँग सम्बन्धित विषयमा १८ वटा मूर्ति तयार पारेका छन् । सगरहवामै आवासीय रुपमा रहेर कलाकारले ढुङ्गामा मूर्ति कुँदेर सगरहवाको ऐतिहासिक गतिविधिलाई प्रस्तरमा उतारेका हुन् । 

    कार्यशाला समापनमा राष्ट्रियसभा सदस्य बिमला घिमिरेले कपिलवस्तु खुल्ला सङ्ग्रहालयका रूपमा रहे पनि यहाँको बुद्धकालीन स्थलहरुबारे प्रचारप्रसार र विकास हुन नसकेको बताउनुभयो । 

    लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री विष्णु पन्थीले यस कार्यशालामार्फत सगरहवा पर्यटनका लागि  केन्द्रविन्दु हुने बताउनुभयो । उहाँले यस कार्यले सगरहवाको ऐतिहासिक तथा पुरातात्विक महत्व  बुझाउन र जगदीशपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा कासेढुङ्गा साबित हुने बताउनुभयो । 

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्ति कार्यशाला प्राज्ञिक, सांस्कृतिक प्र्राविधिक र ऐतिहासिक काम भएको बताउनुभयो । उहाँले सर्जकहरुले निकै मेहनतका साथ सगरहवाको ऐतिहासिक अवस्था र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गर्नुभएकोे छ भन्नुभयो । 

    कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवाको पुरातात्विक महत्व  तथा ऐतिहासिक कुरा उजागर गर्न र यहाँको पर्यटन प्रवद्र्धन गर्न  जनतासँग मिलेर पहिलोपटक नयाँ ढाँचामा काम गरिएको बताउनुभयो । उहाँले मूर्ति कार्यशालाबाट तयार भएका मूर्तिहरुलाई दिगो संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदायबीच एकता र सहकार्य आवश्यक छ भन्नुभयोे । 

    कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले कार्यशाला गरेर कोषले यहाँको विकास सुरुआत गरेको बताउनुभयो । उहाँले अब कपिलवस्तुका बुद्धसम्बन्धी विभिन्न स्थलको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । 

मङ्गलबार ९ माघ २०८० ०६:०३ PM मा प्रकाशित

प्रतिक्रिया