×

माओवादीले ५ बुँदे सर्कुलर पठाउदै, बोलायो केन्द्रीय समितिको बैठक

images

काठमाडौं ।  माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय सदस्यहरुलाई बिहीबार पठाइएको सर्कुलरअनुसार २३ असारमा प्रज्ञा भवन, कमलादीमा बैठक बस्ने छ । 

पार्टीले केन्द्रीय समितिको बैठकअघि मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको छ । बिहीबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त हस्ताक्षर रहेको सर्कुलर केन्द्रीय कार्यालयमार्फत मातहतका कमिटीमा पठाइएको हो । 

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यही असार २३ गते ११ बजे प्रज्ञा भवन कमलादीमा बोलाइएको छ ।  केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिका सदस्यहरू, तीनवटै आयोगका सदस्यहरू र सबै प्रदेश समितिका पदाधिकारीहरू सहभागी हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

माओवादीका एक नेताका अनुसार पाँच बुँदे सर्कुलरमा २ महिने अभियानको समग्र समीक्षा सहितको लिखित प्रतिवेदन असार १५ गतेभित्र सबै प्रदेशहरूले अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ । 

यस्तै तीन तहमा सम्पन्न निर्वाचनमा भएका घातअन्तरघात र कमीकमजोरीहरू भए त्यसको समेत लिखित प्रतिवेदन पनि माग गरिएको छ । त्यस्तो प्रतिवेदन असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाइसक्नु पर्ने सर्कुलरमा उल्लेख छ । 

बिहीबार ७ असार २०८० ०१:५४ PM मा प्रकाशित

प्रतिक्रिया