×

बाटो अवरुद्ध हुँदाहिल्दुम गाउँका विद्यार्थी विद्यालय आवतजावतमा समस्या

images


सिमकोट (हुम्ला), ९ चैत : सिमकोट गाउँपालिका–४ मा रहेको हिल्दुम गाउँ र वडा नं ५ को बीचमा सडक निर्माणका कारण बाटो बन्द हुँदा विद्यालय जाने विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ । 

खोला नजिकको बाटो माथिबाट डोजरले सडक निर्माण गर्दा हिल्दुम गाउँका विद्यार्थी हिँड्ने बाटो पुरिएको हो । गाउँबाट सदरमुकाम सिमकोटमा पढ्न आउने विद्यार्थी समस्यामा परेको स्थानीय छक्कबहादुर शाहीले बताउनुभयो । गाउँमा कक्षा पाँचसम्म मात्रै पढाइ हुने भएकाले कक्षा ६ देखि पढ्न सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।
     
गाउँबाट १५ जना विद्यार्थी पढ्नका लागि सदरमुकामको बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालय जाने गर्छन् । पुरानो बाटो पुरिँदा विद्यालय पुग्न कठिन भएको विद्यार्थी मेग्या कामीले गुनासो गर्नुभयो । बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने बरगाउँ र माथिल्लो ठेहेका  गाउँका नागरीकलाई समेत समस्या भएको छ । 

शुक्रबार​ ९ चैत २०८० ०४:१२ PM मा प्रकाशित

प्रतिक्रिया