×

नेपाल विधार्थी संघमा राजेन्द्र चटौतको  नेतृत्वमा समानान्तर कमिटिको तयारी 

images

काठमाडौं- नेपाली कांग्रेसको भातृ संस्था नेपाल विधार्थी संघले विधानमा ३२ बर्ष उमेर हद लगाएपछि आज सम्म पटक पटक नेविसंघ नेतृत्व विहिन बनेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चात नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले २०७८ चैत्र ९ गते नेविसघंको अध्यक्षमा दुजाङ शेर्पालाई र तरुण दलको  अध्यक्षमा विद्धान गुरुङलाइ चयन गरेका थिए ।

नेतृत्व पाएको १२ महिनासम्म पनि कार्यसमितीले पुर्णता पाउन सकेको छैन । दुवै अध्यक्षलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महीनाभित्र केन्द्रीय अधिवेशन गर्न समय दिइएको थियो। 

निर्वाचन आयोगले २८ मंसिर, २०७९ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

यसरी अन्तिम तीन महिना वितिसक्दा स्ववियु निर्वाचनका कारण नेपाली कांग्रेसले मौनता साधेर कुनै निर्णय गरेको थिएन । अवधि सकिएपनि अध्यक्षको एकल नेतृत्वमा रहेको नेविसंघवाट चिठी वितरण गरी मनोनित गर्ने कार्य भने रोकिएको छैन।  

अध्यक्ष शेर्पा माथि नेपाली कांग्रेसको नर्सरीका रुपमा रहेको नेपाल विधार्थी संघले नेपाली कांग्रेस पार्टिले दिएको म्यान्डेट भन्दा बाहिर गएर मनोमानी ढंगले कम्युनिष्ट शैलीमा जिल्ला जिल्लामा गुटको खेती गरेको, नेविसंघ जिल्ला समितिहरुको नेतृत्व बिक्रि गरेको, आफ्नो म्याद सकिदै गर्दा समेत संगठन कब्जा गरेर लेटर प्याड र छाप दुरुपयोग गरेको, स्ववियु निर्वाचनमा निर्मम रुपले संगठनभित्रका योग्य साथीहरुको राजनैतिक हत्याको षडयन्त्र गरेको, विभिन्न बहानामा तिन तिहको निर्वाचन र स्ववियु निर्वाचनमा चन्दा आतंक गरेको, नेविसंघको ऐतिहासिक गरिमा बिर्सिएर गैरराजनीतिक सहकार्य गर्न आम कार्यकर्तालाई बाध्य पारेको लगायतका तमाम आरोपहरु लगाउदै नेविसंघ बृहत संघर्ष समिति ले नेविसंघको अनामनगर स्थित केन्दीय कार्यालय तालाबन्दी गरेको हप्ता दिन भैसकेको छ र नेपाली कांग्रेस काठमाडौँ कार्यालय समेत नेविसंघकै विवादका कारण तालाबन्दी गरिएको छ । केही समय अघि नेपाली कांग्रेस दोलखाका सभापति र मकवानपुरका नेपाली कांग्रेस पार्टी सभापतिले दुजांग शेर्पाको कामप्रति असन्तुष्टि सार्वजनिक रुपमै गरेका थिए । 

यसै सन्दर्भमा नेविसंघ प्राविधिक विधार्थी परिषदको कार्यवहाक सभापति रहेका राजेन्द्र चटौत र उनको समुहले आज सामाजिक संजाल मार्फत  राष्ट्रियता, लोकतन्त्र,  समाजवाद र विधार्थी एकता रक्षार्थ "बृहत्तर विधार्थी भेला मार्फत नेविसंघको केन्द्रिय नेतृत्व चयन कार्यक्रम" को निमन्त्रणा व्यानर सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकामा जन्मिएका राजेन्द्र चटौत आफु भने  आरजु देउवाले २०७४ मा निर्वाचनमा सहभागी भएको र हाल उनकै भतिजा प्रकाश देउवा निर्वाचित भएको कैलाली निर्वाचन क्षेत्र ५ का स्थायी बासिन्दा हुन् । यद्दपी कार्यक्रमको स्थान र समय भने खुलाईएको छैन । नेता राजेन्द्र चटौतका अनुसार देश भरिका साथिहरुको सहभागीता सुनिश्चित गर्न तयारी चलिरहेकाले यथाशिघ्र कार्यक्रमको स्थान र समय तय गरिने भएको छ।  

 

बुधबार ८ चैत २०७९ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया