×

राष्ट्रपति निर्वाचन : ‘नेपाललाई गरेको प्रस्ताव एमालेको नयाँ ढोक्सो’

images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपतिका लागि माधवकुमार नेपाललाई प्रस्ताव गरेको भन्ने विषयलाई नेकपा (एकीकृत समाजवादी)ले एमालेको नयाँ ‘ढोक्सो’को संज्ञा दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समाजवादी पार्टीका अध्यक्ष मावधकुमार नेपालको छलफल नभएको जिकिर गर्दै एकीकृत समाजवादीले सत्ता साझेदार र प्रतिपक्षी दलसमेत मिलेर एमालेलाई राष्ट्रपति नदिने भएपछि ओलीले नयाँ ‘ढोक्सो’ थापेको टिप्पणी सुरु भएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने– ‘केपी ओलीले भनेको व्यक्ति राष्ट्रपति नहुने भएपछि उनी आफैंले थापेको नयाँ ढोक्सो हो । ओलीले खटपटी चलेपछि केही नभेटेर प्रचार गरेका मात्रै हुन् । माधव नेपाललाई ओलीले राष्ट्रपतिको प्रस्ताव गर्नुहुन्छ भन्ने मैले एक प्रतिशत पनि विश्वास गर्न सक्दिनँ ।’

ओलीले साच्चै प्रस्ताव गरेको भए अध्यक्ष नेपालले पार्टीको बैठकमा छलफल गराउनुपर्ने जिकिर गर्दै उनले एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भएको भनिएको छलफल हल्ला मात्रै भएको दावी गरे ।

नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको प्रस्ताव गरेको विषयमा खतिवडाले एमालेले एकीकृत समाजवादीलाई पार्टी नै स्वीकार नगरेको भन्दै एमालेले पार्टी एकताको प्रस्ताव नगरेको दाबीसमेत गरे ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा संसद्मा सहभागी राजनीतिक दलहरूलाई उम्मेदवार व्यवस्थापन र अन्तरदलीय सहकार्यको चटारोले छोपेको छ ।  नेपाल समाचारपत्र दैनिकबाट

बुधबार १० फागुन २०७९ ०८:४६ AM मा प्रकाशित

प्रतिक्रिया