×

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । दुई नेताबीच बालुवाटारमा छलफल भइरहेको हो । दलहरुको बीच राष्ट्रपतिको विषयमा आन्तरिक छलफल भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अ‍ोलीबीच आज भइरहेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

अध्यक्ष अ‍ोलीले पूर्व सहमति अनुसार एमालेले अध्यक्ष पाउनुपर्ने भन्दै आएका छन् भने प्रधानमन्त्री प्रचण्ड सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक भइसकेको छ । तर, सत्तागठबन्धनमा राष्ट्रपतिको उम्मेदवारबारे खासगरी माओवादी र एमालेबीच सहमति हुन सकेको छैन ।

एमालेको साथ लिएर पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डलाई पुस २६ गते नेपाली कांग्रेसले पनि संसदमा विश्वासको मत दिएको थियो। त्यसयता सत्तारूढ दुई दलका नेताबीच घन्टौं छलफल भए पनि विश्वासको वातावरण बन्न सकेको छैन। राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस समेत छ ।

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन आग्रह गर्दै लोसपाका नेताहरुले आज कांग्रेस सभापति देउवासँग छलफलसमेत गरेका छन् ।

पुस १० मा एमालेलाई राष्ट्रपति दिने सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, प्रचण्डले अहिले राष्ट्रपतिमा १२ बुँदे पक्षधर एकठाउँमा उभिनुपर्ने भन्दै राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । यसमा एमाले सशंकित छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते निर्वाचन हुँदैछ । राष्ट्रपति चयनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ।

बुधबार १० फागुन २०७९ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया