×

गोप्यरूपमा बन्द  कोठाभित्र गरिने आलोपालोको लेनदेन पार्टीले मान्दैन- महामन्त्री गगन थापा

images

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेतामा पराजित भएका महामन्त्री गगन थापाले आगामी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द  कोठाभित्र हुने सहमति नमान्ने बताएका छन् । पार्टीको जानकारीबेगर आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरिएको खण्डमा पार्टीले त्यसको स्वामित्व नलिने उनको भनाइ छ । उनले आगामी सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पारे । उनले पार्टीमा संस्थागत रुपमा छलफल नगरी राष्ट्रपति पद तथा प्रधानमन्त्रीमा आलोपालोबारे निर्णय नगर्न सचेत गराए ।

‘कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने सन्दर्भमा आलोपालो गर्ने भनेर कुनै समझदारी गर्छ भने संस्थागत रुपमा भएको छ भने कांग्रेसले बोक्छ,’ उनले भने, ‘होइन योभन्दा अगाडिका समयहरुमा जस्ता आलोपालो गर्ने बन्द कोठामा नेताहरु बसेर गर्नुहुन्छ भने त्यसलाई नेपाली कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भन्न पाउनु हुन्न ।’‘संसदीय दलको नेताले नै निर्णय गर्ने हो, तर दलको नेताले प्रस्ताव गर्नुहुन्छ, संसदीय दलमा छलफल हुन्छ, पार्टीको सम्बन्धित कमिटीमा छलफल हुन्छ ।’

राष्ट्रपति पदका सन्दर्भमा पनि खुला र पारदर्शी छलफल गरेर मात्र निर्णय गर्नुपर्ने उनले  बताए । उनले भनेका छन्, ‘चाहे आलोपालो होस्, चाहे राष्ट्रपतिका सन्दर्भमा होस्, कांग्रेसको कुनै पनि निर्णय पारदर्शी भएन, सम्बन्धित कमिटीमा छलफल भएन भने व्यक्तिगत निर्णयका रुपमा दर्ज हुन्छ ।’

आगामी सरकारमा तपाईं सहभागी हुने कि नहुने भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘म संसदीय दलकै नेतृत्व परिवर्तन हुनुपर्छ भनेर लागेको हुँ । अरुको नेतृत्वमा सरकारमा जाने प्रश्न आउँदैन । म आउँदो संसदीय दलको चुनावका लागि नै तयारी गर्छु कांग्रेस संसदीय दलको नेतामा सभापति  देउवासँग पराजित भएपछि महामन्त्री थापाले निर्वाचन परिणामलाई अनपेक्षित भनेका छन् ।

तैपनि उनी आफू निरन्तर कांग्रेस र नेतृत्व रुपान्तरणको पक्षमा रहने बताएका छन् । उनले धेरै सांसद साथीहरूले साथ दिने अपेक्षा गरेपनि दलको निर्वाचनमा साथ नदिएको भन्दै अपेक्षाकृत नतिजा नआएको बताएका हुन् ।

बुधबार भएको निर्वाचनमा देउवाले ६४ मत ल्याएर निर्वाचित हुँदा थापाले २५ मत पाएका थिए ।  उनले सांसदहरुले विवेक र आफ्नो मत प्रयोग गर्ने कुरा भन्दै आफ्नो उम्मेदवारी रुपान्तरणकै निम्ति र कांग्रेसभिन्न ढंगले चल्नुपर्छ भन्ने मान्यताअनुसार रहेको बताए ।

 

बुधबार ६ पुस २०७९ १२:१२ PM मा प्रकाशित

प्रतिक्रिया