×

पूर्वमाओवादीहरु एकै ठाउँमा आएर समाजवादको क्रान्तिलाई नयाँ ढङ्गबाट अघि बढाउने माहोल बनिरहेको छः प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व माओवादीहरु फेरि एक हुने माहोल बनिरहेको बताएका छन् ।

१४औँ बेपत्ता राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा आज बेपत्ता योद्धा परिवार समाज नेपालले आयोजना गरेको ‘बेपत्ता योद्धाको सपना सार्वजनिकीकरण र शान्ति प्रक्रिया’ विषयक अन्तक्र्रियामा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले अहिलेको अवस्थामा क्रान्तिकारीहरुको एकता आवश्यकता रहेको बताएका हुन् ।

‘पूर्वमाओवादीधारका सबै शक्तिहरु एकै ठाउँमा आएर समाजवादको क्रान्तिलाई नयाँ ढङ्गबाट अघि बढाउने माहोल बनिरहेको छ । क्रान्तिकारीहरुको एकता आवश्यक छ,’– उनले भने । 

साथै प्रधानमन्त्री दाहालले संसद्मा विचाराधीन सत्य तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी आयोगसँग सम्बन्धित विधेयकमाथि दफावार छलफल गरेर बेपत्ता, सहिद, घाइते योद्धाका परिवारलाई सम्मान र सुविधा दिने गरी विधेयक पारित गरिने विश्वास व्यक्त गरे ।

 उनले विधेयक छिट्टै पारित भएपछि अबको दुई वर्षभित्र सङ्क्रमणकालीन न्यायलाई टुंगोमा लाने गरी काम अघि बढाइने पनि बताए। प्रधानमन्त्री दाहालले भने, ‘यस प्रक्रियालाई टुंगोमा लाने विषयमा सत्ता गठबन्धनमा राम्रो छलफल चलिरहेको छ ।

यसमा नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत दलको साथ र प्रतिबद्धता आएकै छ । त्यसकारण अब तपाईँहरूका मागको सम्बोधन हुनेमा म विश्वास दिलाउनु चाहन्छ ।’

 

आइतबार​ ७ जेठ २०८० ०८:३४ PM मा प्रकाशित

प्रतिक्रिया