×

पुस १० गतेको सहमति उल्लंघन भए सत्तागठबन्धन भत्कन सक्ने

images

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति जुटाउन र सोवारे अन्तिम निर्णय गर्ने अधिकारी प्रधानमन्त्री एवं पार्टी अध्यक्षा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै गर्ने निष्कर्ष निकाल्दै सोवारे निर्णय गर्ने सम्पूर्ण अधिकारी प्रचण्डलाई दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सहमतिमै राष्ट्रपतिको चयन गर्ने निष्कर्ष बैठकको रहेको बताउँदै भने, ‘हामी हाम्रो पार्टीको स्वार्थमा केन्द्रित रहेर आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय भएको छ । हाम्रो स्वार्थ भन्नाले गणतन्त्रप्रति प्रतिबद्ध, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउने हो ।’

माओवादी केन्द्रका महासचिव देव गुरुङले संविधानमै दलको उम्मेदवार राष्ट्रपति बन्न पाउने व्यवस्था नभएको बताए । माओवादी केन्द, नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहित सत्तारूढ दलबीच सरकार गठनअघि १० पुसमा भएको सहमति मान्नैपर्ने भन्ने बाध्यकारी नभएको गुरुङले बताए ।

एमाले र माओवादी केन्द्रसहित सत्तारूढ दलबीचमा १० पुसमा उपराष्ट्रपति र प्रधानमन्त्री माओवादी केन्द्रले र राष्ट्रपति, सभामुख एमालेले लिने सहमति भएको थियो । तर, सो सहमतिविपरीत माओवादी केन्द्रले निर्णय गरेपछि सत्तारूढ गठबन्धन नै फुट्ने खतरा बढेको हो ।

माओवादी केन्द्रका सचिव गणेश साहले १० पुसमा कुनै लिखित सहमति नभएको जिकिर गरे ।

यसैबीच राष्ट्रपति राष्ट्रिय सहमतिमै गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । सिंहदरबारमा भएको छलफलमा राष्ट्रपति राष्ट्रिय सहमतिमै गर्ने निष्कर्ष दुई नेताको रहेको छ । राजधानी दैनिकबाट

मङ्गलबार ९ फागुन २०७९ ०८:५१ AM मा प्रकाशित

प्रतिक्रिया