×

संसदीय दल नेताका लागि देउवाविरुद्ध गगनले उम्मेदवारी दिने

images

 काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा संसदीय दल नेताका लागि उम्मेदवार हुने समझदारी बनेको छ। आज लौनचौरस्थित एम्बास्डर होटलमा भएको संस्थापनइतर समूहको भेलाले नेता शेखर कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दल नेता उठ्ने समझदारी बनेको हो।  

आज बसेको गुट बैठकमा कोइरालाले त्यस्तो संकेत गरेका हुन् । यद्यपि, अन्तिम निस्कर्षमा पुग्न बाँकी छ । संसदीय दल निर्वाचनअघि दुवै नेता निर्णायक छलफलमा बस्ने भएका छन् । आज बिहान पनि शेखर र गगन छुट्टै वैठक बसेका थिए ।

संस्थापनइतर समूहबाट नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेपछि एक जना मात्रै उम्मेदवार उठाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए। थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए ।

निर्वाचन लगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । तर कोइरालाले पनि दलको नेताको आकांक्षा देखाउँदै आफूलाई सघाउन थापालाई आग्रह गरेपछि उनीहरुबीच समझदारी जुट्न सकेको थिएन । 

अब सिंहदरबारनजिकै बसेरा होटलमा नेता कोइराला र महामन्त्री थापा उपस्थित भएर नवनिर्वाचित सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम छ। त्यसअघि कोइराला र थापाबीच वान टु वान कुराकानी पनि हुनेछ। यसअघि शेखरले पनि संसदीय दलको नेतामा आफू उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएका थिए । तर, इतर पक्षको छलफलका क्रममा शेखर पछि हट्न तयार भएका हुन् । 

यस्तै संस्थापन पक्षबाट भने देउवा उम्मेदवार हुने भएका छन् । आजै संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन अनुसार मनोनयन दर्ता हुँदैछ । संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा संसदीय दल नेताका लागि उम्मेदवार हुने पक्का छ। अब संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ।

निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने हुन्छ। मनोनयन दर्ताका लागि कांग्रेसले ५१ हजार शुल्क तोकेको छ।

मङ्गलबार ५ पुस २०७९ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया