×

चाडपर्वमय बन्दै मिथिला

images


महोत्तरी, ३ कात्तिक : दशहारा (बडादसैँ)को नवरात्र जारी छ । दिवाली (तिहार) र छठपर्व दशहारालगत्तै नजिकिँदैछन् । यी सांस्कृतिक र पारम्परिक चाडबाडको तयारीले मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीमा उमङ्ग छाएको छ । चाडपर्वको रमझम र तयारीले  मिथिला क्षेत्र अहिले उमङ्गित छ ।

वर्षमा दुईवटा नवरात्र (दसैँ)मनाइने मैथिल परम्परा छ । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मलाई शारदीय नवरात्र र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मलाई वासन्ती नवरात्र भनिन्छ । दुवै नवरात्रमा देवी पूजन विधि समान भए पनि यहाँ शारदीय नवरात्र नै उल्लासका साथ मनाइँदै आइएको छ । शारदीय नवरात्रलाई मैथिल बोलीचालीमा दशहारा भनिन्छ ।

दशहारा पर्वमा जताततै देवी भजनका मङ्गलधुन गुन्जिरहेका छन् । बस्तीबस्तीमा देवी महिमाका भजन गाइने गरिएको छ । असोज शुक्लपक्ष सुरु भएसँगै देवी शक्तिपीठ, मन्दिर र प्रतिमास्थलमा दर्शनार्थी भक्तजनको लाम छ । देवी शक्तिपीठ र मन्दिरमात्र नभएर अहिले बस्तीबस्तीमा निर्मित देवी प्रतिमास्थलमा भक्तजनको घुइँचो छ । ठाउँ–ठाउँमा दुर्गा मेला आयोजन गरिएका छन् ।

पर्व लागेसँगै घर सिङ्गार्ने चटारो छ । पर्वका लागि सरसामानको जोहोमा सबै व्यस्त देखिन्छन् । सर्वसाधारण किसान भने खेतीपातीको चाँजो मिलाउँदैछन् । कतिका खेतमा धान पहेँलै भएर पाकेका छन् । तरकारी बालीको नियमित रेखदेख र पालोमा (सातामा दुईपटक टिप्ने र बजार लाने) बजार पु¥याउनुपर्ने अनिवार्य छ । किसानहरु खेतीपातीको व्यस्तताबीच पर्वको तयारीमा लागेका छन् ।

“चाडपर्वले छोपेका छन् । काम भ्याइनभ्याई छन्”, आजै भाण्टा टिप्ने पालोमा एकाबिहानै तरकारी बारीमा भेटिनुभएका किसान बलदेव महतोले भन्नुभयो, “दशहारा पर्वको मेसो पनि यिनै फसल बेचेर त मिलाउने हो नि !” पर्वका सरसामानको जोहो मिलाउन पनि भाण्टा टिप्न र मुला उखेलेर बजार पु¥याउनै पर्ने महतोको भनाइ थियो ।

असोज पूर्णिमासँगै दसैँ सकिनासाथ अर्को मुख्य चाड तिहारको पक्ष प्रारम्भ हुने र त्यसलगत्तै छठपर्व पर्ने भएकाले सम्पूर्ण मिथिला अहिले पर्वको तयारीमा देखिन्छ । खेतीपातीदेखि सबै व्यावसायिक काम पनि अहिले पर्वकेन्द्रित बनेका छन् ।

दसैँ, तिहार र छठपर्वमा कतिपय कृषिउपज विधिमै उपयोग गरिने परम्पराले किसान अहिलेदेखि नै त्यसको तारतम्य मिलाउन लागिपरेका छन् । खासगरी छठमा उखुका लाँक्रा, अदुवा, बेसारका गानो र पातसहितका बोट, ज्यामिर र अन्य कन्दमूल पूजा सामग्री नै हुन्छन् । छठताका यिनको माग र बिक्री राम्रो हुने भएपछि थोरै करेसाबारी हुनेका उत्पादनले पनि बजार पाउँछन् ।
 
दशहारामा यहाँका बस्तीबस्तीमा पिङ हाल्ने काममा किशोर र युवा जुटेका छन् । बस्ती–बस्तीमा सडक, ढल सरसफाइमा बस्तीका बासिन्दा आफैँ जुटेका छन् । जताततै पर्वले मिथिला उमङ्गित देखिएको छ ।

शुक्रबार​ ३ कात्तिक २०८० ०१:५६ PM मा प्रकाशित

प्रतिक्रिया