×

यस्तो विसंगति देख्दादेख्दै टुलुटुलु हेर्नु परेको छ

images

जसलाई इतिहासको सामान्य भेउ थाहा छैन । उही नेपालको महान इतिहासकार कहलिने भनेपछि के लाग्छ । जसलाई संवत्को सामान्य अन्तर पनि थाहा छैन । उही नेपालको महान गणक कहलिनु पर्ने भएपछि के लाग्छ । जसलाई पूर्णिमान्त र अमान्तमानको प्रचलन कहिले थियो ? हेक्का छैन र संसारमा ३९० दिन भएको वर्ष छ भन्ने सिद्धान्तको आविस्कार भएको छैन, तैपनि ३९० दिन भएको अवधारणाल्याई दिउँसै सफेद झूठपूर्ण गणना गर्ने व्यक्ति महान ज्योतिषाचार्य कहलिनु पर्ने भनेपछि के लाग्छ । यो अन्त कुनै देशमा पाइन्न केवल नेपालमा मात्रै देखिने गरेको छ । 

अझ उही व्यक्तिलाई देवत्वकरण गर्दै कसैले त आकाशका शुक्र, तारा भनेर प्रशंसा गर्न भ्याए । विश्व ब्रह्माण्डमा जति पनि महान महान वैज्ञानिकहरू जन्मे आइज्याक न्यूटन, आर्किमिडिज, ग्यालिलियो, यूरोपमा बीजगणित आविष्कार गर्ने वैज्ञानिकहरू हल र नाइट जस्ता गणितज्ञ, पूर्वीय दर्शनका गणितज्ञ आर्यभट, भास्कराचार्यको कोटिमा राख्न लायक, अझ उनीहरूले आविष्कार गर्नुभन्दा अघि पत्ता लगाएका विद्वान अविभावक भनेर प्रशंसा गर्दा गर्दै देशको राष्ट्रिय विभूति भनेर समेत प्रशंसा गर्न थाली सके । योभन्दा अरु  विडम्वना के होला ? हेर्दै गएको खण्डमा उनलाई भगवान शिव र भगवान नारायणको नयाँ मानव अवतार भन्न पनि नभ्याउला भन्न सकिन्न । 

यो भन्दै गर्दा कतिले बुझी सकेको होला यो कसलाई भनेको हो भनेर ? हो यदि उहाँहरूले यो पं नयराज पन्तलाई लक्ष्य गरेर भनेको हो भनी अनुमान गरेको भए सयमा सय नै त्यो अनुमान ठीक गरेको हो भन्न सकिन्छ ।

कसैले यो ईष्र्याभाव भन्ला जीवित व्यक्ति भए पो इष्र्याभाव भन्ने, कीर्ति शेष भइसकेको व्यक्तिको इष्र्या गर्दा के फाइदा ? इष्र्याले उनीहरू गएको ठाउँमा जान कसैको रहर हुँदैन ? अतः विषयगतमा आउंदा बितेको कुरा बित्योबित्यो । तर, उहाँले लेखेर छोडेर गएको पुस्तक हिजो पनि पढियो । आज पनि पढ्दैछ, पढाईंदैछ र भोलि पनि पढाउँला । हिजो पढियो र आज पनि पढ्दै गर्दा जे गरियो गरियो, त्यो सच्चिने कुरो भएन । भोलिको लागि काम लाग्दैन भन्न खोजेको मात्र हो । इतिहासको मूल रहस्य पनि यही कि विगतमा भएको कुनै पनि त्रुटि अव दोहराउन नदिनु र विगतमा भएको सही कदम भए अझ अगाडि बढाउँदैन लानु हो । इतिहासका विद्यार्थीले यति पनि बुझन खोज्दैन भने इतिहास पढेको कुनै काम छैन । हो यही विषयलाई लिएर थप प्रष्ट पार्न यो लेख तयार गरिएको हो ।

इतिहासको सामान्य भेउ

नेपालको इतिहास लेख पढ गर्ने हरेकले नेपालसंवतको नाम दिनको सयौं पटक बोलिरहेका हुन्छन् र त्यतिमात्र होइन मनमस्तिष्कमा हरेक पलपलमा आइरहेको हुन्छ । तर, उनीहरूलाई नेपालसंवत् कहिले उठेको थियो थाहा नहुनु भनेको साँच्चै आश्चर्यको कुरो हो । यदि थाहा भएको भए  यस्तो कदापि लेख्ने थिएन । जस्तैः

विक्रमसंवत्को प्रारम्भ वैशाखमा हुने र नेपालसंवत्को प्रारम्भ कार्तिकमा हुनेभएकोले वास्तवमा वि.सं ९३७ कार्तिकमा नेपालसंवत् प्रारम्भ भएको हो । यस कारण वि.सं ९३७को वैशाखमा नेपालसंवत् ० हुन्छ । यहाँ गणित  गर्न सजिलोको लागि सर्वत्र वि.सं ९३७ मा नेपालसंवत्को प्रारम्भ भएको हो भनी लेखिएको छ ।
(लिच्छवि संवत्को निर्णय पृष्ठ १३६) 

वि.सं. ९३७ वैशाखसम्म त नेपालसंवत् शून्य (०) हुन्छ भन्ने व्यक्तिलाई नेपालसंवत् वि.सं. ९३६ कार्तिकमा नै शुरु भइसकेको हो भन्ने कुरा विल्कूल थाहा नभएको प्रष्ट रुपले देखिन्छ । स्वदेश होस् या विदेशका हरेक व्यक्ति जसलाई नेपालको इतिहासमा रुची छ । उनीहरू सारालाई थाहा छ कि नेपालसंवत् ९३६ कार्तिक शुक्ल प्रतिपदा कै दिनमा शुरु भइसकेको हो । वि.सं ९३७ वैशाखमा त नेपालसंवत् शुरु भइसकेर ६ महिना नै बितीसकेको हुंदा पनि नेपालसंवत् चलेकै छैन त्यतिवेलासम्म पनि शून्य नेपालसंवत् हुन्छ भन्नेहरुले इतिहासको सामान्य भेउ पनि थाहा भएको भन्न मिलेन । यस्तो इतिहासको सामान्य भेउ पनि थाहा नभएको व्यक्तिलाई महान इतिहासकार भन्न मिल्ने कुरै भएन । तथापि यति इतिहासको सामान्य भेउ पनि थाहा नभएको व्यक्तिले लेखेको पुस्तक लिच्छविसंवत्को निर्णय पनि काम लाग्दैन भन्न सकिन्छ र त्यस पुस्तकको लेखक पं नयराज पन्तलाई पनि इतिहासकार मान्न अलि संकोच नै मान्नुपर्ने हुन्छ ।  
 

संवतको सामान्य अन्तर

वि.सं २०२१ वैशाखदेखि प्रकाशित हुन थालेको इतिहास प्रधान त्रैमासिक पूर्णिमा पत्रिकाबारे इतिहास जगतका सारा पाठकहरुलाई ज्ञात भएकै कुरा हो । त्यतिमात्र होइन यो त्रैमासिक पत्रिका संशोधन मण्डलका मुखपत्र पनि हो भनेर ज्ञात भएकै छ । साथै यस संशोधन मण्डलको मुख्य संस्थापक नै पं नयराज पन्त भन्ने पनि सारालाई थाहा छ । पूर्णिमा पत्रिका पल्टाएर हेर्ने हो भने त्यसमा पं नयराज पन्तको लेखमा क्यालकुलेटर मै नअट्ने गुणन अंक भागाहार अंक को हिसाव दिइएको देखिन्छ । त्यो हिसाव देखेर छक्कपर्नेहरूले संसारमा जन्मेका अनेकौं वैज्ञानिकहरूभन्दा उनी कम छैन भनी ठानेर गणितमा वैज्ञानिकहरूभन्दा सर्वश्रेष्ठ अविभावक भनेर तारिफ गर्दै आएका छन् । वास्तवमा त्यो त उहाँको देखाउने दाँत मात्र रहेछ भन्ने आशंका देखा पर्न आएको छ । किनकि नेपालसंवत् १ भनेको शक ८०१ को कार्तिकदेखि शक ८०२ को आश्विनसम्म रहने भएकोले नेपालसंवत्मा ८०० र ८०१ जोडेपछि शकसंवत् आउँछ भन्ने सामान्य अन्तर हिसावसम्म पनि उहाँलाई थाहा रहेन छ । यदि यो कुरा थाहा भएको भए पूर्णिमा अंकहरुमा यसरी दिइँदैनथ्यो । जस्तैः

पूर्णिमा अंक १ वर्ष १ २०२१ वैशाखमा
 नेसं.४३४ वैशाख कृष्ण अष्टमीको पाटन क्वाछेंको अभिलेख 
नेसं. ४३८ फाल्गुण कृष्ण अमावास्या को नागानन्द नाटकको पुष्पिका अभिलेख
नेसं. ७९३  मार्गशिर कृष्ण चतुर्थीको ऐतिहासिक घटनावलीमा दिइएको मिति
नेसं. ७९४  माघ कृष्ण दशमी को ऐतिहासिक घटनावलीमा दिइएको मिति । आदिआदि 

यी मितिको विक्रमसंवत्मा रुपान्तरण गर्दा नेसं. ४३४ वैशाखको को वि.सं. १३७१, नेसं ४३८ फाल्गुणको वि.सं १३७४, नेसं. ७९३  मार्गको वि.सं १७२९ र नेसं. ७९४ माघको वि.सं. १७३० भनेर दिइएका छन् । यी उदाहरणबाट नेपालसंवत्को शुरु वि.सं. ९३७ कार्तिक बाटै हो । वि.सं. ९३६ कार्तिक होइन भन्न खोजेको प्रष्ट हुन्छ । किनकि यी उदाहरणमा वि.सं. र नेसं. मा ९३६ र ९३७ को अन्तर देखाइएका छन् ।

इतिहासमा कलम चलाउने अधिकाँशलाई थाहा छ नेपालसंवतको शुरू वि.सं ९३६ कार्तिक मै भएको हो । तैपनि संशोधन मण्डलसँग प्रतिवाद गर्नुपर्ला र प्रतिवाद गर्ने ह्याऊ कसैसँग नभएर उनीहरूले जस्तो भन्छन्, त्यही अनुशरण गर्नुमा कल्याण ठानेर ९३६ र ९३७ जोड्दै आएका हुन् भन्ने पनि खुलासा हुन्छ । 

संशोधन मण्डलले आफूले लगाइ राखेको घडीमा सुइ घुमाउन सक्यो भन्दैमा वा उनीहरूको घडीमा सुइ घुमाउँदैमा सवैको घडीको सुइ त आाफसेआफ घुम्दैन । कतिपयले उनीहरूको घडीमा जस्तो छ । त्यही हेरेर ९३६ र ९३७ गर्दै आएका पनि देखिन्छन् । यसको प्रमुख कारण भनेको लिच्छविकालमा चलेको संवत् ८०२ वर्ष चलिसकेपछि ८०३ हुँदा नेपालसंवत् १ भएर चलेकाले नेपालसंवतमा जहिले पनि ८०२ जोडेपछि लिच्छविकालमा चलेको संवत् आउने भएको हो र त्यही संवत्लाई संशोधन मण्डलले शकसंवत भनी दिएको कारणले यी सबै विकृतिहरूको जन्म भएको हो ।  यही लिच्छविसंवत् र नेपालसंवत् बीचको अन्तर ८०२ लाई शकसंवत् मानेर त्यसमा १३५ जोड्दा कुनै हालतमा विसं. ९३६ आएन भनेर विसं. ९३७ कार्तिक मै नेपालसंवतको उदय भएको भन्ने जिद कायम रहँदै आएको हो । यसमा कुनै शंका छैन । त्यसैले ठूलाठूला लामालामा हिसाव गर्न जान्दछु भन्नेले यति मामुली हिसाव नजान्नु बिडम्वना नै हो । अतः पं नयराज पन्त महान गणक र इतिहासकार हो भनी विश्वास गर्ने ठाउँ छैन भन्नु जायज भन्न सकिन्छ ।

पूर्णिमान्त र अमान्तमानको प्रचलन 

चान्द्रमासमा पूर्णिमा अन्तिम दिन हुने पूर्णिमान्त र औंशी अन्तिम दिन हुने अमान्तमान भनिन्छ यो कुरा सबैलाई थाहा नै छ । नेपालसंवत् शुरूदेखि अहिलेसम्म अमान्तमान नै छ । विक्रमसंवत् चाहिँ अमान्त भए पनि अहिले पूर्णिमान्त छ । पञ्चांग पात्रो पल्टाएर हेरियो भने विक्रमसंवत् पूर्णिमान्त भनेर थाहा हुन्छ । पञ्चांग पात्रो पल्टाएर हेर्दा नेपालसंवत् अमान्त र विक्रमसंवत् पूर्णिमाान्त भनेर त ज्ञात हुन्छ । तर विक्रमसंवत् मल्लकालमा पनि पूर्णिमान्त र अहिले पनि पूर्णिमान्त नै हो भन्ने आधार चाही छैन । यदि विक्रमसंवत् मल्लकालमा पनि पूर्णिमान्त भएको भए भक्तपुर आगम मन्दिरको सुवर्णद्वारको तोरणको अभिलेख मा नेपालसम्वत् ८०५ मार्गशिरकृष्ण नवम्यां भनेको विक्रमसंवत् १७४१ को पौषकृष्ण नवमी अहिले जस्तै भन्नुपर्ने हो । तर, त्यसरी दिइएको छैन । जस्तै:

सुवर्णद्वारको तोरणको अभिलेख

नेपालसम्वत् ८०५ ।। शक१६०६ विक्रम १७४१ कलि४७८५ मार्गशिरकृष्ण नवम्यां, चित्रानक्षत्रेसुकम्र्मयोगे, यथाकरणमुहूर्ते शनैश्चरवासरे
त्यस्तै भक्तपुर मूलचोक सुवर्णढोकाको दायाँवायाँको सुवर्णपत्रहरुमा नेपालसंवत् ८२६ ज्येष्ठमासे  कृष्णपक्ष चतुर्थी पर पंचमी भनेको विक्रमसंवत् १७६३ को आषाढ मासे कृष्ण पक्ष चतुर्थी पर पंचमी भनी अहिले जस्तै गरी  दिइएको छैन । जस्तै ः

सुवर्णढोकाको सुवर्णपत्रहरू

कलिगताव्द ४८०७ विक्रमाव्द१७६३ शाकाव्द १६२८नेपालसम्वत् ८२६ ज्येष्ठमासे  कृष्णपक्ष चतुर्थी पर पंचमी तिथि शतभिषनक्षत्र आयुष्मानयोग बुधबार ।
यस्ता प्रमाणहरु धेरै छन् यहाँ उदाहरण मात्र दिइएको हो । यी प्रमाणहरूबाट मल्लकालमा विक्रमसंवत् पनि अमान्तमान नै थियो भन्ने प्रष्ट रूपले भन्न सकिन्छ । यो कुरा संशोधन मण्डललाई भलिभाँति थाहा छ । त्यही भएर संशोधन मण्डलले इतिहास संशोधनको प्रमाण प्रमेय र ऐतिहासिक पत्र संग्रह दोस्रो भागमा शाहकालमा पूर्णिमान्त र मल्लकालमा अमान्तमान नै हो भनी बाध्य भएर लेखेको यस प्रकार छ । जस्तै :

मल्लकालमा नेपाल उपत्यकामा अमान्तमानको प्रचलन हुंदा मल्लकालमा तिथि—मितिको गणना अमान्तमान अनुसार यहाँ दिइएका छन् तथा शाहकालमा पूर्णान्तमानको प्रचलन हुँदा त्यस ताकाको गणना चाहिँ पूर्णान्तमान अनुसार दिइएका छन् ।
(इतिहास संशोधनको प्रमाण प्रमेय पृष्ठ ३१२ र ऐतिहासिक पत्र संग्रह दोस्रो भाग पृष्ठ ११२ )

संशोधन मण्डलका प्रकाशनहरू एकएक पल्टाएर हेर्ने हो भने इमान्दारिता भन्ने कुरा बिल्कुलै छैन भन्ने कुरा प्रष्ट देखिन्छ । किनभने मल्लकालका जति पनि मितिहरूको गणना भनेर दिइँदा अमान्तमानबाट गणना गर्दा बार मिल्न आएन भने पूर्णिमान्तबाट बार ट्वाक्क मिल्यो भन्दै संकोच भन्ने कुरा त्यागेर नाँगो रूपमा उत्रेको छर्लंगै देख्न पाइन्छ । पूर्णिमा अंक १०३ पृ ५, प्रमाण प्रमेय, ऐतिहासिक पत्र संग्रहमा आफुहरू स्वयंले मल्लकालमा अमान्तमान भनेर पनि सकार्ने फेरि शाहकालमा जस्तै मल्लकालको मिति पनि पूर्णिमान्तबाट मिल्यो भन्न संकोच कत्ति पनि मानेको छैन । के यस्तो कुरा सत्यवादिहरूले लेख्ने यही हो त ? झूठ भन्ने कुरा संशोधन मण्डलले जानेको छैन भनी प्रचार पनि गर्ने । के यो कुरा स्पष्ट झूठ देखिएन र ?

यदि कोही पाठकहरु निस्पक्ष भई यी विसंगतिहरू केलाएर हेरियो भने यसता संशोधन मण्डलका हरकतलाई जायज कसैले भन्दैनन् । त्यसकारण उहाँहरूलाई उहाँका प्रशंसकहरुले जतिसुकै महान इतिहासकार र गणक भनेर तारिफ गरिएता पनि भविष्यमा उहाँहरुलाई कसैले विश्वास गर्ला जस्तो लाग्दैन ।  

३९० दिन भएको वर्ष 

प्रशंसा भनेको राम्रो सही कुराको गर्नु पर्दछ, अवश्य त्यो सही हो । तर, शास्त्र विपरीतको  कुरालाई पनि प्रशंसा गर्नु भनेको सीमा नाघ्नु हो । दुई जना जुलाहाहरूले राजालाई नांगो पारी देश घुमाएको कथा धेरैले सुनेकै हुनुपर्दछ । त्यो कथामा प्रशंसकहरूले त राजाको लुगा अति राम्रो हो भनेर तारिफ गरेकै हो । त्यसरी मुखले तारिफ गर्दैमा आ–आफनो ब्रह्मले त सवैले राजा नांगो नै देखेको हो भने जस्तै ३९० दिन भएको वर्ष संसारमा कहीँ पनि छैन कुनै शास्त्रमा पनि छैन । तथापि अधिमास भएको वर्षमा  ३९० दिन हुने त होनी हैट भनेर सही थाप्नु भनेको राजा नांगो हुँदा पनि आहा लुगा कतिराम्रो लगाएको भनेर तारिफ गरे सरह नै  भएन त ? यस्तो झुठलाई बढावा दिने खालको प्रशंसक काम लाग्दैन । 

चाहे आर्यभट भनुन्, चाहे बराह मिहिर भनुन् चाहे भास्कराचार्य भनुन् उनीहरूले पनि ३९० दिन भएको वर्ष छ भनेको छैन । भए त नयराज पन्तको ६४० पृष्ठको लिच्छविसंवतको निर्णय भन्ने पुस्तकमा चर्चा गरिसक्थे । ती पूर्वीय शास्त्रका विद्वानहरुले पनि ३६५ दिनको वर्ष हुन्छ भनेका छन् । त्यसैले ३६५ दिन नाघ्ना साथ अर्को वर्ष छोइ सक्ने कुरा बूझ पचाउने कुरा होइन नि !

अधिमास भनेको कसरी हुन्छ यही २०८० सालको पात्रोमा हेरियो भने श्रावण १ गते र भाद्र १ गतेको बीचमा संक्रान्तिलाई नछाएको सिंगै एक चान्द्रमास पर्दा त्यो चान्द्रमासलाई अधिमास मनाएको स्पष्ट छ । अधिमास सके पछि भाद्र महिना शुरू भएको कुरा प्रष्टै नै छ । यो २०८० सालको वर्षमा ३९० तिथि र दिन कहाँ छ ? प्रशंसकले देखाउन सक्नु पनि पर्यो । तर, खोइ देखाउन सकिएन । त्यस्तै वि.सं. ६६४ भनुन् वा शक ५२९ भनुन् त्यतिवेलाको पात्रोमा पनि  ३९० दिन त छैन । जव ३६५ दिन नाघ्ना साथ शक पनि ५३० र विसं पनि ६६५ मा परिवर्तन भइसक्ने कुरा बूझ पचाउन पाइने होइन । 

लिच्छविकालको अभिलेखमा संवत् ३१ मा अधिमास आएकोले त्यो वर्षको गणना गर्दा अधिमासको पनि गणना त गर्नुपर्ने हो तर विक्रमसंवत् र शकसंवतमा सटही नगरीकन गणना गरेको हुनुपर्दछ । तर, शकसंवत् ५२९ हुन्छ भनी सटही गरीसकेपछि शक ५२९ कै नियमअनुसार जानुपर्ने कुरा कही बुझ पचाउन पाइने होइन । त्यस्तै गरि शक ५२९ को वर्षमा अधिमास छ भनी कुन शास्त्रमा छ ? देखाउन सक्नु पर्दछ । पं नयराज पन्तले त बूझ पचाएर देखाएन रे प्रशंसक भनाउँदाहरूले देखाउन सकेको खोइ त ? त्यसकारण प्रशंसक हुँ भन्दैमा शास्त्रविपरीत कुरालाई प्रशंसा गर्नु सीमा नाघ्नु हो ।

फेरि बूझ पचाउन जानेकाहरूले नयराज पन्तको लिच्छवि संवत्को निर्णयमा ३९० दिन भएको वर्ष छ भनेर पनि कतै लेखिएको छैन भन्न बेर त छैन । 
अभिलेखको संवत् ३१ लाई सटही गरी वि.सं ६६४ र त्यसमा १३५ घटाएपछि शकसंवत् ५२९ हुन्छ । अभिलेखको संवत् ३१ को पौषमा अधिमास लिइएको थियो भन्ने कुरा भक्तपुर इनाय्चोको अभिलेखको प्रसंगमा परेको छ भनियो ।

यसकारण चैत्र १,वैशाख२,ज्येष्ठ ३, आषाढ ४, श्रावण ५, भाद्र ६, आश्विन ७, कार्तिक ८, मार्ग ९, प्रथमपौष १०, द्वितीयपौष ११ यी गतमास हुन्छन् । यसरी ११ महिनाको ३३० दिन । माघ शुकल त्रयोदशीको १३ दिन समेत ३४३ दिन देखाइएको छ । (लि.सं को नि.पृष्ठ११) शक ५२९ को  बाँकी ४७ दिन (चतुर्दशी १, पूर्णिमा १ माघको कृष्ण पक्षको १५ दिन र फागुनको ३०) ३४३ मा यी ४७ दिन जोडेपछि ३९० हुन्छ भन्ने कुरा बुझपचाउन सकिने कुरा होइन । 

यसरी शक ५२९ को धरातलमा टेकेर हिसाव गर्ने शक ५२९ को वर्षमा अधिमास छैन भन्ने कुरा लिच्छविसंवतको निर्णयको पृष्ठ २९४ पल्टाएर हेर्न सकिन्छ । यो पनि बुझ पचाउन सकिने कुरा होइन । आर्यभट, भास्कराचार्य वराहमिहिर जोसुकैको नाम लिए पनि उनीहरूले पनि ३९० दिन भएको वर्षको कुनै गुनजाइस नै गरेको छैन । अतः पं नयराज पन्तको गणना मनगढन्ते गणना भन्न सकिन्छ । यस्तो मनगढन्ते गणना इतिहासलाई एकरत्ति पनि काम लाग्ने छैन भन्नुलाई कुनै अतिशयोक्ति भन्न मिल्दैन । 

निष्कर्ष

केही दशक अघिदेखि नेपालमा इतिहास क्षेत्रमा झुठले मात्र प्रश्रय पाउने गरेको र सत्य ओझेलको ओझेल मै रही रहने गरेको देख्दै आएको छ । तापनि सत्य डग्दैन झुठ टिक्दैन भन्ने उखान  त्यत्तिकै बनेको होइन । त्यसैले एक समय अवश्य आउला तव झुठ बिस्थापन भई सत्यले स्थान पाउला । झूठको गुणगानले अहिले सीमा नाघिसकेको छ ।

किनभने  इतिहासकार, संवत्को गणक  हुनलाई, पूर्णिमान्त र अमान्तमानको सिद्धान्त पनि आफनै प्रकाशनमा ल्याइसकेको पनि अपठ्यारो परे त्यसलाई बिर्सने गरेको उदाहरण माथि चर्चा गरिसकेको छ । 

अरुले लेखेको कुरा भए जानकारी भएन भन्न पनि सकिएला तर प्रमाण प्रमेय, ऐतिहासिक पत्र संग्रह, पूर्णिमा जसता आफना प्रकाशनमा भएको कुरा पनि आफुहरुले नै अन्यथा गर्नु भनेको त सुहाउने कुरा भनिंदैन ।  

संसारमा ठूलाठूला वैज्ञानिकहरुले खगोल शास्त्र ज्योतिष शास्त्र कैयौं लेखे त्यसमा ३९० दिन भएको वर्ष भन्ने नै छैन भने ३९० दिन भएको अवधारणा ल्याई दिउँसै रात पार्ने गणना प्रस्तुत गर्नु ठीक किमार्थ भन्न मिल्दैन । यस्तो अन्यत्र मुलुकमा भएको होइन, हाम्रै नेपालमा मात्रै छ । राष्ट्र अब लज्जित हुनुपर्ने छैन यदि यी बिसंगति अविलम्व हटायौं भने, सावधान बनौं । 


 

शुक्रबार​ ३ कात्तिक २०८० ०५:१६ PM मा प्रकाशित

प्रतिक्रिया