×

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बाह्र बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् । सोमबार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । 

‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दूषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए’, प्रदेश बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने,  ‘फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’

आफूहरुले राष्ट्रपतिमा कुनै व्यक्तिको कुरा नगरेको भन्दै तीन ठूला दल एक ठाउँमा रहनुपर्ने धारणा राखेको बताए । ‘राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन’ उनले भने,  ‘राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ। तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ ।’

उनले  २ महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन नेताहरूलाई निर्देशिन समेत दिएका छन् । नयाँ सरकारले जनताको पक्षमा महत्त्वपूर्ण कामहरू गरेको र अर्थतन्त्रमा सुधार ल्याउन गम्भीर पहल गरेको उनको भनाई छ । 

 ‘दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं । त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौं, उनीहरूका सुझाव लिऔं’ उनले भने, ‘शहीद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौं । उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौं । ‘

सोमबार ८ फागुन २०७९ ०४:२५ PM मा प्रकाशित

प्रतिक्रिया